
काठमाडौँ । राजतन्त्रको पक्षमा वकालत गर्ने पक्षहरुको मिलाप संकटतर्फ धकेलिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको अपिलपछि राजावादी शक्तिहरु सक्रिय बनेका छन् । राजसंस्था फर्काउनका लागि आन्दोलनका लागि गठित समिति पहिलो दिनमै विवादको भूमरीमा परेको छ ।
पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा पूर्वराजा ज्ञानेन्द्र शाहको सत्तारोहण संघर्ष समिति गठन भएको छ । समिति गठन एकलौटी भएको भन्दै राजावादी शक्ति, समूय र दलबीच मतभेद चुलिएको छ भने पूर्वराजा ज्ञानेन्द्रको छनोट पहिलो दिनमै विवादको चंगुलमा फसेको छ । सुवेदीको नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन भएको छ । समितिमा रहेका केहि सदस्यहरुले असन्तुष्टी जनाउँदै आफू नरहने घोषणा धमाधम गरिरहेका छन् । जसमा क–कसले गरे त यस्तो घोषणा ?
१. राजेन्द्र लिङ्देन
२. कमल थापा
३. केशरबहादुर विष्ट
४. डा. राजेश अहिराज
संघर्ष समिति घोषणा कार्यक्रममै विष्टले आफू समिति सदस्य नरहने घोषणा मात्रै गरेनन्, उनले पूर्वराजा ज्ञानेन्द्रले गद्दी, राजमुकुट त्यागेको भन्दैआफूले सदस्य त्यागेको दाबी गरिदिए । यस्तै, राजेन्द्र लिङ्देन, कमल थापा र राजेश अहिराजले आफूलाई जानकारी नदिई समितिमा राखेको भनेका छन् । यसले राजावादी शक्तिहरुमा देखिएको मतभेद छरपष्ट बन्न पुगेको छ ।
राप्रपामा तनावको संकेत
राजसंस्थाको माग गरिरहेको राप्रपाको नेतृत्व राजेन्द्र लिङ्देनले गरिरहेका छन् । लिङ्देनले राजतन्त्रको पक्षमा वकालत गर्दै गर्दा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग चुनावी तालमेल गर्ने गरेका छन् । यसरी चुनावी नतिजा आफ्नो पक्षमा पार्दै आएका लिङ्देनलाई पूर्वराजा ज्ञानेन्द्रले विश्वास गर्न सकेनन् । त्यसपछि रहे, कमल थापा ।
ज्ञानेन्द्रले सत्ता छाड्ने अन्तिम घडीसम्मका गृहमन्त्री तथा गणतन्त्रमा पटक–पटक मन्त्री पद लिए पनि अध्यक्षमा लिङ्देनसँग पराजित बनेपछि थापाले पार्टी नै विभाजन गरे अनि ज्ञानेन्द्रमाथि आक्रोश पोख्न थाले । यी विषयले दुबै नेतामाथि ज्ञानेन्द्रले विश्वास गर्ने स्थिति बनेन् ।
यही विषयको फाइदा उठाए, राप्रपाका महामन्त्री धवलशमशेर जबराले । धवल राप्रपाभित्र पूर्वराजा ज्ञानेन्द्र शाहसँग नजिकको सम्बन्ध भएका नेता हुन् । उनले अहिले रवीन्द्र मिश्र लगायतका नेताहरुलाई लिएर काम गरिरहेका छन् । पूर्वराजाले नवराज सुवेदीलाई कमाण्डर बनाएर दिएको चौका दाउमा धवल र रवीन्द्रको उपस्थितिमात्रै देखिन्न् । उनीहरु आन्दोलनका लागि अघि बढिसकेको भन्न थालेका छन् । यसले पनि राप्रपाभित्रको मतभेद चुलीमा छ ।
तर, नैतिक रुपमा लिङ्देनले पूर्वराजा ज्ञानेन्द्रको पक्षमा हुने आन्दोलनलाई समर्थन हने मलिन स्वर भने दिइरहेका छन् ।
ज्ञानेन्द्रले छानेका टावरिङ पर्सन
पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज सुवेदीलाई टावरिङ पर्शनको रुपमा आन्दोलनको नेतृत्व गर्न निर्देशन दिएको बताइन्छ । तर, उनै सुवेदीले लेखेको पुस्तकमा ज्ञानेन्द्रलाई व्यापारीको रुपमा मात्रै अथ्र्याइएको छैन् । विदेशी कम्पनी नेपाल भित्रिदा शक्तिको आडमा सेयर लिन खोज्ने गरेको खुलासा समेत गरेका छन् ।
यसरी हेर्दा ज्ञानेन्द्रलाई उनले व्यापारीको रुपमा ब्याख्या गरेका छन भने मुडी, घमण्डी र आफ्नो व्यापारिक साम्राज्यबाहेक केहि नदेख्ने पात्रको रुपमा समेत चित्रण गरेका छन् । यस्ता व्यक्तिलाई ज्ञानेन्द्रले टावरिङ पर्शनको रुपमा लिदै दिएको जिम्मेवारीमा राप्रपाका नेताहरु मात्रै नभएर राजावादी शक्ति र व्यक्तिहरुले संसय व्यक्त गर्ने गरेको बताइन्छ ।
छिन्नभिन्न राजावादी
राजतन्त्रको पक्षमा वकालत गर्नेहरु छिन्नभिन्न देखिन्छन् । विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईले कतिबेला रंग फेर्छन पत्तै हुन्न । उनी आन्दोलन पनि आफूले उठाउन सक्ने दाबी गर्छन र आएका अधिकांश मान्छे आफूले ल्याएको दाबी गरिदिन्छन् ।
बैंक तथा वित्तिय संस्थाको ब्याज नतिर्ने अभियान चलाएर राज्य प्रणाली र सर्वसाधारणको बचतमाथि खेलवाड गर्ने नियतका साथ काम गर्छन् । यस्ता व्यक्तिदेखि राजनीतिक रुपमा राजाको माग गर्नेहरु पनि मिसिने ठानिएको संघर्ष समिति विवादभन्दा माथि उठ्न सकेन् ।
लिङ्देन, थापा र विष्ट जस्ता व्यक्तिहरुको विवाद र पूर्वराजाले छानेका सुवेदीको क्षमतामाथिका प्रश्नमात्रै नभएर एकीकृत रुपमा आन्दोलित हुन नसक्ने राजावादीकै कारण पुर्वराजा ज्ञानेन्द्र शाह थप खतरामा पर्ने त्रास राजावादीमै देखिन थालेको छ ।