News 24 Television
चैते धान रोपाइँले भ्याइनभ्याइ, धानैबाट पुग्दो आम्दानी !

कैलाली । कैलालीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । चैतमा रोपेर असारमा पाक्ने यो धानलाई किसानले चैते धान भन्ने गर्छन् । विशेषगरि कैलालीको भजनीका किसानलाई असारको रोपाइँ झैं चैत्रको रोपाइँको व्यस्तता छ । 

यो सिजन चैते धान रोपाइँको हो । देशका केही ठाउँहरुमा असारमा जस्तै धान रोपाइँ चैतमा गर्ने गरिन्छ । यतिबेला कैलालीको भजनी नगरपालिकाका किसानहरु पनि चैते धान रोपाइँको चटारोमा देखिन्छन् । यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै चैते धान हो । 

भजनी नगरपालिका अधिकांस किसानहरु विगत ६ वर्षदेखि चैते धान लगाउँदै आएको छन् ।  कान्द्रा, मोहना र पथरैया नदीले घेरिएको भजनी नगरपालिकाको खेतीयोग्य जमिन वर्षामा तलाऊ बन्छ । त्यो समयमा भजनी क्षेत्रकोे खेतियोग्य जमिनमा बाढीले डुवान हुने भएकाले धेरैजसो किसान अहिले नै धान रोपेर असारमा खेत बाँझो छोड्ने गर्छन् ।

कैलालीको भजनीका किसानहरू सपरिवार दिनभर खेतमा धान रोप्नमै व्यस्त हुन्छन् । जिल्लाको बाढी प्रभावित क्षेत्रका किसान चैते धानतर्फ आकर्षित छन् । उनीहरूले यो बेलामा धान उत्पादन गर्न नसके भोकै बस्नुपर्छ  फागुनमा ब्याड राखेर चैतमा रोपिने भएकाले यो धानलाई ‘चैते’ भनिएको हो । असारमा पाक्ने भएकाले वर्षायाम र त्यसपछि आउने चाडपर्वको जोहो यही धानले गर्ने गरेको किसान बताउँछन् । 

बाढी प्रभावित भजनी नगरपालिकाको वडा नं. ३ र ८ का कृषकहरूको मुख्य आम्दानीको श्रोत नै चैते धान बनेको छ ।  नगरपालिकाको वडा नं. १, २, ५, ६ समेत गरी भजनीमा मात्रै ६ शय बढी हेक्टरमा चैते धान खेती हुँदै आएको छ । चैते धान खेती बिस्तारका लागि कृषि ज्ञान केन्द्र कैलाली, विभिन्न स्थानीय सरकार र रानी, जमरा, कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमले समेत सहयोग गर्दै आइरहेको छ । 

जिल्लाको भजनी, टीकापुर, घोडाघोडी नगरपालिका र कैलारी, जोशीपुर, जानकी र बर्दगोरिया गाउँपालिकामा चैते धान लगाउने गरेको छन । बाह्र महिना सिंचाइको सुविधा विस्तार गर्न सकेमा कैलालीका  अन्य फाँटहरूमा पनि हिउँदे धान रोप्न सकिने हावापानी रहेकाले सरकारले सिंचाई सुविधा बृद्धिमा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update