
मकवानपुर । चालु आर्थिक वर्षको ८ महिना अर्थात् दोस्रो चौमासिक गुज्रिसकेको छ । यो अवधिमा सरकारी कामकाजले तीव्रता लिनुपर्ने हो ।
चालु आर्थिक वर्षको योजनाका कामहरु धमाधम भएर सरकारले छ्ट्याएको बजेट कार्यान्वयनमा जानुपर्ने हो । तर, बागमती प्रदेश सरकारले भने दोस्रो चौमासिकसम्ममा कुल बजेटको ३० प्रतिशत बजेट पनि खर्च गर्न सकेको छैन ।
बजेट खर्चको मामलामा बागमती प्रदेश सरकारको हविगत नाजुक देखिएको छ । १ महिनाको अवधिमा ३ अर्ब बजेट खर्च गरेको बागमती प्रदेश सरकारको ८ महिनाको कुल खर्च ३० प्रतिशत पनि पुग्न सकेको छैन । चालु आवको ८ महिनाको अवधिमा प्रदेश सरकारको कोषको २५ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।
कुल ६४ अर्व ५४ करोड ४ लाख रुपैंया बजेट ल्याएको बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ८ महिनामा १६ अर्ब ५३ करोड ४३ लाख ९२ हजार रुपैंया बजेट खर्च गरेको छ । जसमा चालुतर्फ ९ अर्ब १३ करोड ५० लाख ३६ हजार बजेट खर्च भएके छ भने विकास बजेट अर्थात् पुँजीगत तर्फ जम्मा ७ अर्ब ३९ करोड ९३ लाख ५५ हजार मात्रै खर्च भएको छ । बजेट खर्च गर्न नसक्दा सरकारमाथिका प्रश्नहरु समेत मुखारित बन्न पुगेका छन् ।
त्यसोत, मन्त्रालयमा कार्यकारी पदमा रहेका मन्त्रीहरु नबस्नु पनि बजेट कार्यान्वयन नहुनुको प्रमुख कारण रहेको आरोप छ । यता, सरकार भने लक्ष्य अनुसार नै विकासका कामहरु सञ्चालन भइरहेको दाबी गरिरहेको छ । ।
यो अवधिमा प्रदेश सरकारको खर्च भन्दा आम्दानी बढी भएको तथ्यांक छ । माघ मसान्तसम्म १९ अर्ब ८३ करोड ६३ लाख ५७ हजार राजश्व संकलन भएकोमा फागुनमा मात्रै ४ अर्ब ७७ करोड २ लाख ८८ हजार रुपैंया राजश्व संकलन भएको आर्थिक मामिला मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयका अनुसार चालु आर्थिक बर्ष २०८१÷८२ को ८ महिनाको अवधिमा कुल २४ अर्ब ६० करोड ६६ लाख ४५ हजार रुपैंया राजश्व संकलन भएको हो । प्रदेश सरकारले आफ्नै स्रोतबाट २ अर्ब ३७ करोड ८५ लाख ८८ हजार मात्रै राजश्व संकलन गर्न सकेको छ । बाँडफाँटबाट १३ अर्ब ९० करोड २७ लाख ६५ हजार राजश्व प्राप्त गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।