काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मृत भइसकेको राजतन्त्र अब नफर्किने बताएका छन् । बरू उनले पछिल्लाे समय पालैपालो सरकार चलाइरहेका तीन प्रमुख नेता केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डलाई छोटे राजाको संज्ञा दिँदै आलोचना गरेका छन् ।
बुधवार माईतीघर मण्डलामा नेसपा (नयाँ शक्ति)ले प्रदर्शन गरेकाे छ । उक्त प्रदर्शनमा सहभागी हुँदै भट्टराईले एकथरी मानिसहरु फेरि राजा-महाराजा ल्याउने भनेर अघि सरिरहेको बताए । तर राजतन्त्र ठिक नरहेको उनकाे भनाइ छ । राजतन्त्र समस्याको समाधान नभएको उनको टिप्पणी छ ।
अहिले एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली, काँग्रेस सभापति देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड छोटे राजाको रूपमा देखिएकाे उनकाे टिप्पणी छ । उनीहरूले अहिलेसम्म देश र जनताका लागि कुनै काम नगरेको र देश बर्बादीतिर गएकाे बताए । आफू सरकारमा भएसम्म सबै ठिक र सरकारबाहिर गएपछि सबै सकियो, बर्बाद भयाे भन्ने परिपाटीले जनता रनभुल्लमा परेकाे उनकाे भनाइ छ ।
डा. बाबुराम भट्टराईले भने, ‘एकथरी मान्छेहरुलाई फेरि राजा महाराजा ल्याउने की भन्ने परेको छ । त्यो सत्य होइन, ठिक होइन । धामी झाँक्रीको रुपमा मृत भइसकेको राजतन्त्र आउने वाला छैन । त्यो समाधान होइन । अहिले अर्कोथरी तीन वटा टाउकाका रुपमा आएका छन् । जो आफूलाई छोटे राजा भन्छन् । संविधान जारी भएपछिको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएको छ । अनि तीन वटै टाउका पालैपालो सरकार चलाइरहेका छन् । सरकारमा हुन्जेल ठिकठाक छ भनेर जनतालाई गफ दिन्छन्, सरकार गएको भोलिपल्टदेखि खत्तम भयो, बर्बाद भयो, सकियो भनेर कराउँछन् । र जनता रनभुल्लमा पर्छन् ।’
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले आयुर्वेदले पूर्ण उपचार गर्न नसक्ने जिकिर गरे । उनले देउवा, ओली र प्रचण्डलाई वैद्यरुपी तीन टाउका भन्दै उनीहरु जतिपटक सत्तामा दोहोरिए पनि देशको समस्या समाधान हुन नसक्ने जिकिर गरे ।