News 24 Television
 रविन्द्र मिश्रको गतिविधिले राप्रपामा भाँडभैलो  

काठमाडाैँ । बीबीसीको जागिर छाडेर नेपाली राजनीतिमा प्रवेश गरेका रविन्द्र मिश्र हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष छन् । साझा पार्टी गठन गरेर एकाएक नेपाली राजनीतिका रुपमा उदाएका मिश्रले साझा पार्टी मात्र होइन, विवेकशील पार्टीलाई समेत असफल बनाएर राजावादी भएर निस्किए । दोस्रो बरियताको पदसहित राप्रपामा छिरेका मिश्रको पछिल्लो गतिविधिका कारण राप्रपामा भाँडभैलो मच्चिएको छ ।

बीबीसी नेपाली सेवामा रहेर लामो समय पत्रकारिता गरेका रविन्द्र मिश्र सञ्चार क्षेत्र छाडेर नेपाली राजनीतिमा हुन् । बीबीसी नेपाली सेवामा रहँदा नेपालका राजनीतिक दलका नेताहरुलाई खरो प्रश्न सोध्ने गरेकै कारण उनी नेपाली माझ निकै लोकप्रिय थिए । त्यही लोकप्रियताकै कारण राजनीतिमा अब्बल ठाउँमा पुग्ने मनोआकांक्षा साथ जागिर छाडेर ‘साझा पार्टी’ दल दर्ता गरेर राजनीतिमा स्थापित भए । 

मुलधारका राजनीतिक दलहरुको निरन्तर आन्दोलन र बन्द हड्तालकाबीच फरक शैलीमा स्थापना भएको विवेकशील पार्टीको समानान्तर पार्टीका रुपमा उनले नयाँ पार्टी बनाएका थिए । तर केही समयमै उनले आफ्नो पार्टीलाई विवेकशील पार्टीमा गाभे । र, त्यसको नेतृत्व हत्याए । विवेकशील साझाको नेतृत्वमै रहेकाबेला ‘विचारभन्दा माथि देश’ भन्दै मार्गपरिवर्तनको सिद्धान्त अघि सारेपछि पार्टीमा अटाउन सकेनन् । उनले भर्खरै उदाउँदै गरेको युवाहरुको पार्टीको जरो नै निमोठिदिए । जुन पार्टी अहिलेसम्म पनि उठ्न सकेको छैन । 

वैकल्पिक शक्ति स्थापना गर्ने भन्दै नेपाली राजनीतिमा छाएका उनी अन्ततः राजावादी दल राप्रपामा प्रवेश गरे । पत्रकारिताबाट राजनीति प्रवेश गरेका मिश्रलाई राप्रपा प्रवेश गर्नुअघि बीबीसीकै सहयात्री सुमन खरेलले राजा र राजसंस्थाप्रतिको सहानुभूतिबारे सोधेको प्रश्नको जवाफमा उनले छातीमा हात राखेर मेरो बाजेले घिउ खाएका थिए, हात सुघँ सुघँ भन्ने संस्थाको कुनै पनि हालतमा समर्थक नभएको बताएका थिए । जुन अभिब्यक्ति यतिबेला सामाजिक सञ्जालहरुमा पनि छाइरहेको छ । 

२०७९ असोजमा विवेकशील साझाको आफ्नो सानो समूहलाई राप्रपा गाभ्दै राप्रपा उपाध्यक्ष हत्याएका मिश्रले फेरि अहिले राप्रपामा भाँडभैलो मच्चाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको फाल्गुन ७ को राजनीतिक अभिब्यक्तिपछि राजावादी शक्तिहरु जुर्मुराइरहँदा उनी पार्टी अध्यक्षको समेत बेवास्ता गर्दै पूर्वराजाको विश्वासपात्र बन्न पुगेका छन् । 

नेपालमा गणतन्त्रको बिकल्प खोज्नुपर्ने उपयुक्त समय भएको भन्दै राजावादीहरु जुर्मुराइरहेकाबेला पूर्वराजा शाहको निर्देशनमा गठन भएको राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदी नेतृत्वको संयोकत्वको कार्यदलमा मिश्र सदस्य सचिव बन्न पुगेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई नै माथ गर्ने गरी मिश्र कार्यदलको सदस्यसचिव बनाइएपछि राप्रपाभित्र भाँडभैलो मच्चिएको छ । 

पूर्वराजा शाहले देशको पछिल्लो राजनीतिक अवस्था र नागरिकप्रतिको वितृष्णा बढ्दै गएको अवस्थामा अब आफूलाई साथ दिन भन्दै फागुन ७ गते भिडियो सन्देश जारी गरेका थिए । उनको यो अभिब्यक्तिपछि राजावादी ज्ञानेन्द्र शाहको निकट हुने दाउमा लागिरहेका छन् । यहि मेसोमा ज्ञानेन्द्रको इच्छा पूरा गरिदिन मिश्रले लिङदेनलाई पछि पार्दै सुवेदीलाई अघि सारेका हुन् । 

मिश्रले राप्रपा महामन्त्री धवलशम्शेरको साथ पाएका छन् । जसको भरपुर फाइदा उठाउँदै मिश्रले राजनीतिक छलाङ मार्न खोजेपछि विवेकशील पार्टी, विवेकशील साझा पार्टी हुँदै अब राप्रपालाई तहसनहस पार्ने जोखिम बढेको भन्दै राप्रपाभित्रै हंगामा मच्चिएको छ । यसलाई राप्रपाले कसरी पार लगाउँछ, त्यो भने हेर्न बाँकी नै छ । 

 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update