
लमजुङ । बाह्रै महिना चिसो मौसम रहने लमजुङको घलेगाउँ नेपालकै नमूना गाउँले परिचित छ । आन्तरिक पर्यटकले प्राय सधै भरिभराउ रहने यो घलेगाउँमा यहाँको अतिथि सत्कार, प्राकृतिक सौन्दर्य, मौलिक भेषभुषा, कला, संस्कृति तथा गाउँको रमणीय दृष्य देख्दा जो कोहिको मन लोभिने गर्छ । यहाँ दिइने कोदोको रोटी, गुन्द्रुक, ढिँडो तथा स्थानीय परिकारले पर्यटकलाई झनै आकर्षित गरिरहेको छ ।
घलेगाउँ, यो नामै सुन्दा धेरैको मन लोभिने गर्छ । बाहै महिना चिसो मौसम, शान्त, सौन्दर्यले सुसज्जित, प्रकृतिको अनुपम स्पर्श घलेगाउँको विशेषता हो । नेपालको पहिलो ‘स्मार्ट भिलेज’ को रुपमा चिनिएको लमजुङको घलेगाउँ पर्यटकको पहिलो रोजाईमा पर्ने गरेको छ ।
नमूना गाउँले पनि परिचित घलेगाउँ गण्डकी प्रदेशअन्र्तगत लमजुङको क्वहोलासोथार गाउँपालिकामा पर्दछ । क्व्होलासोथारको अर्थ आदिमथलो हो, अर्थात् गुरूङ र घले जातिहरूको पुर्खाको थलो । बाह्रै महिना चिसो मौसम रहने यस गाउँका रंगिन टिनका छाना र ढुङ्गा बिच्छ्इएका बाटाहरूले गाउँको सौन्दर्यमा थप आकर्षक बनाएको छ ।
यहाँको पुख्र्यौली लवज, आफ्नै भेषभूषा, प्राकृतिक सौन्दर्य, मौलिक कला–संस्कृति तथा स्थानीय परिकारले पर्यटकको मन लोभ्याउने गरेको छ । पर्यटकलाई आकर्षण गर्न र व्यवस्थापन गर्न यहाँ २०५७ सालदेखि होमस्टे सञ्चालनमा छ । शुरुमा १२ वटा घरबाट सञ्चालनमा आएको होमस्टे अहिले ४५ घरमा फैलिएको छ ।
पर्यटकको सत्कार सँगसँगै घरबास अर्थात् होमस्टेमा आफ्ना कला, भेषभूषा, संस्कार, संस्कृति जोगाइराख्न यहाँका स्थानीय एकजुट भएको देखिन्छ । यो गाउँ प्राकृतिक सौन्दर्यका साथै मौलिक कला, परम्परा र सांस्कृतिक पक्षले पनि उत्तिक्कै धनी छ । सुनेको र सोचेको भन्दा पनि धेरै राम्रो पाएको, साथै यहाँको परिकारले मनै लोभ्याएकोे पर्यटकको अनुभव छ ।
घलेगाउँको प्रमुख आयश्रोत नै पर्यटन व्यवसाय हो । होमस्टेमा आफ्ना कला संस्कृति जोगाइराख्न जुटेका गुरूङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुटका, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरि गाउँमा पुगेका पर्यटकहरूलाई स्वागत गर्ने गरिन्छ ।
पर्यटकलाई आकर्षित गर्ने मुख्य कुरा नै यहाँको कला संस्कृति हो, तर पछिल्लो समय यसको संरक्षण हुन सकेको छैन । विस्तारै सहरीकरणको चपेटामा पर्दै गएको घलेगाउँमा त्यहाँको मौलिक कला संस्कृति लोप हुने सम्भावना पनि उत्तीकै बढेको छ ।
पृथ्वी राजमार्गको डुम्रेबाट ४२ किलोमिटर लमजुङको सदरमुकाम बेसीशहर पुगे पछि २६ किलोमिटरको यात्रामा घलेगाउँ पुग्न सकिन्छ । १२० घरधुरी रहेको घलेगाउँमा विदेशीभन्दा आन्तरिक पर्यटक बढी पुग्ने गरेका छन् । पर्यटकलाई धेरै भन्दा धेरै आकर्षित गर्न लोपोन्मुख अवस्थामा रहेको यहाँको मौलिक कला संस्कृति, भेषभुषा तथा परिवेशलाई संरक्षण गर्नुपर्ने आवश्यक देखिएको छ ।