
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन अब केही दिनमात्रै बाँकी छ । चैत २४ गतेदखि कार्यकाल सकिन लागेका गभर्नर अधिकारीपछि १८ औँ गभर्नर को बन्छ भन्ने जिज्ञासा आमरुपमा देखिन थालेको छ । आर्थिक मन्दी, सम्पत्ति शुद्धिकरणमा ग्रे लिस्टको सूचीमा परेको विषम परिस्थितिमा अब बन्ने गभर्नरले सामना गर्नु पर्ने चुनौतिका चाङ छन् । अहिले एमाले र कांग्रेस गठबन्धनको सरकार भएका कारण यी दुई दल निकटकै व्यक्ति राष्ट्र बैंकको नयाँ गभर्नर बन्ने निश्चित छ ।
नेपाल राष्ट्र बैंकका १७ औँ गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे पदावधि चैत २४ गते सकिदैछ । अधिकारीको पदावधि सकिएपछि नयाँ बन्ने गभर्नरको सम्भावित आंकाक्षीहरुको नाम सार्वजनिक हुन थालेका छन् । गभर्नर बन्ने आंकाक्षीको दौडमा अहिले करिब १ दर्जन छन् ।
तीमध्ये अधिकांस एमाले र कांग्रेस निकटका व्यक्तिहरु छन् । गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाउने व्यवस्था छ । सोही अनुसार फागुन २१ गते बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले समिति बनाउने निर्णय गरिसकेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा विज्ञ सदस्यमा डा. विश्वनाथ पौडेल र पूर्वगभर्नरमध्येबाट विजयनाथ भट्टराई छन् । पौडेल र भट्टराई दुबै कांग्रेस निकट हुन् ।
गभर्नरको दौडमा को–को ?
नयाँ गभर्नरको आंकाक्षीका रुपमा अहिले नेपाल राष्ट्र बैंकका सञ्चालक, डेपुटी गभर्नर, कर्मचारी, वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतदेखि सञ्चार क्षेत्रबाट करियर शुरु गरेकाहरुले पनि चासो देखाइरहेका छन् । सबैले आ–आफ्नो क्षमता अनुसार राजनीतिक नेत्तृत्वसँग लबिङ गरिरहेका छन् ।
१८ औँ गभर्नरको रुपमा अहिलेका गभर्नर महाप्रसाद अधिकारी नै दोहोरिन सक्ने चर्चा चलेको थियो । तर अधिकारी आफैले विभिन्न सार्वजनिक कार्यक्रमहरुमा फेरि आफु गभर्नर बन्न नचाहेको बताउँदै आएका कारण उनी यो दौडमा नभएको बुझ्न सकिन्छ । तर उनकै कार्यकालमा नेपाल ग्रे लिस्टमा परेका कारण फेरि उनलाई एकपटक दोहो¥याउन सक्ने अनुमान पनि गरिदै आएको छ ।
गभर्नर बन्ने आंकाक्षीहरुमध्ये सुशील भट्टको नाम पनि चर्चामा छ । अहिलेका गभर्नर अधिकारी जस्तै भट्ट पनि लगानी बोर्डको सीइओ भइसकेका व्यक्ति हुन् । भट्टलाई गभर्नरको बलियो दावेदार मानिएको छ । उनको लागि बिचौलियाका रुपमा परिचित भाई दीपक भट्टले लविङ गरिरहेको दाबी गरिन्छ । सरकार निकट मानिएका भाई दीपककै कारण सुशील भट्ट नयाँ गभर्नरका रुपमा आउने सम्भावना नकार्न सकिदैन ।
इन्जिनियरिङ पृष्ठभूमिका भट्ट एमाले र कांग्रेस दुवै पार्टी निकट छन् । राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नर सिफारिस गर्दा एक जना डेपुटी गभर्नर सिफरिस गर्नैपर्ने हुन्छ । त्यसैले राष्ट्र बैंककै दुई डेपुटी गभर्नर बमबहादुर मिश्र र नीलम ढुंगानाले पनि आफुलाई गभर्नरको आंकाक्षीको रुपमा उभ्याएका छन् । पहिलो महिला गभर्नर बन्ने आंकाक्षासहित ढुंगानाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमार्फत लबिङ गरिरहेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्लाका डेपुटी गभर्नर मिश्र पनि एमालेमार्फत आफ्नो लबिङलाई तीव्रता दिइरहेका छन् ।
