News 24 Television
धमिलो पानीमा पूर्वराजाको जाल ! नेताहरुको यस्तो बेहाल !

काठमाडौं । राजनीतिक रुपमा चलेका विवाद र तनावले मुलुकको स्थिति कस्तो बन्ला ? त्यसमाथि अहिले त संकटहरु नजिकिदै गएको भन्न थालिएको छ । राजनीतिक दलहरुले देखाउने प्रवृत्ति र अपारदर्शी शैलीका कारण समस्या थपिएको आवाज चर्को बन्दैछन् । यतिमात्रै नभई राजनीतिक शक्ति बढाउने नाममा चलेका अनेक राजनीतिक दाबीले नागरिकमा निराशा बढिरहेको छ । 

राजतन्त्रको पक्षमा होस वा गणतन्त्रको पक्षमा नै, नागरिकले यसको विवेचना स्वतन्त्र ढंगले गर्ने गरिरहेका छन् । तर, पछिल्लो समय अनेक राजनीतिक उतारचढावहरु छरपष्ट हुन थालेका छन् । यस्तो स्थितिमा अहिले राजतन्त्रको पक्षमा देखिने आवाज र विपक्षमा देखिने आवाजमा अनेकता झल्किन्छ । यहि परिवेशमा अहिले एकजना धार्मिक गुरु हुँ भन्ने व्यक्तिले राजा तत्काल आउन सक्ने सम्भावना रहेको भनेका छन् । 

उनले राजा फर्किने भन्दै गर्दा हिन्दु धर्मसँग आस्था राख्ने नागरिकलाई समेट्न खोजिएको देखिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दु राष्ट्रको माग राखिरहेको पार्टी पनि हो । यस्तोमा राजा र धर्मलाई संगै लिएर राजनीतिक रोटी सेक्ने प्रयासको रुपमा कालीदास बाबा प्रयोग त भएनन् ? धेरैले शंकाको दृष्टीले हेरेका छन् । 

यस्तो स्थितिमा प्रतिपक्षले भनिरहेको छ, सरकारको अकर्मण्यताका कारण अहिलेको स्थिति सिर्जना भयो । यसमा माओवादी केन्द्रदेखि अन्य प्रतिपक्षी दलहरुले प्रष्ट भन्ने गरेका छन् । यी तथ्यलाई मलजल गर्ने गरि सरकारले समेत कार्यसम्पादनदेखि अर्थतन्त्रको विकासको काममा उल्लेख्य छलाङ मार्ने स्थिति पनि देखिन्न । अर्थमन्त्रीले नै राजश्वले खर्च धान्न नसक्ने विषयलाई स्वीकार गरेको अवस्थामा छ देश अहिले । 

सरकारले तथ्याङ्कमा छलाङ मार्ने गरि काम गर्न सकेको देखिन्न । मन्त्रीहरुको कमजोर कार्यसम्पादन र क्षमतामाथिका प्रश्न संसदमै उठेका छन् । मन्त्री फेर्नुपर्ने आवाज संसदमै उठेको छ ।

राजनीतिक रुपमा देखिएका मतभेद सत्तासँगै जोडिएका छन् । आफू सत्तामा हुँदा सबै ठिक, प्रतिपक्षमा पुगेपछि सबै बेठिक भन्ने राजनीतिक संस्कारले मुलुक ग्रस्त बन्न पुगेको छ भने राजनीतिक दलले विश्वास गुमाउदै गएका छन् । राजतन्त्रको विपक्षमा रहेकाले पूर्वराजा ज्ञानेन्द्र शाहका अनेक कर्तुत भन्दै सार्वजनिक रुपमा बोलिरहेका छन् भने राजतन्त्र फर्किन नसक्ने दाबी समेत गरिरहेका छन् । 

गणतन्त्रवादी दलहरुले राजतन्त्रको विपक्षमा वकालत गर्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा ल्याउने दाबीमा लत्तो छाड्न थालेको छ । आफैले मत हालेर प्रधानमन्त्री बनाएको विषयमा राप्रपाले प्रतिक्रिया दिन्न तर, राप्रपाले प्रचण्डमाथि अहिले रोचक प्रतिक्रिया दिन थालेको छ । 

