News 24 Television
दादागिरी मच्चाउदा फसादमा जनप्रतिनिधि ! काठमाडौंसम्मै तहल्का 

सिरहा । नेपाललाई जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको करिब १८ वर्ष पुग्नै लाग्यो । तर, अहिलेसम्म पनि छुवाछुतकै कारण वर्षेनी सर्यौ मानिस प्रभावित छन् भने दर्जनौंले ज्यानै गुमाउनु पर्नेसम्मको अवस्था छ । तर, जनप्रतिनिधिहरुकै छत्रछायाँमा जातीय भेदभाव कायमै छ । 

नेपाललाई २०६३ सालमै जातीय भेदभाव तथा छुवाछुत मुक्त देश घोषणा गरिएको हो । नेपालको संविधानले नै जातीय भेदभावविरुद्धको हकलाई मौलिक हकका रुपमा ग्यारेण्टी गरेको छ । तर, उधेग लाग्दो कुरा के भने विभेद मुक्त गरिएको १८ वर्षसम्म पनि जनप्रतिनिधिकै रवैयामा जातीय भेदभावका घटना समाजको कलंकका रुपमा कायम छन् । सिरहामा एक दलित परिवारको विचल्ली यसैको खराब उदाहरण हो । 

सिरहाको औरही  गाउँपालिका अध्यक्ष शिवजी यादवकै नेतृत्वमा एक दलित परिवार यतिबेला विचल्लीमा छ । गाउँपालिकाका अध्यक्षले वडा नम्बर ५ को सडक किनारामा छाप्रोमा बस्दै आएका दिपक मल्लिक डोम को परिवारलाई उठिबास लगाइयो । गाउँपालिका अध्यक्ष यादव यतिमै रोकिएका छैनन् । घटनाबारे मुख खोलेउ भने सिध्याउँछु भन्ने शैलीमा अन्य व्यक्तिहरु प्रयोग गरि धम्की दिइरहेका छन् । जनप्रतिनिधिले दिएको यो पीडाले पीडित परिवारका लागि जीवनमरणको अवस्थासम्म पु¥याएको छ । 

दीपककै छिमेकमा बस्छन्, राष्ट्रिय दलित आयोगका पूर्वसदस्य रहिसकेका छुवाछुत विरुद्धका अभियन्ता कबुली पासवान । तर, आयोगकै सदस्य समेत जनप्रतिनिधिको दादागिरीका अघि निरिह बस्नु परेको छ । 

यस घटनाबारे विरोधका आवाज देशव्यापी हुन थालेपछि अहिले गाउँपालिका अध्यक्षले आफ्नो बचाउ गरिरहेका छन् । 

घटनाको चौतर्फी विरोध भएपछि प्रहरीले अनुसन्धानका लागि कदम चालेसँगै गाउँपालिकाका अध्यक्ष शिवजी यादव, महायज्ञ आयोजक बगरंगी बाबा र पूर्ववडाध्यक्ष दिलीप यादव केही समय फरार रहेका थिए । तर, केही विहीबार दिउँसो तिर नै आन्तरिक सहमति गरि यो  घटनाका पीडितलाई थम्थमाउने प्रयास गरिएको छ । यद्दपी, सम्झौताका विषयमा औपचारिक जानकारी दिइएको छैन । 

कसरी शुरु भयो ज्यादतिको यो घटना ?

- यहि १७ चैत गतेदेखि औरहीमा श्री श्री १०८ श्री विष्णु महायज्ञ आयोजनाको तयारी चल्यो ।

- महायज्ञ लगाउने ठाउँमा दलित परिवार बस्दा अछुत हुने भन्दै दीपकको घरमा पालिका अध्यक्ष यादवकै निर्देशनमा पालिकाकै डोजर लगाएर भत्काइयो ।

- महायज्ञ आयोजना गर्ने स्थानमा अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसीभी लगाएर गत फागुन १० गते भत्काउन लगाएका थिए । 

-  यहाँ दीपकको परिवार बस्ने घर मात्रै भत्काइएको छैन, अछुत जातीले छोएको माटो भनेर घरसँगै रहेको जमिनको दुई फिट माटो समेत खनेर फालिएको छ । 

- अहिले भत्काइएको दीपकको घर जनता आवास कार्यक्रमअन्र्तगत सरकारले नै दिएको घर हो । 


विस्थापित परिवार कहाँ कस्तो अवस्थामा छन् त ?

-  गाउँपालिका अध्यक्षकै निर्देशनमा घरै भत्काइ दिँदा विस्थापित परिवार अहिले श्री सुन्दर जनता माध्यामिक विद्यालय औरहीको नाममा रहेको जग्गामा छिनको छाप्रोमा बसिरहेको छ । 

-  छाप्रो निर्माण भएपनि उनीसँग पानीको स्रोत छैन, विजुली वत्ती छैन ।

-   दीपक र अनिता मल्लिकका १७ वर्षिय छोरा अर्जुन र बुहारी, १३ वर्षकी छोरी किरण कुमारी, १० वर्षकी छोरी प्रिति र ८ वर्षका छोरा आकाशसहितको ७ जनाको जहान छ । 

छुवाछुत र विभेदको यो घटनाले अहिले राष्ट्रिय स्तरसम्मनै हलचल मच्चाई रहेको छ । स्थानीयस्तरदेखि संघीय संसद अनि राजधानी काठमाडौंका चियाचौतारामा समेत यस घटनाविरुद्ध विरोधका आवाज उठिरहेका छन् । मानव सभ्यतामाथि नै कुरुपता देखाउने विभेदको यो चरम रुपविरुद्ध सरकारले कडा कदम चाल्नै पर्ने देखिन्छ ।


 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update