कांग्रेस निकट मानिने राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पनि गभर्नरमा रुची देखाइरहेका छन् । त्यसैगरी राष्ट्र बैंकका सञ्चालकद्वय चिन्तामणि शिवाकोटी र रवीन्द्रनाथ पाण्डे पनि गभर्नर बन्ने दौडमा सामेल छन् । दुवैजना एमाले निकट मानिन्छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी र सदस्य प्रकाशकुमार श्रेष्ठले पनि गभर्नर बन्ने आंकाक्षा देखाएका छन् । पूर्वअर्थसचिव तथा उच्चस्तरीय आर्थिक सुधार आयोगका अध्यक्ष रामेश्वर खनालको नाम पनि गभर्नर बन्ने चर्चामा रहेका नामहरुको सूचीमा छ ।
त्यसैगरी पत्रकारिताबाट पहिचान बनाएका गोकर्ण अवस्थी नयाँ गभर्नरको दौडमा रहेको चर्चा छ । नेपाल उद्योग वाणिज्य महासंघमा महानिर्देशक रहेका अवस्थीलाई नीजि क्षेत्रले गभर्नर बनाउन लविङ गरिरहेको बताइन्छ । नविल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना र प्रभु बैंकका सीईओ अशोक शेरचन पनि यो दौडमा सामेल छन् ।
ढुंगाना कांग्रेस निकट र शेरचन एमाले निकट हुन् । पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई पनि गभर्नरको सम्भावित उम्मेदवार मानिएको छ । आश्चर्यढंगले २०७४ सालमा जम्माजम्मी ४ महिना जति मात्रै मुख्यसचिव बनेका क्षेत्रीलाई राजनीतिक शक्ति भएका उम्मेदवार मानिन्छ । तर गभर्नरमा कांग्रेसले खासै चासो नदेखाएका कारण पनि एमाले निकटबाटै गभर्नर नियुक्त हुने निश्चित जस्तै छ ।
गभर्नर बन्ने योग्यता ?
अर्थमन्त्रीको अध्यक्षतामा रहने सिफारिस समितिले गभर्नरका लागि ३ जनाको नाम सिफारिस गर्छ । जसमा डेपुटी गभर्नरमध्ये १ जनाको नाम सिफारिस हुनैपर्ने व्यवस्था छ । समितिले गभर्नरको नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरहरुमध्येबाट तीनजनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।
राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गर्भनर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनुपर्ने, उच्चनैतिक चरित्र भएको हुनुपर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।
नयाँ गभर्नरलाई चुनौति
नेपालको हालको आर्थिक अवस्था मन्दीग्रस्त छ । नेपाल दोस्रोपटक सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको छ । नागरिकमा चरम निराशा छाएको छ भने सरकारका कामकारबाहीले उनीहरूको अपेक्षा पूरा गर्न सकेका छैनन् । डिजिटल बैंीकङ, डिजिटल करेन्सी र औपचारिक बंकिङभन्दा बाहिर फैलिँदै गएको क्रिप्टोकरेन्सीले नेपालको केन्द्रीय बैंकलाई नयाँ चुनौती थपेको छ ।
विश्वव्यापी वित्तीय संकट, कोभिड महामारी र युक्रेन युद्धजस्ता घटनाले विश्व अर्थतन्त्रमा उतारचढाव ल्याएका छन् । यी संकटले कहिले खर्च बढाउनुपर्ने त कहिले नियन्त्रण गर्नुपर्ने दोहोरो दबाब सिर्जना गरेको छ । नेपालजस्तो विकासोन्मुख देशमा यस्ता बाह्य झट्काहरूले अर्थतन्त्रलाई थप कमजोर बनाएका छन् ।
सरकारले नागरिकको विश्वास जित्न प्रभावकारी नीति ल्याउनुपर्ने र डिजिटल वित्तीय प्रणालीलाई नियमन गरी अवसरमा बदल्नुपर्ने आवश्यकता छ । त्यसैले अब बन्ने नयाँ गभर्नरले यी सबै चुनौतिहरुसँग जुध्दै आफुलाई अब्बल देखाउनु पर्ने हुन्छ ।