राप्रपाका नेता शाहीले अहिले प्रजातन्त्रको पक्षमा वकालत गर्दै प्रधानमन्त्री, राष्ट्रपतिलाई जनताले भोट हालेका हुन् ? भन्दै भद्दा प्रश्न गरिरहेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको निर्वाचन प्रतिनिधिसभा सदस्यको मतदानमार्फत हुने विषयलाई राप्रपाले गलत अर्थ लगाउन खोजिरहेको देखिन्छ । 

राजनीतिक रुपमा लिइने यस्ता दाबीमा कति सत्यता छ ? के उनीहरुले साँच्चिकै जनताको पक्षमा यस्तो अभिव्यक्ति दिएका हुन् ? जनताले विश्वास गर्ने वातावरण बन्न सकेको छैन् । सत्ता केन्द्रित राजनीतिका कारण अहिले मुलुकको राजनीतिमा अनेक संकटमा विषयहरु देखा पर्न थालेको पाइन्छ ।

राजनीतिमा धर्मको चाल 

राजा भर्सेस गणतन्त्रको पक्षमा चलिरहेको जुहारी अब धार्मिक द्वन्द्धतर्फ जाने त होइन ? शंका र डर देखिन्छ । राजतन्त्रको पक्षमा लाग्ने नारा जुलुसमा धार्मिक अवस्थिति मिसाउने प्रयास तिब्रत्तर गतिमा अघि बढ्न थालेका छन् । हिन्दु बाहुल्य नेपालमा धार्मिक द्वन्द्ध सिर्जना गर्दै राजतन्त्रको पक्षमा माहोल सिर्जना गर्ने रहर पाल्न थालेको देखिन्छ । 

यस्तोमा एक पक्षले राजतन्त्रको पक्षमा उभार सिर्जना गर्ने भनेको विषयलाई राज्यले कसरी लिन्छ भन्ने विषय चासोमा देखिन्छ । राजनीति र धर्मको एकसाथ बहस चल्दै गर्दा त्यसमा थप मसला थप्ने काम गरिरहेका धार्मिक अभियन्ताहरु छन् । जसले मध्ये अहिले चर्चित पात्र हुन् बाबा कालीदास भनिने कालीदास दाहाल । 

को हुन् कालीदास ?

आफुलाई धार्मिक अभियन्ताका रुपमा परिचित गराउदै आएका राजावादी राजनीतिक छवि बोकेका बाबा कालीदास भनिने कालीदास दाहालले पुनः आफ्नो सक्रियता बढाएका छन् । राजावादीहरु सक्रिय भएका समय उनले पनि यसै सक्रियतालाई मलजल गर्नेतर्फ अग्रसरता देखाएका हुन् । प्राय केहि न केहि उट्पट्ङ् गरेर चर्चामा रहने बाबा कालीदास भनिने व्यक्तिको पूर्वराजा ज्ञानेन्द्रको सम्बन्ध के हो त ? 

यिनको असली विगत  के हो ? यसबारे पनि जनचासो देखिन्छ । बाबा कालीदास भनिने यिनको नाम कालीदास दाहाल हो । कालीदासको धार्मिक नाम कालीदास बाबा र स्वामी १००८ कृष्णानन्दजी महाराज रहेको भनिन्छ ।  कालीदास भारतको दिल्लीमा बस्ने गर्छन् । यिनको जन्म ओखलढुंगा जिल्लामा भएको हो । 

भारत गएर उनले तान्त्रिक विद्या सिकेको र धार्मिक ज्ञाताको रुपमा नयाँ परिचय बनाएको भनि प्रचार हुने गरेको छ । तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा राजाका शत्रु विनास गराइदिने भन्दै राजालाई भ्रममा पारेर सुकेका खोर्सानी मगाई ध्यू र खोर्सानीको सातदिन यज्ञ गराउने यिनी कालीबाबा थिए । 

नागार्जुन दरवारका त्यसरी खोर्सानीको यज्ञ लगाएको केही समयपछि राजा ज्ञानेन्द्रको सत्ता ढलेको थियो । त्यसपछि धेरै समय नेपाल नै नटेकेका यी राजनीतिक बाबा केही बर्षदेखि बेला बेला नेपाल झुल्कने र उट्पट्याङ काम गरेर भारत फर्किने गरेका छन् । 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update