News 24 Television
आरआर क्याम्पसमा मध्यारातमा तालाबन्दी, निर्वाचन रोकिएपछि चर्कियो विरोध

काठमाडौँ । त्रिवि अन्तरगतको रत्नराज्यलक्ष्मी (आरआर) क्यामपसमा विद्यार्थी समूहकै विवादका कारण स्ववियु निर्वाचन स्थगित भएको छ । आज (मंगलबार) हुने भएको मतदानको सबै तयारी पूरा भएर पनि तालाबन्दीका कारण अन्तिम चरणमा निर्वाचन स्थगित भएको छ ।

सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले गएराति मध्यरातमा क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि मतदान स्थगित गरिएको हो । निर्वाचन समिति संयोजक महेश भट्टराई र क्याम्पस प्रमुख डा. पद्मकुमार अधिकारीले एक सूचना जारी गर्दै निर्वाचन स्थगित भएको बताएका छन् । सरोकारवाला सबै पक्षसँग छलफल गरेर मात्र अर्को निर्वाचन मिति तोक्ने उनीहरुको सूचनामा उल्लेख छ ।

RR-Notice-1742284015.jpg
 

यसैबीच, अन्तिम तयारीमा स्ववियु निर्वाचन स्थगित गरिएपछि तीन विद्यार्थी संगठनले संयुक्त विज्ञप्ती निकाल्दै खेद व्यक्त गरेका छन् । सत्ताको दम्भको पराकाष्ठाका रुपमा मध्यरातमा तालाबन्दी गरिएको भन्दै अखिल क्रान्तिकारी, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र अखिल समाजवादीले तालाबन्दीको विरोध गरेका हुन् । ‘सत्तारूढ दुई प्रमुख दलनिकट विद्यार्थी संगठनहरूले संयुक्त रूपमा मञ्चन गरेको यो नाटक राजनीतिक नैतिकताविहीनताको चरम उदाहरण हो,’ उनीहरुको भनाइ छ ।

निर्वाचन प्रक्रिया निष्पक्ष बनाउनुपर्नेमा फर्जी परिचयपत्र निर्माण तथा प्रशासनबाट मतदाता डाटाको चुहावटजस्ता गम्भीर अनियमितता भएको विद्यार्थी संगठनहरुको आरोप छ । सोही आरोपमा सत्तारुढ दलका विद्यार्थी संगठनले तालाबन्दी गरेपछि अन्य संगठनले विरोध जनाएका छन् । तीन विद्यार्थी संगठनको विज्ञप्तीमा भनिएको छ, ‘स्वतन्त्र, निष्पक्ष र स्वच्छ निर्वाचनमार्फत आफ्ना प्रतिनिधि छान्न पाउने विद्यार्थीको अधिकार सुनिश्चित गर्न क्याम्पस प्रशासन र निर्वाचन समितिसँग हामी जोडदार माग गर्दछौं ।’

14ebce24-f9c6-4b7c-b868-f6885b68a19d-1742284050.jpg
 

काङ्ग्रेस निकट नेवि संघ आन्तरिक रुपमा अनेरास्ववियुसँगै मिलेर तालाबन्दी गरेको अखिल क्रान्तिकारीको आरोप छ । तर तालाबन्दीका कारण निर्वाचन स्थगित भएको भन्दै नेवि संघले पनि मंगलबार तालाबन्दीकाे विरोधमा समेत साथ दिएको देखिन्छ । 

नाटकीय हिसाबले मध्यरातमा तालाबन्दी गरेर निर्वाचन स्थगित गर्न बाध्य बनाएपछि स्ववियु निर्वाचनका पक्षधर विद्यार्थी र उम्मेदवारले आरआर क्याम्पसबाहिर विरोधस्वरुप मतदान गरेका छन् । निर्वाचन यथाशीघ्र गराउन माग गर्दै सांकेतिक विरोधस्वरुप गेट अगाडि सडकमा नै मतपेटिका राखेर नमुना मतदान गरेको स्ववियुका उम्मेदवार संगम राईको भनाइ छ । तालाबन्दीपछि आरआर क्याम्पस गेटमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । 

RR--1742284014.jpg

3c6d6551-88bd-453b-a5a1-1aacd4fc5a9a-1742284038.jpg

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update