
काठमाडौं । कुनै समय १० कक्षाको अन्तिम परीक्षालाई फलामे ढोका भनिन्थ्यो । त्यो नाम फेरिएर एसईई अर्थात (सेकेन्डरी एजुकेसन एक्जाम) भएको छ । तर, विद्यार्थीको मनमा १० कक्षाको परीक्षाप्रति उब्जिने डर र तनाव उस्तै छ ।
परीक्षा भन्ने वित्तिकै गहिरो सास फेरिरहेका विद्यार्थीहरूको अनुहारमा स्पष्ट देखिने डरले शिक्षा प्रणालीको स्वरूपलाई प्रस्ट्याइरहेको छ । विद्यार्थीलाई सिकाइको वास्तविक अनुभव दिनुको सट्टा रटन्ते अभ्यासले थिचिएको शिक्षण प्रणाली अझै हट्न नसक्दा परीक्षार्थीहरुले यो हैरानी खेप्नु परेको देखिन्छ ।
दश कक्षाको अन्तिम परीक्षा एक समय फलामे ढोका भनेर चिनिन्थ्यो । अहिले नाम त फेरिएर एसईई भयो । तर, सोचाइको ढोका अझै उही फलामकै छ । विद्यार्थीको कलिलो मनमा यो परीक्षाले रोप्ने डर र तनावको छायाँ वर्षौँसम्म मेटिँदैन । पहिलेको एसएलसी पास गर्नु भनेको गर्वको पराकाष्ठा हुन्थ्यो ।
उत्तीर्ण भएका विद्यार्थीको नाम गोरखापत्रमा छापिनु त झन् मानौँ प्रशंसाको शिखर चुम्नुजस्तै । कसैले ‘फलानोले म्याट्रिक पास ग¥यो’ भन्यो कि गाउँभरि जिब्रो टोकिन्थ्यो अचम्म मान्दै । त्यो खुसीको स्वाद नै बेग्लै हुन्थ्यो । तर समय बदलिएसँगै एसईईको अस्तित्वले नयाँ रूप लियो । अब जतिसुकै ‘ठूलो’ भनेर चिनाइए पनि, यसको प्रमाणपत्र कक्षा ८ को प्रमाणपत्रभन्दा धेरै माथि छैन ।
कक्षा ९ मा भर्ना लिँदा काम लाग्ला, तर जागिरका ढोका खोल्न यो कागजको अस्तित्व शून्यजस्तै छ । परीक्षा त ज्ञानको मूल्यांकनका लागि हो । तर हाम्रो समाजले यसलाई प्रतिष्ठाको पराकाष्ठा बनाइदियो । प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, नेतादेखि अभिभावकसम्म सबैले शुभकामना दिन्छन् । परीक्षा दिनु हो कि कुनै युद्ध जित्न जानु ? यही प्रश्न हरेक वर्ष दोहोरिन्छ ।
एसईई परीक्षा आउने बित्तिकै सुरक्षा व्यवस्था कडा पारिन्छ, केन्द्रमा प्रहरी खटाइन्छन्, र विद्यार्थीहरूलाई शुभकामनासहित टीका टालो लगाएर परीक्षा हलतिर पठाइन्छ । तर, यो बाहिरी चहलपहलभित्र लुकेको एउटा गहिरो पक्षबारे कमै चर्चा हुन्छ– ‘मानसिक तनाव, अनिद्रा, व्याकुलता र आत्मविश्वासको कमी ।’
विद्यार्थीहरूलाई राम्रो अंक ल्याउनैपर्ने दबाब यति धेरै हुन्छ कि सिकाइको वास्तविक मूल्य ओझेलमा पर्छ । शिक्षक र अभिभावकका अपेक्षा पनि उस्तै अंककै वरिपरि घुमिरहन्छन् । आखिर जीवनोपयोगी सीप सिकियो कि छैन त्यो गौण बन्छ । सफलताको मापन परीक्षा नतिजाले मात्र गरिन्छ । यसले शिक्षण प्रणालीलाई अझै पनि कागज र अंकीय सीमामा थुनेको छ । तर के कहिल्यै सोचिएको छ ? सफलता केवल अंकमा मात्र निहित छैन ।
समाजमा अझै पनि एसईई पास गरिसकेपछि मात्र विद्यार्थीको मूल्यांकन हुने प्रवृत्ति छ । तर, सीप, सिर्जनशीलता र व्यवहारिक ज्ञानको विकास कत्तिको भयो भन्नेमा चासो कमै देखिन्छ । परीक्षालाई फलामे ढोका मान्ने सोच बदलेर शिक्षालाई सिकाइ र अनुभवको यात्राका रूपमा लिनुपर्ने बेला आएको शिक्षाविद्हरूको तर्क छ ।
