News 24 Television
बहस : गणतन्त्रको जग कमजोर भएकै हो त ?

नेपालका पूर्वराजाको स्वागतमा उर्लेको भीड र राजाले दिएका भिडियो सन्देशलाई लिएर देशमा अहिले एकाएक राजनीतिक माहोल तातेको छ । गणतन्त्रवादी नेताहरू आत्तिँदै बर्बराउन थालेका देखिन्छन् । सबै एकै स्वरमा पूर्वराजालाई ‘दल खोलेर पार्टी बनाऊ र चुनाव लड्न मैदानमा आऊ’ भनिरहेका छन् । 

राजनीतिक दलका नेताहरू किन यति धेरै आत्तिरहेका छन् त ? यसको उत्तर हो– उनीहरूलाई थाहा छ, उनीहरूले देशमा सुशासन दिन नसकेनन्, भ्रष्टाचार र बेथितिलाई नियन्त्रण गर्न नसकेनन् तर पद र कुर्सीको दम्भमा देशमा निरन्तर लुटतन्त्र मच्चाइरहे । यही कारण उनीहरू कमजोर सावित भए र भ्रष्टाचार र बेथितिविरूद्धको सामान्य हुङ्कारको सामना गर्ने सामथ्र्य पनि राख्न सकेनन् । त्यसर्थ भ्रष्टाचारको जगमा उभिएका नेताहरू ऐनामा आफ्नै अनुहार देखेर डराए र आत्तिएर बर्बराउन थाले । 

विभिन्न सार्वजनिक कार्यक्रममा नेताहरूको उपस्थिति हुँदा देखिएको जनताको आक्रोसपूर्ण नाराबाजीले नै स्पष्ट पारिसकेको छ– सरकारका प्रधानमन्त्रीदेखि राजनीतिक दलका नेताहरूमाथि जनताको धारणा कस्तो बन्दै गइरहेको छ भनेर । आफूले अमूल्य मत दिएर पठाएका नेताहरूले चुनावका बेला गरेको वाचाअनुसार काम गर्न नसकेको, राम्रो काम गर्ने जनप्रतिनिधिहरूलाई होच्याउने काम गरेको तथा उदाहरणीय काम गर्ने कर्मचारीलाई आग्रह राखेर असजिलो बनाएको तर सरकारका वरिपरि रहेर जनताले नपत्याएका र गलत नियत भएका मान्छेहरूले मात्र देशको ढुकुटी लुटिरहेको देखेर पनि जनताले विकल्पको रूपमा पूर्वराजालाई सम्झे । दलका नेताको जनविरोधी गतिविधिका कारणले पनि पूर्वराजाका पक्षमा जनलहर बढ्दै गएको हुनसक्छ । 

राजा कहिल्यै चुुनाव लड्दैनन् भन्ने जानकारी राख्ने दलका नेताहरूले हतासमा पूूर्वराजालाई ‘चुनाव लड्न मैदानमा आऊ’ भन्नुको सट्टा अहिले आएर पूुर्वराजा सक्रिय हुनुुको कारण खोजेको भए, जनता किन पूर्वराजालाई नारायणहिटीमा हुल्ने कुरा गर्दैछन भनेर समीक्षा गरेको भए समयोचित हुनेथियो होला । किनभने पूर्वराजाको स्वागतमा उपस्थित तिनै जनताहरू हुन् जसले केही वर्षअघि राजाविरोधी जुुलुुसमा सहभागिता जनाएका थिए । हिजो राजाविरोधी गतिविधिमा लागेकोमा पछुतो मान्दै तिनै जनता आज ‘राजा आऊ, देश बचाऊ’ भन्दैछन् । उनीहरूले कोबाट देश बचाउन अपिल गर्दैछन् ? कोबाट यति भयभीत छन् त नेपाली जनता ? यसको उत्तर अनपेक्षित हुनसक्छ तर सबैले गम्भीर आत्मसमीक्षा गर्ने बेलाचाहिँ आएको होइन र ?

