News 24 Television
राजावादी चम्किँदा गणतन्त्रवादी रक्षात्मक अस्त्र खोज्दै 

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र राजावादी समूहमा देखिएको तीब्र गतिविधिले राजनीतिक दल र नेताहरु पनि शंकाको घेरामा परेका छ्न । राजनीतिक परिवर्तनले मात्रै जनताले लामो समय कुर्न नसक्ने भन्दै उनीहरुले सेवा प्रवाह र गलत विषयको चिरफार गर्नपर्नेमा जोड दिएका छन् । 

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको नेतृत्व लिने बेला आएको भन्दै आफूलाई साथ दिन अपिल गरे । पूर्वराजाले गरेको यो अपिलपछि दलका नेताहरुले विभिन्न प्रतिक्रिया दिए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले त ज्ञानेन्द्र शाहलााइ भाइमारा र मुर्ति चोरको आरोप नै लगाए । तर सत्तारुढ दलहरुले विरोध गरेपनि यसको संगठित प्रतिवादको निर्णय गरिसकेको देखिन्न । यस्तोमा संसदमा भने पूर्वराजाको सक्रियता र गतिविधिलाई लिएर गम्भिर बन्नुपर्ने, गणतन्त्रवादीहरु एकताबद्ध हुनुपर्ने आवाजहरु उठ्न थालेका छन् । 

कांग्रेस सांसद सिटौलाले जस्तै माओवादी केन्द्रले पनि अहिलेको व्यवस्थाको विकल्प राजतन्त्र हुनै नसक्ने भएपनि जनताले सेवा प्रवाहदेखि विभिन्न काममा सरकारको प्रत्याभूति गराउन नसक्दा जनताले सयौं राजा भन्दा एउटा राजा पाल्नु ठीक भन्ने भ्रम पाल्ने त होइनन् भन्दै चिन्ता व्यक्त गरेको देखिन्छ । 

कांग्रेस माओवादीले राष्ट्रियसभाबाट एकस्वर गरेका छन् । पूर्वराजालाई निषेध गर्नुपर्नेमा उनीहरुको मत मिल्ने देखिन्छ भने गणतन्त्रवादीहरुले राजतन्त्रको पक्षमा उठेका आवाजबारे समेत अनेक प्रश्न गर्न थालिएको छ । 

सहमति र सहकार्यको चर्चा

पूर्वराजाको सक्रियतामा सरकारको कार्यसम्पादनलाई नै कारण मानिएको छ । प्रतिपक्षी दलले यो भाष्य स्थापित गर्न ठूलो बलप्रयोग गरिरहेको छ । अहिले प्रतिपक्षी दलहरु एमाले अध्यक्ष केपी ओलीलाई सरकारबाट बाहिर ल्याउने प्रयास गरिरहेको स्थिति छ । यता, कांग्रेस पनि उपर्युक्त स्थितिको पर्खाईमै देखिन्छ । 

सरकारको नेतृत्व लिने सहज परिस्थितिको पर्खाईमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पदाधिकारीलाई बोलाएर पछिल्लो राजनीतिक विषयमा छलफल गरेका छन् । यो छलफलमा गणतन्त्रवादी दल र समूहबीचको सहकार्यलाई जोड दिने विषयमा कुराकानी भएको बताइएको छ । यता, माओवादी केन्द्रले पनि गणतन्त्रवादी दलहरु मिल्नुपर्ने भन्दै कांग्रेसलाई सरकारको नेतृत्व दिएर ओलीमाथिको रिस पोख्ने वातावरणको खोजि गरिरहेको छ । दृश्यमा पूर्वराजा ज्ञानेन्द्रको अनुहार भएपनि दाउपेचको राजनीतिकै कारण सरकारमाथि फेरि हलचलको संकेतहरु देखा पर्ने स्थिति आउने त होइन भन्ने चर्चा चलिरहेको छ । 

यता, एमाले पनि परिस्थितिको मूल्यांकनमा जुटेको छ । एमालेले अहिलेको समग्र परिस्थितिलाई केन्द्रमा राख्दै रणनीति बनाइरहेको बुझिएको छ । तर, एमालेले सरकार तत्काल परिवर्तनको सम्भावना नरहेको बताएको छ । 

यद्यपी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवा र ओलीसँग गणतन्त्रवादी दलहरु मिलेर काम गर्नुपर्नेमा जोड दिएको बताइन्छ । अहिले भित्रि रुपमा राजनीतिक भेटघाट र क्रियाकलाप समेत बढेको देखिन्छ । प्रधानमन्त्री केपी ओलीका विज्ञ सल्लाहकार समेत रहेका पूर्वकानूनमन्त्री अग्नि खरेलले केहि समय पहिले प्रचण्ड निवास खुमलटारमा छलफल गरेको बताइन्छ भने दोश्रो तेश्रो तहका नेताहरुले समेत यस्ता छलफलहरु जारी राखेका छन् । माओवादीबाट कांग्रेस एमालेसँग नियमित सम्बाद चलिरहेपनि कांग्रेससँगको छलफल भने धेरै अघि बढिसकेको बताइन्छ ।

ज्ञानेन्द्रकै कारण राजनीतिमा अर्को प्रयास

पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतालाई लिएर सत्ता समिकरण फेरिने संकेतहरु देखा पर्न थालेका छन् । भुराजनीतिक हिसाबले समेत भारतले ओली नेतृत्वको सरकारलाई नदिएको भाउ र सरकार फेर्न परिरहेको दबाबमा पूर्वराजा कारण बन्न सक्ने चर्चा चल्न थालेको छ । गणतन्त्रवादीहरु मिल्ने, विस्तृत शान्ति सम्झौताका मुख्य हिस्सेदारको समझदारी लगायतका विषयलाई लेप लगाएर सरकार ढाल्ने खेल शुरु भएको दाबी गर्न थालिएको छ । सरकार ढाल्नका लागि ज्ञानेन्द्र शाहको सत्ता आशक्तिले काम गर्ने चर्चा चलिरहेको बेला राजनीतिक रुपमा समेत चलखेल र भेटवार्ताहरु तीब्र बन्न पुगेका छन् । 

 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update