
काठमाडौं । नेपालमा ईसेवा, खल्ती, आइएमई पे जस्ता डिजिटल वालेटको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । सूचना प्रविधिको विकास र स्मार्टफोनको विस्तारसँगै यी प्लेटफर्महरूले नगदरहित कारोबारलाई प्रोत्साहन गरिरहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, गत साउनमा डिजिटल वालेटमार्फत १४ अर्ब रुपैयाँको कारोबार भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो । यी वालेटहरूले शहरी क्षेत्रदेखि ग्रामीण भेगसम्म वित्तीय पहुँच विस्तारमा योगदान पु¥याएका छन् ।
डिजिटल वालेटको सबैभन्दा ठूलो फाइदा समय र लागतको बचत हो । प्रयोगकर्ताले घरमै बसेर बिजुली, पानी, टेलिफोनको बिल तिर्नेदेखि हवाई टिकट र सामान खरिद गर्नेसम्मका काम सहजै गर्न सक्छन् । डिजिटल वालेटको कारणले बैंकमा लामो लाइन बस्नुपर्ने झन्झट हटेको छ । कोभिड–१९ महामारीपछि नगदको प्रयोग घटाउन डिजिटल भुक्तानीको लोकप्रियता झनै बढ्यो ।
ग्रामीण क्षेत्रमा बैंकको पहुँच कम भए पनि मोबाइल वालेटले वित्तीय समावेशिता बढाएको छ । यद्यपि, डिजिटल वालेटका चुनौती र जोखिम पनि उत्तिकै छन् । साइबर सुरक्षाको खतरा प्रमुख चुनौती हो । प्रयोगकर्ताको गोपनीयता भंग हुने, डेटा चोरी हुने र ठगीका घटनाहरू डिजिटल वालेटमा बढ्दै गएका छन् । डिजिटल ठगीकै विषयमा प्रहरीको साइबर ब्युरोमा दैनिक कम्तिमा १० वटा जति उजुरी दर्ता हुने गरेको तथ्यांक छ ।
इन्टरनेटको कमजोर पूर्वाधार र कम डिजिटल साक्षरताले पनि समस्या निम्त्याएको छ । नियामक निकायले कडा नीति बनाउन ढिलाइ गर्दा जोखिम झनै बढेको विज्ञहरू बताउँछन् । यी र यस्ता जोखिम न्यूनीकरणका लागि बलियो साइबर सुरक्षा, प्रयोगकर्तामा शिक्षाको विस्तार र प्रभावकारी नियमन आवश्यक छ ।
डिजिटल वालेटले सुविधा र आर्थिक समावेशिता बढाएपनि यसको दुरुपयोग रोक्न सबै पक्ष सचेत हुनुपर्छ । नत्र यो प्रविधिबाट फाइदाभन्दा हानी बढि हुन सक्छ । यद्यपी नेपालमा डिजिटल अर्थतन्त्रअ आवश्यकता बनिसकेको हुँदा यसलाई सुरक्षित र भरपर्दो बनाउन थप प्रयास जरुरी छ ।