आफ्ना नेतालाई ‘आइ लभ यु’ भन्ने जनता आज दस जना भेला भयो कि ‘.... चोर, देश छोड’ भन्ने  नारा घन्काउँछन् । के यो राजाले गर्दा हो ? राजाले कहिल्यै अवाञ्छित शब्द बोलेको सुनिएको छ ? राजाजति संयमित नेताहरू किन हुन सक्तैनन् ? अरूलाई नैतिकता र सदाचारका भाषण गर्ने नेतालाई राजनैतिक संस्कार कसले सिकाइदिने ? 

‘गणतन्त्रको विकल्प राजतन्त्र होइन’ रे ! त्यसो भए गणतन्त्रको जग कमजोर बनाउने कार्य कसले गर्यो त ? के जनताका कारण गणतन्त्र कमजोर भएको हो ? माल पाएर चाल नपाउने नेताहरूले नै आजको अवस्था ल्याएका होइनन् ? अनि फेरि किन यो तन्त्र र त्यो तन्त्र भनेर तन्त्रका शब्दजाल फ्याँक्ने ? जुन तन्त्र भए पनि जनतालाई देशमा समृद्धि र आफ्नो दैनिकीमा परिवर्तन चाहिएको हो । 
नेताले आफूलाई समृद्ध र देश र जनतालाई कङ्गाल बनाउँदा यो समस्या आएको हो । जनताको अवस्थाचाहिँ उही रहने तर हिजो सामान्य अवस्थाबाट राजनीतिमा आएकाहरूले चाहिँ करोडौंको गाडीमा सयर गर्ने, करोडौंको घडी, लाखौंका जुत्ता र चश्मा लगाउने ! न जागिर, न व्यापार, यो हैसियत कहाँबाट कसरी बन्यो ? जुन देशका जनता सिटामोल खान नपाएर मर्छन, त्यही देशका नेताहरूको तिलस्मी समृद्धि देखेर अझै पनि यिनीहरूबाट देश बन्छ भनेर बस्नु अझपछि पर्नु हो भनेर विकल्पमा जनताले पूर्वराजालाई स्मरण गरेका हुनसक्छन् ।

असन्तुष्टिको बीजारोपण नेताहरूले नै गरेका हुन् । ठूला दलका सबै शीर्ष नेताहरूले राजाभन्दा बढी अहङ्कार पालेकोले जनताले हजारौं राजा पाल्नुभन्दा एउटै राजा ठीक मानेर पूूर्वराजा सम्झेका हुनसक्छन् । हिजो राजाको प्रत्यक्ष शासनकालमा सत्ताले जनतासँग दूरी बनाउँदा राजतन्त्र फ्याँकियो । त्यति बेलाको संविधानमा पनि राजा फ्याँक्न पाउने व्यवस्था थिएन । अझ राजा सर्वोपरी थिए । अहिलेको संविधानमा पनि नेताले भनेझैं राजा आउन सहज छैन । तर जनताले नै राजा ल्याउन चाहे भने न संविधानले रोक्न सक्छ न विद्यमान कानुनले नै । सार्वभौम जनताले चाहे भने असम्भव केही हुँदैन । सत्तामा पुर्याउन सक्नेले सत्ताबाट गलत्याउन पनि सक्छन् ।

जनताको बोली बन्द गरेर, पत्रकारको कलम भाँचेर र सामाजिक सञ्जाल बन्द गरेर जनआक्रोस रोकिन्छ कि भनेर सोच्नसम्म त पाइएला तर यत्तिका भरका निरङ्कुश सत्ता टिक्छ भनेर सोच्नुचाहिँ ठूलो भूल हुुनेछ । यो एआईको जमाना हो, अब जनताका कुरा गरेझैं गरेर जनतालाई नै सधैं बेवकूफ बनाउँन सम्भव छैन । त्यो त आलुबारीमा हात्ती लुकाउने असफल प्रयासजस्तै मात्र हुनेछ । 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update