
काठमाडौं । राजतन्त्र पुनःस्थापनाका लागि सक्रियताको माहोल जसरी तातिरहेको छ, त्यसरी नै नेताहरुका भाषणपनि चर्को बन्दै भएका छन् । यस माहोलकै बीच पूर्वराजा ज्ञानेन्द्र शाह भने एउटा नाटकीय अवस्था सृजना गरि राज्याभिषेकको सपना पछ्याइरहेका छन् । यहि परिवेशमा अहिलेसम्म मौन बसेको नेपाली सेनाले मुख खोलेको छ भने लोकतन्त्रवादी नेताहरु एकअर्काप्रति कटाक्ष गर्नमै व्यस्त देखिन्छन् । यि सबै दृष्यहरुले भावि परिदृष्य कस्तो देखाइरहेका छन् त ?
पछिल्लो एक महिना यता नेपालको राजनीतिमा खैलाबैला मच्चाउने गरि नै राजतन्त्र पुनःस्थापनाको विषयले चर्चा पाइरहेको छ । विशेषगरि पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किदा गरिएको स्वागतले यो हल्लालाई थप तीव्र गतिमा फैलाइदिएको छ । मुलुकको सहि नेतृत्वका लागि मलाई सहयोग गर्नुहोस् भनि पूर्वराजा ज्ञानेन्द्रले गरेको अपिलपछि सलबलाएको माहोल अहिले बलियोरुपमा अघि बढ्न थालेपछि गणतन्त्रवादी नेताहरुको टाउको दुखाईको विषय बनिरहेको छ ।
यहि पेरिफेरिमा पूर्वराजाले आफ्नो घुमफिरको दायरा बढाउन थालेपछि प्रधानमन्त्रीदेखि अन्य नेताहरुका चेतावनीपूर्ण भाषण चलिरहेका छन् । यही क्रम बुधबार संसद बैठकमा पनि देखियो । जहाँ नेताहरुले रैतिबाट नागरिक बनि आफ्नो स्वराज गरिरहेकाहरु पुनः राजाको छायाँमा बसेर रैति बन्न चाहदैनन् भन्दै अप्ठ्यारो परिस्थितिमा मौका छोप्ने प्रयास नगर्न पूर्वराजालाई चेतावनी दिएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र कसैको दान स्वरूप प्राप्त नभएको भन्दै सार्वभौम जनताले फेरि राजतन्त्र ल्याउने मूर्खता नगर्ने प्रमुख राजनीतिक दलका नेताहरूले बताए । गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू जस्तोसुकै कदम चाल्न पनि तयार रहेको उनीहरुको चेतावनी छ ।
यता, राजावादी शक्तिहरु भने नेताहरुले राजतन्त्रविरुद्ध दिएका अभिव्यक्ति उनीहरुको डरको उपज भनिरहेका छन् ।
राजावादी शक्तिले योजनाबद्ध कदम चालिरहेका बेला नेताहरुले एकअर्काप्रति कटाक्ष गर्ने क्रम भने रोकिएको छैन ।
नेताहरुबीच आपसी कटाक्ष चलिरहँदा पूर्वराजा भने देश सैरमा सक्रिय देखिन्छन् । झण्डै एक महिना पश्चिम बसेर विभिन्न जिल्लाको भ्रणम गरेका शाह गत फागुन २५ गते काठमाडौं फर्केका थिए । अब उनी गोरखा जाने भएका छन् । शाह वंशीय राजतन्त्रका लागि गोरखा महत्वपूर्ण ठाउँ हो ।
पृथ्वीनारायण शाहले गोरखाबाटै नेपाल एकीकरणको थालनी गरेका थिए । ज्ञानेन्द्र गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लागेको बताइएको छ । उनी यसै साता जाने भनिए पनि समय ठ्क्कै खुलाइएको छैन । राजावादीहरू र पूर्वराजा स्वयंको सक्रियताका कारण शाहको गोरखा भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । यता, पूर्वराजाको सक्रियता र गणतन्त्रवादी नेताहरुका अभिव्यक्तिलाई विगतदेखि नियाली रहेको मुलुकको सुरक्षा अंग नेपाली सेना मौन बसेको थियो ।
सेनाको मौनताले कतै राजतन्त्रलाई समर्थनको संकेत त होइन भनि विश्लेषण चलिरहेका बेला अहिले भने सेनाले विज्ञप्ति जारी गर्दै वर्तमान संविधानको अधिनमा रहने नेपाली सेनाको प्रष्ट धारणा हो भनि प्रष्ट्याएको छ । सेनाको यो सन्देशले सेनामाथिको संशय भने केही हटेको विश्लेषण भइरहेको छ । यद्दपी, गणतन्त्रवादी र राजावादीबीचको टकराव भने तत्काल कम हुने छाँटकाँट देखिदैन ।