News 24 Television
स्ववियुको नाममा दलहरुले  क्याम्पसमा ताण्डव देखाए : सांसद श्रेष्ठ

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राजनीतिक दलहरुले स्वतन्त्र विद्यार्थी युनियनको नाममा क्याम्पसहरुमा ताण्डव देखाएको टिप्पणी गरेकी छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।

आफ्नो गुटलाई बलियो बनाउन तथा पद हत्याउनका लागि विद्यार्थीको दुरुपयोग गरिएको उनकाे भनाइ छ । क्याम्पसहरुमा महिनादिनदेखि ताला लगाउँदा विद्यार्थीले पढ्न नपाएको भन्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराइन् । विद्यार्थीको पढ्न पाउने हक सुनिश्चित गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘स्ववियुको नाममा क्याम्पसहरुमा दलहरुको ताण्डव भइरहेको छ । यो के भएको ? आफ्नो गुट,उपगुटलाई बचाउन महामन्त्री सभापति बन्न विद्यार्थीहरुको दुरुपयोग भइरहेको छ सभामुख महोदय । विद्यालयमा तालाबन्दी गरिएको छ । विद्यार्थीहरुले पढ्न नपाएको एक महिना भयो । म यसमा प्रधानमन्त्रीज्युको ध्यानाकर्षण गराउँछु । विद्यार्थीहरुको पढ्ने हक सुनिश्चित गरियोस् ।’

मधेस प्रदेशमा माध्यमिक शिक्षा परीक्षालाई व्यवस्थित बनाउने सवालमा शिक्षामन्त्रीले गृह र गृहमन्त्रीले शिक्षा मन्त्रीलाई देखाएर पन्छिन खोजेको आरोप समेत उनले लगाएकी छन् ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update