
काठमाडौं । सिरहाको औरही गाउँपालिकामा दलित परिवारमाथि भएको विभेदको छानबिन गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् । उनीहरुले दलित परिवारको घर डोजर लगाउने गाउँपालिका अध्यक्षसहित दोषीलाई सशक्त कारबाही गर्न पनि उनीहरुले माग गरेका छन् ।
सिराहाको औरही गाउँपालिका ५ मा विष्णु महायज्ञ लगाउनका लागि दलित परिवारको घर भत्काइएको घटना सार्वजनिक भएपछि यो विषयले सदन तातेको छ । महायज्ञ गर्नका लागि वर्षौदेखि बस्दै आएको स्थानीय दीपक मलिक (डोम) को घर भत्काएर ५ सय मिटर टाढा सारिनुका साथै दलित बसेको ठाउँ भनेर त्यस ठाउँको माटोसमेत ताँछेर फालिएपछि जातीय विभेदको पराकाष्ठा भएको सांसदहरुको भनाई छ ।
जातीय भेदभाव उन्मुलन घोषणा गरेको १८ वर्ष वितिसक्दा पनि जातीय विभेद कायमै रहेको भन्दै प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसदहरुले यस्तो घटना हुनु निन्दनीय भएको बताएका हुन् । महायज्ञ लगाउन जग्गा खाली गराउन भन्दै निर्देशन दिने बजरंगी बाबा र डोजर लगाएर घर भत्काउने गाउँपालिका अध्यक्षलाई सांसदहरुले कारबाहीको माग गरेका छन् । सांसदहरूले त्यो घटनाको तत्काल छानबिन गर्न छानबिन समिति बनाउन पनि माग गरेका छन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सत्तारुढ दल नेपाली कांग्रेसका सांसद जीवन परियारले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।
उक्त घटनाको स्थानीय प्रहरी चौकले समेत मौन समर्थन जनाएकोप्रति पनि सांसदहरुले आपत्ति जनाएका छन् । उनीहरुले गृहमन्त्री रमेश लेखकलाई समेत दलित विरोधी हो ? भनी प्रश्न गरेका छन् । यस्तै घटना घट्दै गएमा हेग जानुपर्नेसमेत सांसदहरुको चेतावनी छ ।
प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसदहरुले मलिक परिवारमाथि भएको ज्यादतिको प्रश्न उठाइरहँदा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मलिक परिवारमाथिको घटना प्रतिनिधि घटना मात्रै भएको बताए । उनले यस्तो घटना दर्जनौं हुने गरेको भन्दै दलित माथि भएका थुप्रै घटना सञ्चार माध्याममा नआएको भन्दै दलित र महिलामाथि शृंखलाबद्ध रूपमा अत्याचार हुँदा पनि केन्द्रीय र प्रदेश सरकारले किन केही नगरेको भन्दै प्रश्न गरेका छन् ।
महायज्ञ आयोजना गर्ने स्थानमा अछुत डोम राख्न नहुने भन्दै महायज्ञका आयोजक बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसीभी लगाएर गत फागुन १० गते मरिक परिवारको घर भत्काउन लगाएका थिए ।
पालिका अध्यक्ष यादवले मलिकको घर भत्काएको स्वीकार गरे पनि दलित भएको कारण यस्तो नगरिएको दाबी गरेका छन् । उक्त ठाउँमा कृषि बजार लगाउन टेण्डर लागेको उनको भनाई छ । यता, दलित परिवारमाथि भएको जातीय विभेदको यो घटनाको विषयमा प्रहरी तथा अधिकारकर्मीहरुले पनि खोजविन थालेका छन् ।