News 24 Television
विद्युत प्राधिकरण नाफामा छ भन्नु झुटः उर्जामन्त्री खड्का !

काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले बुधवार संसद बैठकमा दिएको अभिव्यक्तिको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खण्डन गरेका छन् । मन्त्री खड्काले राष्ट्रिय सभाको बैठकमा बोल्दै भारतबाट विद्युत आपूर्ति रोकिएका कारण अब साँझको समयमा पनि लोडसेडिङ हुने घोषणा गरेका थिए । तर मन्त्री खड्काको खण्डन गर्दै घिसिङले लोडसेडिङ हुने प्रतिक्रिया दिएका हुन् । 

उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले बुधवार राष्ट्रियसभामा भारतबाट विद्यूत आपूर्ति रोकिएकाले अब साँझको समयमा लोडसेडिङ हुने बताएका थिए । मन्त्री खड्काले अहिले भारतबाट ८२५ मेगावाट विद्युत आयात भइरहेको र देशभित्र करिब १ हजार मेगावाट मात्रै विद्युत रहेकाले अब साँझको समय नागरिकको घरमा पनि लोडसेडिङ हुने बनाएका थिए । 

तर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मन्त्री खड्काको दाबीलाई ठाडै अस्वीकार गरिदिएका छन् । हाल लोडसेडिङ नरहेको र पछिपनि नहुने उनको दाबी छ । रातिको समयमा पुरै पावर प्लान्टहरु चल्ने र दिउँसोको समय भारतबाट आयात भइरहेकाले कसैले भन्दैमा लोडसेडिङ नहुने घिसिङले बताएका छन् । 

एक हजार मेगावाट बढिका आयोजनाहरु राति पूर्ण क्षमतामा चल्ने भएकाले पनि तुरुन्तै लोडसेडिङ भइहाल्ने अवस्था नरहेको उनको जिकिर छ । नेपालमा अहिले पिकटाइममा १८÷१९ सय मेगावाट विद्यूत खपत हुन्छ ।

जसमध्ये कुलेखानी, माथिल्लो मध्यमस्र्याङ्दी, चिलिमे लगायतका धेरै आयोजनाहरु राति पूर्ण क्षमतामै चल्ने र रनअफ रिभर समेत गरी नेपालभित्रै १६÷१७ सय मेगावाट विद्युत उत्पादन हुने भएकाले लोडसेडिङ हुने हल्लाको पछि नलाग्न उनले आग्रह गरेका छन् । विद्युत आपूर्ति मिलाउन पिक टाइममा केही उद्योग सञ्चालनमा रोक लगाइएको पनि उनले बताए । 

प्राधिकरण नक्कली नाफामा ! 

राष्ट्रिय सभाको बुधवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य घिसिङले नभई भारत र निजी क्षेत्रले गरेको जिकिर गरेका थिए । कार्यकारी निर्देशक घिसिङले उद्योगको लाइन काटेर घरमा विद्युत दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको मन्त्री खड्काको आरोप छ । 

सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको र अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपुर्ति धानिरहहेको मन्त्री खड्काको भनाइ छ । नीजि क्षेत्रले २८०० मेगावाट विद्युत उत्पादन गरेपनि आपूर्ति हुन नसकेको उल्लेख गर्दै लोडसेडिङ हट्दै नहटेको तर्क गरे । कुलमानलाई उज्यालोको नायक भन्ने गरेकोमा पनि मन्त्री असन्तुष्ट देखिए । देशको लोडसेडिङ हट्नुको श्रेय भारत र नीजि क्षेत्रलाई दिनु पर्ने उनको भनाइ छ । 

कुलमानले प्राधिकरण नाफामा नलगेको मन्त्री खड्काले दाबी गरे । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढि घाटा देखाएको उनले बताए । प्राधिकरण नाफामा रहेको भनि गरिएको दाबीमा कुनै सत्यता नभएको खड्का बताउँछन् । 

संसदमा समेत आलोचना 

मन्त्री खड्काको अभिव्यक्तिको बुधवार संसदमा समेत चर्चा भयो । एमाले सांसद ठाकुर गैरेले उर्जामन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकको कुरा बाँझिएले नागरिक अन्यौलमा परेको बताए । 

त्यस्तै सांसद ज्ञानु बस्नेतले पनि उर्जामन्त्रीको अभिव्यक्तिप्रति खेद व्यक्त गरेकी छन् । उर्जामन्त्रीले दलाल र विचौलिया पोस्ने काम गरेको आरोप लगाउँदै जनतालाई आतंकित बनाउने काम गरेकोमा उनलाई बर्खास्त गर्न आग्रह गरिन् । 

सरकारबाट समस्या समाधान गर्नुका साटो भ्रम फैलाउने काम भइरहेको सांसदद्वयको भनाइ छ । विवाद गरेर अनावश्यक बखेडा झिक्नुभन्दा विद्युत क्षेत्रका समस्या समाधानमा लाग्न सांसद गैरे र बस्नेतले सझुाव दिए । 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update