
काठमाडौं । नेपालमा २०१८ सालमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको थियो । विद्यार्थीको हकहितका लागि भन्दै स्थापना गरिएको स्ववियु विभिन्न उतारचढावका बीच अहिलेसम्म आइपुगेको छ । तर पछिल्लो समयमा नेपालका विश्वविद्यालय र उच्च शिक्षाको महत्व कमजोर बनेको छ । उच्च शिक्षाका लागि भन्दै युवाहरु विदेशिने क्रम उच्च रहँदा विश्वविद्यालय र कलेजहरु रित्तिदै गएका छन् । यो अवस्थालाई भने स्ववियुले आफ्नो एजेण्डा बनाउन सकिरहेको छैन ।
नेपालकै पुरानो त्रिभुवन विश्वविद्यालयको अवस्था पछिल्लो समय नाजुक बन्दै गएको छ । विश्वविद्यालयको उपकुलपतिदेखि विभिन्न पदहरुमा योग्यता भन्दा भागबण्डाको आधारमा नियुक्ति गर्ने प्रवृत्ति बढेको छ । योग्यताका आधारमा नियुक्त गर्ने सरकारको प्रतिवद्धता सरकारले नै कार्यान्वयन गरेको देखिदैन । विश्वविद्यालय राजनीतिक अखडा बनिरहेका छन् ।
तालाबन्दी र हड्ताल विश्वविद्यालयको दैनिकीजस्तै बनिरहेको छ । जसका कारण विद्यार्थीहरुको पलायन हुने क्रम बढिरहेको छ । तर विश्वविद्यालय उत्थान र विद्यार्थीहरुको हकहितका लागि स्थापना गरिएको स्वतन्त्र विद्यार्थी युनियन भने यस विषयमा गम्भीर बन्न सकेको छैन । यहि चैत ५ गते त्रिभुवन विश्वविद्यालय र आंगिक तथा सम्बन्धन प्राप्त एक हजार बढी क्याम्पसमा स्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । तर यो निर्वाचनमा पनि विद्यार्थी नेताहरुले यसको गाम्भीयर्तालाई उठाउन सकेका छैनन् ।
हुनत विद्यार्थी हकहितका लागि स्ववियु स्थापना गरिए पनि पञ्चायतकालमा पञ्चायती ब्यवस्था विरोधी आन्दोलन र ४६ सालपछि पनि विद्यार्थी मुद्दा भन्दा राजनीति गतिविधिमै केन्द्रित रहेको थियो ।
विश्वविद्यालय राजनीतिक अखडा बनिरहँदा विद्यार्थी पलायन पछिल्लो समय डरलाग्दो किसिमले बढिरहेको छ । तर पनि विद्यार्थी संगठनहरुलाई अहिले पनि राजनीतिक अखडा मात्रै बनाउने ध्याउन्नमा छन् । त्यसैले स्ववियुको भूमिकाबारे संसदमा समेत आवाज उठ्न थालेको छ ।
राजनीतिक दलको घेराबन्दीमा स्ववियु
त्रिभुवन विश्वविद्यालयको ६२ वटा आंगिक क्याम्पस छन् । केन्द्रीय क्याम्पससहित आंगिक र त्रिविको सम्बन्धन प्राप्त एक हजार बढी क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गरिए पनि स्ववियु निर्वाचन राजनीतिक दलहरुको घेराबन्दीमा परेका छन् ।
राजनीतिक दल तथा दलभित्रका गुटउपगुटको लडाईँका कारण डेढ दर्जन बढी क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया विथोलिएको छ । खासगरी नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्रको गुटगत लडाईका कारण काठमाडौं उपत्यका भित्रका ८ र उपत्यका बाहिरका १० गरी १८ क्याम्पसमा निर्वाचन बिथोलिएको छ ।
निर्वाचन प्रक्रिया रोकिएको क्याम्पसहरुः
- त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुर
- सरस्वती बहुमुखी क्याम्पस, ठमेल
- नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग, काठमाडौं
- विश्वभाषा क्याम्पस, काठमाडौं
- त्रिचन्द्र बहुमुखी क्याम्पस, काठमाडौं
- पद्मकन्या क्याम्पस बागबजार, काठमाडौं
- पब्लिक युथ क्याम्पस, काठमाडौं
- र, शंकरदेव क्याम्पस, काठमाडौं
यस्तै, उपत्यकाबाहिर उपत्यका बाहिर पनि १० वटा आंगिक क्याम्पस र सम्बन्धन प्राप्त कजेलहरुमा निर्वाचन प्रक्रिया रोकिएको छ ।
- मेची बहुमुखी क्याम्पस,
- महेन्द्र मोरङ क्याम्पस विराटनगर
- डिग्री क्याम्पस विराटनगर,
- सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर,
- सुर्खेत शिक्षा क्याम्पस सुर्खेत,
- कृषि क्याम्पस पक्लिहवा,
- भैरहवा बहुमुखी क्याम्पस,
- बुटवल बहुमुखी क्याम्पस,
- रारा बहुमुखी क्याम्पस जनकपुर
- पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा
को निर्वाचन प्रक्रिया रोकिएको छ । यी बाहेक त्रिविको सम्बन्ध प्राप्त अन्य दर्जनौं क्याम्पसहरुको पनि निर्वाचन प्रक्रिया स्थगित भएको छ ।
केन्द्रीय क्याम्पसमा संयोजककै राजीनामा माग
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा विद्यार्थी संगठनहरुकै कारण निर्वाचन प्रक्रिया विथोलिएको छ । तर तिनै विद्यार्थी संगठनहरु भने निर्वाचन समितिको अर्कमन्यताको कारण जनाउँदै निर्वाचन समिति संयोजकको राजीनामा माग गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन संयोजक प्राडा कृष्णप्रसाद न्यौपानेको राजीनामा माग गरेका छन् । नेविसंघ त्रिवि सभापति विष्णु बडैला समूहले त्रिवि केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका छन् ।
त्रिभुनव विश्वविद्यालय विद्यार्थी संगठनहरुको राजनीतिक अखडा बनेको भन्दै आलोचना भइरहँदा यिनै विद्यार्थी संगठनहरुले जसरी पनि स्ववियु कब्जा गर्ने योजनाका साथ निर्वाचन प्रक्रियासमेत अवरुद्ध गरेका छन् ।
चरम विसंगति र बेथितिका कारण विद्यार्थीसमेत पाउन नसक्ने अवस्थामा पुगेको विश्वविद्यालयमा राजनीति नै गर्नका लागि विद्यार्थीहरु आवश्यक पर्छ । विश्वविद्यालय र कलेजहरुले विद्यार्थी नै पाउन नसक्ने र शैक्षिक संस्था नै बन्द गर्नुपर्ने अवस्था आयो भने कसका लागि राजनीतिक गर्ने ? त्यसैले विद्यार्थी संगठनहरु विश्वविद्यालयको सुधार गरी विद्यार्थी आकर्षित गर्ने बाटोतर्फ एकताबद्ध भई अघि बढ्न जरुरी छ ।