
काठमाडौं । राजनीतिक दलहरुको मिनी चुनाव मानिने स्वतन्त्र विद्यार्थी युनियनको नतिजाले राजनीतिक दलहरुलाई झस्काइ दिएको छ । सत्तारुढ दल कांग्रेस र एमालेका विद्यार्थी संगठनले अपेक्षाकृत नतिजा ल्याउन सकेन भने माओवादी केन्द्र निकट विद्यार्थी संगठनले नसोंचेको नतिजा हात पारेको छ ।
विश्वविद्यालय र त्यसको आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा हुने गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई राजनीतिक दलहरुले मिनी चुनाव मान्ने गरेका छन् । स्ववियु हत्याउन राजनीतिक दलहरु विद्यार्थी संगठनको आवरणमा लागिरहेका हुन्छन् । वर्तमान राजनीतिका अधिकांश नेताहरु विद्यार्थी राजनीतिकबाटै उदाएका हुन् । त्यसैले पनि स्ववियु चुनावलाई निकै अर्थपूर्ण मानिँदै आएको छ । पछिल्लो समय मुलुकमा ब्याप्त राजनीतिक अस्थिरताका कारण राजावादी शक्तिहरु पनि जुर्मुराईरहेका छन् ।
यहिबेलामा भएको स्ववियु निर्वाचनले पनि राजनीतिक दलहरु प्रति युवा विद्यार्थीहरुको नैराश्यतालाई प्रकट गरिदिएको छ ।
त्रिविको आंगिक क्याम्पसमा नै जितेर पहिलो पटक स्वतन्त्र उम्मेदवारले इतिहास रचेका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस, चितवन इन्जिनियरिङ क्याम्पस र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
त्रिविको ६२ वटा आंगिक क्याम्पसमध्ये चैत ५ गते सम्पन्न भएको ३८ वटा क्याम्पस मध्ये ३७ क्याम्पसको नतिजा आइसकेको छ । त्यसमध्ये नेविसंघले १५ क्याम्पसमा सभापति जित्दा अनेरास्ववियु १० र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ७ सभापति जितेको छ । आफ्ना विद्यार्थीहरुले अप्रत्याशित जित हासिल गर्नेपछि माओवादी अध्यक्ष प्रचण्ड निकै हौसिएका छन् ।
बिहीबार जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत बारा पुगेका उनले उपचुनावको परिणामदेखि स्ववियु निर्वाचनको परिणामले माओवादी एक्लैले चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गएको बताए ।
त्रिविको ६२ आंगिक र एक हजार बढी सम्बन्धन प्राप्त कलेजहरुमा चैत ५ गते निर्वाचनको समय तय भए पनि विद्यार्थी संगठनहरुको विवादका कारण सबै क्याम्पसहरुमा निर्वाचन हुन सकेन । राजनीतिक दलहरुको गुटबन्दीको प्रभाव विद्यार्थी संगठनमा पनि प¥यो । सबैभन्दा बढी कांग्रेसको गुटबन्दीको प्रभाव नेविसंघमा परेको थियो ।
अमृत साइन्समा चैत १० मा मतदान
काठमाडौंको ठमेलस्थित अमृत साइन्स क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन चैत १० गते हुने भएको छ । अनेरास्ववियु क्रान्तिकारीले गरेको तालाबन्दीपछि निर्वाचन सूचारु गराउन भन्दै अनेरास्ववियुले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।
अदालतले यथाशीघ्र चुनाव सम्बन्धी बाँकी कार्य पुरा गर्नु भनी अन्तरिम आदेश जारी गरेपछि चैत १० गते चुनाव गर्न लागिएको हो । अदालतको अन्तरिम आदेशपछि क्याम्पसमा बसेको सर्वपक्षीय बैठकबाट चैत १० गते निर्वाचन गराउने निर्णय भएसँगै बुधबार नै सूचना जारी गरिएको हो । यसअघि चैत ५ गते स्थगित भएको बागबजारस्थित पद्मकन्या क्याम्पसमा भने विहीबार निर्वाचन सम्पन्न भएको छ ।
अदालतको आदेशपछि त्रिविमा चुनाव स्थगित
विद्यार्थी संगठनहरुको विवादले गर्दा चैत ५ गते स्थगित भई चैत ८ का लागि सारिएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचन फेरि पनि स्थगित भएको छ । केन्द्रीय क्याम्पसले कीर्तिपुरले अदालतमा मुद्दा चलिरहेकाले ८ चैतका लागि तोकिएको चुनावी कार्यक्रम स्थगित भएको बिहीबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
त्रिवि केन्द्रीय क्याम्पसमा पनि नेबिसंघको आधिकारिक उम्मदवार विवादकै कारण चुनाव रोकिएको थियो । नेबिसंघबाट अध्यक्षमा दीपकराज जोशी र अनोज कार्कीले उम्मेदवारी दिएपछि निर्वाचन समितिले कार्कीको रद्द गरेर जोशीलाई आधिकारिकता प्रदान गरेपछि कार्की पक्षका विष्णुबहादुर बडैला समेतले त्रिभुवन विश्वविद्यालय समेतलाई विपक्षी बनाई उच्च अदालत पाटनमा मंगलबार रिट दायर गरी अन्तरिम आदेश माग गरेका थिए । बुधबार उच्चले निर्वाचन नगर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । जसका कारण त्रिविले बिहीबार सूचना जारी गरी निर्वाचन स्थगित भएको जनाएको हो ।