
काठमाडौं । नेपालमा लामो समय लोडसेडिङको मार खेप्दै आएका नेपाली नागरिकले फेरि पनि लोडसेडिङको मार खेप्नुपर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा लोडसेडिङ मुक्त भएका नागरिकले फेरि अहिले लोडसेडिङ खेप्नुपर्ने अवस्था आएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कुशल कार्य क्षमताको कारण नै नेपाली नागरिक लोडसेडिङको मारबाट मुक्त भएका हुन् । त्यही कार्यक्षमताको प्रशंसा गर्दै तत्कालिन सरकारले दोस्रो कार्यकालमा पनि घिसिङ प्राधिकरणको जिम्मेवारी सुम्पेको हो । तर सात महिना यता ऊर्जा मन्त्रालयको कार्यभार सम्हालेपछि ऊर्जामन्त्री दीपक खड्का भने घिसिङको आलोचना गर्दै आइरहेका छन् ।
विभिन्न आरोपहरुलाई लगाउँदै मन्त्री खड्काले घिसिङलाई कारबाहीको तयारी गरिरहेका छन् । त्यही तयारी स्वरुप पटक पटक स्पष्टीकरण सोधिसकेका मन्त्री खड्काले पछिल्लो मन्त्रिपरिषद् कार्यालयबाटै स्पष्टीकरण सोध्न लगाए । तर घिसिङ भने कुनै पनि स्पष्टिकरणले फरक नपार्ने भन्दै पटक पटक स्पष्टीकरण पनि दिएका छन् ।
तर उनको स्पष्टीकरण मन्त्री खड्कालाई भने चित्त बुझेकै छैन । त्यसैले उनले घिसिङलाई उज्यालो नेपालको नायक भन्न अस्वीकार गरिरहेका छन् । बुधबार मात्रै राष्ट्रियसभामा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको उत्तर दिँदै मन्त्री खड्काले लोडसेडिङ मुक्त गराएको भन्दै निजी क्षेत्र र भारतलाई धन्यवाद दिनुपर्ने बताए ।
योसँगै मन्त्री खड्काले अब फेरि नागरिकले लोडसेडिङ खेप्नुपर्ने अवस्था आएको पनि दाबी गरेका छन् । हामीसँग ३५ मेगावाट विद्युत भए पनि हिउँदमा मुश्किलले एक हजार मेगावाट आउने गरेको भन्दै मन्त्री खड्काले अहिले पनि लोडसेडिङ कायमै रहेको जिकिर गरेका छन् ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले घाटामा रहेको प्राधिकरणलाई नाफामा पुर्याएको दाबी अहिले पनि गरिरहेका छन् । घाटामा रहेका संस्थालाई नाफामा पुर्याउने ब्यक्तिलाई कारबाही गर्नु जायज नभएको भन्दै सडकदेखि सदनसम्म पनि आवाज उठिरहेको छ । तर महालेखा परीक्षकको प्रतिवेदनले नै साढे २ करोड घाटामा रहेको बताएको अवस्थालाई डीडीए गरेर जनतालाईं प्रष्ट पार्न मात्रै आफूले खोजेको मन्त्री खड्काको भनाई छ ।
विभिन्न विषयमा कुरा आए पछि डाकिएको बोर्ड बैठकमा कुनै पनि कुरा नभनिएको मन्त्री खड्काको आरोप छ । प्राधिकरणबारे मन्त्रालय बेखबर रहेको समेत आरोप लगाएका छन् । विभिन्न आरोप लगाउँदै कुलमानलाई पदबाट बर्खास्त गर्ने तयारी गरेका मन्त्री खड्का आफैले अब लोडसेडिङ हुने घोषणा गरिरहेका छन् ।
मन्त्री खड्काले लोडसेडिङ हुने घोषणा गरे पनि कुलमान भने लोडसेडिङ नहुने दाबी गरिरहेका छन् । लोडसेडिङ हुन लागेको भनी मन्त्रीले दिएको अभिब्यक्ति लगत्तै कुलमानसँगको प्रतिक्रियामा उनले लोडसेडिङ नहुने स्पष्ट गरेका छन् । मन्त्री खड्का भने नागरिकलाई लोडसेडिङ थोपर्ने प्रयासमा किन लागेका छन् भन्ने शंसय पैदा गरिदिएको छ ।