News 24 Television
छेन्दु–पोखरा व्यवसायिक उडानले पोखरामा उत्साह

कास्की । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक नियमित व्यावसायिक चार्टर उडान गरेको हो  । 

मंगलबारदेखि चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान सुरु  भएको छ ।  सिचुवान एयरलाईन्सबाट पोखरा आएका १ सय २८ जना चिनिया पर्यटकलाई पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्, पर्यटन सम्बद्ध संघ संस्था लगायत स्थानीयहरूले बाजागाजाका साथ भव्य स्वागत गरे  । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको करिव ढाई वर्षपछि पोखराबाट पहिलो पटक भएको अन्तर्राष्ट्रिय उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रबद्र्धन, सांस्कृतिक आदान–प्रदान, र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विश्वास लिइएको छ । यो उडान नियमित गर्ने र यसले पोखरा र चीनका विभिन्न सहरसँगको सम्बन्ध राम्रो बन्ने नेपाल स्थित चिनिया राजदूतावासका महामहिम राजदूत छन् सोङ बताउँछन् ।

चीनबाट आएको सिचुवान एयरलाईन्स मङ्गलबार नै १ सय २६ जना नेपाली पर्यटक लिएर चीनको छेन्दु उडेको छ । पोखराबाट छेन्दु व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’का लागि गएको हो । नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझाउ, लेसानलगायतका चिनियाँ शहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छन् । तीन महिनासम्म करिब १,२५० चिनियाँ पर्यटक ल्याउने लक्ष्य राखिएको छ । प्रारम्भमा चार्टर्ड उडान हुने भए पनि विस्तारै नियमित अन्तर्राष्ट्रिय उडानमा परिवर्तन गर्ने योजना रहेको पोखरा महानगरका मेयर धनराज आचार्य बताउँछन् ।

चीनको छेन्दु–पोखरा–छेन्दु उडानको यो प्रयासले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्नुका साथै दुवै देशका पर्यटन क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन भूमिका खेल्ने विश्वास गरिएको छ । अबको तीन महिनासम्म हप्तामा एउटा चार्टर उडान हुनेछ । पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुहरूका लागि कम खर्चमा सहज पहुँचका साथै चिनियाँ पर्यटकहरूलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्ने हुँदा पर्यटन व्यवसायीहरु निकै उत्साहित बनेका छन् । 

छेन्दु पोखरकोे हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ र नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पुरÞ्याउँदै नेपालमा अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update