News 24 Television
प्रचण्डका आरोप : पूर्वराजा ज्ञानेन्द्र भाइमारा, चोरदेखि भिलेनसम्म !

काठमाडाैँ । राजतन्त्रको पक्षमा चलेको हावा र गणतन्त्रको रक्षाको विषय संवेदनशील बन्न लागेको भन्न थालिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आक्रामक रुपमा पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध आक्रोश मात्रै पोखिरहेका छैनन्, कांग्रेस एमालेमाथि आशंका समेत गरिरहेका छन् । किन यस्तो हुँदैछ त ? 

माओवादी गणतन्त्रको हिस्सेदार भएको दाबी नेपालको राजनीतिमा लुकेको विषय छैन् । माओवादीको १० वर्षे युद्ध र राजदरबार नरसंहारकै कारण नेपालमा गणतन्त्रको स्थापना भएको चर्चा चल्ने गरेको छ । यस्तोमा प्रचण्ड पूर्वराजा ज्ञानेन्द्र शाहप्रतिका आक्रोश र भिलेनको संज्ञा दिनेमा अग्रपंक्तिमा देखिन्छन् । उनले हरेकदिन जस्तो ज्ञानेन्द्र, राजतन्त्र र इतिहासबारेका निर्मम टिप्पणी गरिरहेका छन् । 

यसरी पूर्वराजा र राजतन्त्रविरुद्ध आक्रामक रहेका प्रचण्डले किन अनेक आण्दोलनदेखि प्रतिरोधको विषय उछालिरहेका छन्  ? यो विषय आम चासोमा देखिन्छ । यता, प्रचण्डले कांग्रेस एमालेले गणतन्त्रको रक्षा गर्लान भन्ने शंका गरिरहेका छन भने गणतन्त्रको रक्षाका लागि माओवादी केन्द्र गम्भीर बन्नुपर्ने जिम्मेवारी आइलागेको पनि भनिरहेका छन् । 

प्रचण्डले यस्तो दाबी गर्ने गरेपनि सत्तारुढ दल नेकपा एमालेले पनि सचिवालय बैठकबाटै राजतन्त्र वा वंशीय शासनको वकालत हास्यास्पद र वेतुकको भन्दै राजतन्त्रको पक्षमा हुने सबै गतिविधिलाई अस्वीकार गर्ने प्रस्ताव नै पारित गरेको छ । 

गणतन्त्रवादी दलहरुले राजतन्त्रको पक्षमा जनमत सिर्जना हुन नसक्ने प्रष्ट दाबी त गरिरहेका छन् । तर, यो या त्यो किसिमले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो सक्रियता भने बढाएकै छन् । यस्तोमा राजावादी दलहरु पनि हौसिएका छन् । आन्दोलनबाट ज्ञानेन्द्रलाई पदस्थापन गराउने दाबी गरिरहेका छन् । 

प्रचण्ड किन चिढिए ?

गणतन्त्रको स्थापना प्रचण्ड र माओवादी कै कारण भएको राजावादीदेखि अन्य दल र नेताहरुले भन्ने गरेका छन् । नेपालमा गणतन्त्रको स्थापना माओवादी युद्धको रापताप र युद्ध सेटलमेन्टको एउटा चरण भएको भन्ने गरिन्छ । तर, गणतन्त्रको स्थापनापछि दल र नेताहरुले यसलाई सुदृढ गर्नुपर्ने आवाज उठाइरहे पनि काम गरेका छैनन् । गणतन्त्र र संविधानको रक्षाको सवालमा कांग्रेसले पनि आवाज उठान थालेको छ । गणतन्त्रको सुन्दर पक्ष भनिने संघीयताको विपक्षमा उठ्ने गरेका आवाजलाई परास्त पार्दै कांग्रेसले पनि राजनीतिक स्पेसका पाइला अघि बढाएको छ । 

गणतन्त्र जसका कारणले स्थापना भएपनि यसको रक्षा र राजनीतिक दलबीचको प्रतिष्पर्धाबाटै शासन सञ्चालन हुनुपर्ने आवाज बलिया देखिन्छन् । तर, गणतन्त्रको चुनौतिले कसैलाई सबैभन्दा ठूलो धक्का लाग्यो भने त्यो प्रचण्डलाई नै लाग्ने चर्चा चलिरहेको छ । यसको यथार्थ पनि यस्तै देखिएका कारण प्रचण्ड राजावादी सक्रियतापछि चिढचिढाहटमा देखिन्छन् । 

कतिपय टिप्पणी असभ्य लाग्ने गरि समेत दिन थालेका छन् । यस्तो स्थितिमा गणतन्त्र पक्षधर सम्हालिएलान् कि थप आक्रोश पोख्ने नाममा बहुलठ्ठी देखाएर ज्ञानेन्द्रलाई सत्तारोहणको सहज परिस्थिति सिर्जना गरिदेलान ? योे चासोमा रहेको विषय बनेको छ । प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई भिलेन भन्दै उनको आवश्यकता पर्ने र उनकै कारण गणतन्त्रवादीहरु सचेत बन्ने दाबी गरेका छन् । तर, यस्तो एकहोरो रटानको सट्टा हिरो बन्ने बाटोतर्फ को जाला ? यो समेत चर्चाको विषय बन्ने देखिन्छ । 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update