News 24 Television
लोकसेवामा हद लगाउँदा राजनीतिमा फुक्काफाल, चुनाव कतिपटक लड्न पाउने ?

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्नेगरी कानूनी व्यवस्था गर्नु गलत भएको बताएका छन् । लोकसेवामा हद लगाउँदा राजनीतिमा भने किन फुक्काफाल भन्दै उनले राजनीतिमा पनि चुनाव कतिपटक लड्न पाउने भन्नेबारे व्यवस्था गर्न माग गरे ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सांसद ज्वालाले कुनै पनि नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरित भएको बताए । संसदले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानून बनाउन लागेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको छ ।

पूर्व मन्त्री समेत रहेका सांसद ज्वालाले सरकारले रोजगारीको विकल्प पनि नदिने र लाेकसेवा परीक्षामा प्रतिष्पर्धा गर्न पनि रोक्नु मौलिक अधिकारबाट वञ्चितीकरणा भएको बताए । उनले लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनुपर्ने माग राखे । लोक सेवाको परीक्षामा बहस गर्ने नभई राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री कतिपटक हुन पाउने भन्ने विषयमा बहस गर्नु जरुरी रहेको उनकाे भनाइ छ ।

ज्वालाले भने, ‘लोकसेवामा ६ पटकभन्दा बढी परिक्षा दिन निषेध गर्नेगरी कानूनी व्यवस्था गरिँदैछ भने त्यो गलत छ । कुनै नागरिकलाई परिक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरित छ । यसरि परिक्षाबाट नै वञ्चित गर्नु नेपाली युवाहरुलाई अझ बढी खाडि र मलेसियारतिर धकेल्नु हो । सरकारले रोजगारीको विकल्प पनि नदिने परीक्षामा प्रतिष्पर्धा गर्न पनि रोक्ने, मौलिक अधिकारबाट वञ्चित गर्नु हो । त्यसकारण लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनु पर्दछ । राजनीतिक नियुक्ति कति पटक खान पाउने, चुनाव कति पटक लड्न पाउने र राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री कति पटक हुन पाउने विषयमा बहस गरौं ।’

उनले राजनीतिक नियुक्ति र चुनाव कतिपटक लड्न पाउने, मन्त्री कतिपटक बन्न पाउने भन्ने विषयमा बहस गर्नुपर्ने बताएका छन् । 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update