News 24 Television
पोखरामा संग्राहलय नै ‘भूत’ बंगला ! लाखौं रुपैयाँ पार्दै स्वाह !

कास्की । पोखराको व्यापारिक केन्द्र नयाँ बजारमा रहेको व्यापारिक भवन अर्थात पोखरा क्षेत्रीय संग्राहलय खण्डहरमा परिणत भएको छ । यतिमात्रै होइन, यस भवनबाट प्राप्त हुने लाखौंको राजश्व पनि अहिले स्वाह भएको   छ । 

चलचित्रमा देखिने भुत बंगला जस्तै देखिने यो भवन कुनै समय राज्यको आम्दानीको राम्रो स्रोत थियो । तर, अहिले खण्डहर अवस्थामा छ । तत्कालीन पर्यटनमन्त्री प्रेम राईको एक निर्णयको बज्रपात यस भवनमाथि पर्दा भवनको अवस्था नाजुक बन्न पुगेको हो । 

सरकारी जग्गा लिजमा लिएका व्यवसायीमाथी कारबाहीका नाममा आफु अनुकुल अंकुश लगाउने प्रयास उनले गरे । त्यसैको मारमा पर्यो वार्षिक लाखौं रकम राजश्व कमाई राखेको पोखरा क्षेत्रीय संग्राहलय पनि । यस भवनले वार्षिक २५ लाख भन्दा बढी रकम राजश्व संकलन गथ्र्यो । तर अहिले तीन वर्ष भन्दा बढी भइसक्यो राजश्व संकलन त परको कुरा पर्यटकीय राजधानी पोखराको व्यापारिक केन्द्र नयाँबजारको कुरुपताको कारक बनिरहेको छ । 

हाल गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तरगत पर्ने प्रदेश संग्राहलयको भवन केन्द्र सरकारको स्वामित्वमा रहदाँ यो भवन बतास ग्रुपले लिजमा लिएको थियो । प्रेम आले पर्यटन मन्त्री रहदाँ सरकारी भवन लिजमा लिनेहरुमाथी कारवाहीका नाममा संरचनामाथी डोजर लगाउने काम भयो । 

एकातिर राज्यको डोजर आतंक अर्कोतिर गण्डकी प्रदेश सरकारसँग सरकारी सम्पत्ति लिजमा लगाउने कानून नभएका कारण बतास समूहले यो भवन छोड्यो । त्यस यता प्रदेश संग्राहलयले यो भवनको सदुपयोग गर्न सकेको छैन । 

जसका कारण वार्षिक लाखौंको आम्दानी गुमेको छ नै मुख्य बजारको भवन खण्डहर बन्दा बजारनै कुरुप देखिएको छ । भवन तीन वर्षदेखि यत्तिकै लावारिस तथा कुरुप अवस्थामा रहनु सरकारकै कमजोरी रहेको स्थानीयको आरोप छ ।

एकातिर कानूनको अभाव अर्कोतिर पोखराको व्यापारिक केन्द्रमा रहेको भवन वर्षौदेखि खाली रहनु सम्बन्धित निकायको निर्लज्जता नै देखिएको छ ।  तर, संग्रहालयले भने अब ३ अर्बको श्रोत सुनिश्चितता भएकाले व्यवस्थित भवन निर्माणको टेण्डर प्रक्रिया अगाडि बढाइने जनाएको छ । 

अब निर्माण हुने भवन व्यापारिक प्रयोजनका लागि नभई संग्रहालयको योजना अनुसार अडियो–भिडियो रूम, एक्जिबिसन हल, म्यूजियम सप सहितको परम्परागत ढुङ्गा तथा छाना प्रयोग गरेर भवन निर्माण गरिने प्रदेश संग्रहालयकी प्रमुख करुणा राई  बताउँछिन् ।

पर्यटकीय राजधानी पोखराका पर्यटकहरु आउजाउ गर्ने संग्राहलयकै प्रवेशद्वारमा खण्डहर बनेको भवन देखिन्छ । यसले पर्यटकीय राजधानी भन्ने शब्दलाई नै गिज्याइरहेको छ । यसतर्फ तीनै तहका सरकारले ध्यान दिने कि ? 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update