एसईई परीक्षालाई सगरमाथाभन्दा अग्लो पहाडसरह बनाइएको छ । जसलाई जसरी पनि वारपार गर्नुपर्ने जस्तो मानसिकता छ । एसएलसी परीक्षा पास गर्नु जीवनकै ठूलो सफलता मानिने समयबाट अब एसईई माध्यमिक तहको एउटा सामान्य परीक्षामा मात्रै सीमित छ ।
नाम आफैंले भन्छ सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) अर्थात स्कूले जीवनको माध्यमिक तह पार गर्ने एउटा साधारण प्रक्रिया । तर समाजमा यसलाई अझै पनि उही पुरानै नजरले हेरिन्छ । परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा आएसँगै यसको महत्व कम हुने अपेक्षा थियो । तर अभिभावक र विद्यार्थीमा प्रतिस्पर्धात्मक मानसिकता घट्न सकेको छैन । सामाजिक सञ्जालमा ग्रेडलाई प्रतिशतमा रुपान्तरण गर्दै बधाईका वर्षा गरिन्छ । परीक्षा उत्तीर्ण नगर्नेहरूप्रति हुने मानसिक दबाब झन् भयावह छ ।
व्यवहारिकताको चरम अभाव
नेपाली विद्यालयहरूमा आज पनि किताबी ज्ञानलाई प्रमुखता दिने परम्परागत शिक्षा प्रणाली कायम छ । वर्षभरि विद्यार्थीहरू पाठ्यपुस्तक घोकिन्छन् र अन्त्यमा तीन घण्टे परीक्षामा उनीहरूको स्मरणशक्ति परीक्षण गरिन्छ । यस्तो प्रणालीले सिर्जनशील र सीपयुक्त व्यक्तित्व निर्माण गर्न असफल भइरहेको शिक्षाका जनकारहरू बताउँछन् ।
जब, सीपको महत्व थाहा पाउँछन् । लगाएको कपडामा यादस्वरूप लेख्छन्– ‘खाडीमा भेटौँला ।’ यता, एसईई परीक्षाको नतिजालाई प्रतिष्ठाको विषय बनाउनु कत्तिको उचित हो ? योे प्रश्न कायम नै छ । तर, समाजमा कसरी प्रस्तुत हुने र कस्तो योगदान दिने भन्ने कुराले कुनै परीक्षाको अंकभन्दा धेरै महत्व राख्छ ।
प्रधानमन्त्री ओलीको लक्ष्य– नतिजा ७० प्रतिशत पु¥याउने
- गत वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता हासिल गर्ने विद्यार्थी मात्र ४८ प्रतिशत
- नतिजा अपेक्षाकृतभन्दा कमजोर
- कमजोर नतिजापछि प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा शिक्षा प्रणाली सुधार गर्ने दृढता व्यक्त
- प्रधानमन्त्री ओलीद्धारा यस वर्षको एसईई नतिजा २२ प्रतिशतले सुधार गरि ७० प्रतिशतमा पु¥याउने लक्ष्यको उद्घोष ।
तीन घण्टे परीक्षा : उचित मूल्यांकन प्रणाली हो ?
परीक्षाको नाम सुन्नासाथ धेरै विद्यार्थीको मनमा तनावको बादल मडारिन थाल्छ । वर्षभरि सिकेका कुरा तीन घण्टाको लिखित परीक्षाले कति ठीकसँग मापन गर्छ त ? यो प्रश्न शिक्षा प्रणालीको मेरुदण्डलाई हल्लाउने खालको छ । अहिलेको प्रणालीमा विद्यार्थीहरू ज्ञानको वास्तविक अर्थ बुझ्नुभन्दा पनि ‘कसरी बढी अंक ल्याउने?’ भन्ने खेलमा रमाउँछन् । घोकन्ते प्रवृत्ति यसैको उपज हो । शिक्षा केवल पाठ्यपुस्तकका पानाहरू कण्ठ गर्ने माध्यम होइन । जीवनका लागि आवश्यक सीप र सोचको विकास गर्ने प्रक्रिया हो । यस्तैमा, मूल्यांकन प्रणालीलाई पुनर्विचार गर्ने समय आइसकेको छ ।
नेपालको शिक्षामा अझै पनि ‘पढ, घोक, पास गर, बिर्स’ भन्ने परम्परागत सोचाइ हावी छ । अब यो सन्दर्भलाई परिवर्तन गर्नुपर्छ । मूल्यांकनको अर्थ केवल नम्बरमा सीमित नराखी, विद्यार्थीको समग्र व्यक्तित्व, सीप र व्यावहारिक ज्ञानको मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नु आजको आवश्यकता हो ।