News 24 Television
दीपक नेपालको ‘भाषिक कला’ पुस्तक बजारमा

काठमाडौँ । कथाकार तथा साहित्यिक सम्पादक दीपक नेपालले भाषिक कलासम्बन्धी नवीनतम पुस्तक बजारमा ल्याएका छन् । सिर्जनात्मक लेखन तथा भाषा–साहित्यको सम्पादनमा रुचि राख्ने जोकोहीलाई लक्षित गरी पुस्तक तयार पारिएको लेखकको दाबी छ ।

लेखक नेपालले विभिन्न सैद्धान्तिक ज्ञान तथा डेढ सय पुस्तकको सम्पादकीय अनुभवका आधारमा करिब ४ वर्ष लगाएर ‘भाषिक कला : सिर्जनात्मक लेखन तथा सम्पादन’ पुस्तक तयार पारिएको बताए । 

पुस्तकमा उनले साहित्यको विधागत चिनारी, भाषा तथा अभिव्यक्ति कौशल, सम्पादन सीप र आवश्यक अन्य कुराको सान्दर्भिक रुपमा उदाहरणसहित चर्चा गरेका छन् । विशेषगरी सिर्जनात्मक लेखन तथा सम्पादन कलासम्बन्धी व्यवहारिक सीपलाई महत्त्व दिएको पुस्तक व्यवहारिक दृष्टिकोणले सरल मानिएको छ । 

लेखन तथा सम्पादनका विभिन्न तौरतरीका, सीप र कौशलबारे सटिक रुपमा प्रस्तुत गरिएको यो पुस्तक साहित्यका सिकारुदेखि लेखक, सम्पादक, पत्रकार तथा नेपाली भाषा–साहित्य अनुरागीहरुका लागि विशेष उपयोगी मानिएको छ । 

लेखन तथा सम्पादनका क्रममा के–कस्ता अन्यौल सृजना हुन्छन् र तिनको निराकरण कसरी गर्ने ? भाषिक मिठास र अभिव्यक्ति कौशलमा कसरी निखारता ल्याउने ? जस्ता व्यवहारिक विषयलाई लेखककै अनुभव र अध्ययनबाट प्राप्त ज्ञानका आधारमा प्रस्तुत गरिएको छ । काठमाडौँबाट ‘सम्पूर्ण किताब’ले प्रकाशन गरेको पुस्तकको मूल्य रु ५९५ रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update