
काठमाडौं । नेपालमा डिजिटल बैंकिङको प्रयोग तीव्र रूपमा बढिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ६१ प्रतिशतभन्दा बढी जनसंख्यामा इन्टरनेट पहुँच पुगेको छ भने मोबाइल बैंकिङ, अनलाइन भुक्तानी र डिजिटल वालेटको प्रयोग पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । तर, योसँगै साइबर सुरक्षा र ठगीका घटनाहरू पनि बढ्दै गएका छन् । धेरै कारणले नेपालमा अझै पनि डिजिटल बैंकिङ सुरक्षा जोखिमपूर्ण नै छ ।
नेपालमा डिजिटल बैंकिङ सुरक्षाको अवस्था सन्तोषजनक छैन । अध्ययनले नेपालका ठूला बैंकहरूको प्रणाली साइबर जोखिममा रहेको देखाएको छ । गत वर्ष टर्कीको ह्याकर समूहले सानिमा बैंक र युनिभर्सल डेभलपमेन्ट बैंकका संवेदनशील डाटा ह्याक गरी अनलाइनमा सार्वजनिक गरेको घटनाले यो कमजोरी उजागर गरेको थियो ।
धेरै बैंकहरूले सूचना प्रविधि सुरक्षामा पर्याप्त लगानी नगरेको र फायरवाल तथा एन्टिभाइरस जस्ता आधारभूत उपायमा मात्र निर्भर रहेको पाइन्छ । त्यस्तै साइबर अपराधलाई सम्बोधन गर्ने बलियो कानुनको अभाव र पुरानो विद्युतीय कारोबार ऐनले नयाँ जोखिमहरूलाई रोक्न नसक्नु अर्को ठूलो कमजोरी हो ।
सेवाप्रदायक कम्पनी र अनुसन्धान अधिकारीहरूमा समेत साइबर सुरक्षाको न्यूनतम क्षमता नहुनुले समस्या झन् जटिल बनेको छ ।
नागरिक चेतनामा कमि
नेपालमा डिजिटल बैंकिङ प्रयोगकर्ताको संख्या बढे पनि नागरिक चेतनाको स्तर निकै कम छ । धेरै सर्वसाधारणले आधारभूत साइबर सुरक्षा उपायहरू जस्तै बलियो पासवर्ड प्रयोग, संदिग्ध लिंकमा क्लिक नगर्ने वा ओटीपी गोप्य राख्ने जस्ता कुरामा ध्यान दिँदैनन् ।
प्रहरीका अनुसार अनलाइन ठगीका घटनामा पीडितहरूले आफैंले संवेदनशील जानकारी ह्याकरलाई दिएको पाइन्छ । डिजिटल साक्षरताको कमीले गर्दा नगदरहित कारोबार बिशेषगरी ग्रामीण भेगमा सोचेजसरी कार्यन्वयनमा आउन सकेको छैन ।
सर्वसाधारण ठगीने प्रकार
सर्वसाधारण मुख्य रूपमा फिसिङ, ओटीपी ठगी र सामाजिक सञ्जालमार्फत हुने ठगीमा पर्ने गरेका छन् ।फोन वा एसएमएसबाट आएका लिंक क्लिक गर्दा बैंक खाताबाट पैसा चोरी हुने, चिट्ठा परेको भन्दै पैसा माग्ने र विदेशी नागरिकसँग मिलेर क्रिप्टोकरेन्सी ठगी गर्ने घटना बढेका छन् ।
यस्तै, वैदेशिक रोजगारी र प्रेमको बहानामा पनि ठगी हुने गरेको छ । नेपालमा डिजिटल बैंकिङको विस्तार सकारात्मक भए पनि सुरक्षाको कमजोरी र चेतनाको अभावले जोखिम निम्त्याएको छ ।
सरकारले बलियो साइबर कानुन बनाउने, बैंकहरूले सुरक्षामा लगानी बढाउने र नागरिकलाई सचेत बनाउन अभियान चलाउन जरुरी छ । नत्र, डिजिटल बैंकिङको बिस्तार जसरी हुदैछ ठगीका घटनाहरु पनि त्यसरी नै मौलाउदै जानेछ ।