
काठमाडौं । गणतान्त्रिक व्यवस्थाका नेतृत्वमाथि जनताका आक्रोश अझ छछल्किँदै गएका छन् । मुलुकमा राजवादीहरुको गतिविधि बढ्दैछ भने राजनीति दलहरुबीच नै पनि विमत्ति र कटुता बढ्दो छ ।
जसले नागरिकलाई डेलिभरी दिने कार्यमा सरकार दिनानुदिन असफल बन्दै गएको प्रष्ट गराउँछ । र, सरकार पनि जनताप्रति अनुत्तरदायी बन्दै गइरहेको आम टिप्पणी भइरहेका छन् । यस्तो अवस्थमा सरकार र राजनीतिक दलका नेतृत्वमाथि आलोचना र विरोधका आवाज जनस्तरबाटै घन्कीरहेका छन् ।
थालनी ओली–देउवाबाटै !
पछिल्लो समय राजनीतिक नेतृत्वमाथि ठाडो रुपमै विरोधका नारा घन्किँदा सबैभन्दा पहिले जनताले काँग्रेस र एमाले नेतृत्वमाथि नै तार्गेट राखेका छन् । सबैभन्दा पहिले वर्तमान सत्ता गठबन्धन निर्माणको प्रारम्भमा नै टुडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नारा घन्किएका थिए । देउवा र ओलीले सँगै सामना गरेको यो घटनालाई एकै स्टेजबाट उनीहरुले प्रतिवाद गरे । जसमा देउवाले जनतालाई तल्लोस्तरमै झरेर जवाफ फर्कानु परेको थियो ।
तर, अझैपनि नेतृत्वमाथि आक्रोश घटेको छैन । उता राजनीतिक नेतृत्वले पनि जनताका माग र मुलुकको हितका लागि कुनै चासो र चिन्ता देखाउन सकेको छैन । जसले जनता नेतृत्वलाई क्षमा दिने मनशायमा देखिँदैनन् । राजावादी गतिविधिमा सामेल भएर होस् वा सार्वजनिक कार्यक्रमबाटै विरोध गरेर जनताले नेतृत्वमाथिको आक्रोश छताछुल्ल पारिरहका छन् । यो आक्रोश केपी ओली कपको फाइनल खेल भइरहँदा दशरथ रंगशालामै पनि लुकेन । केपी ओली कपमा ओलीविरुद्धकै नारा लागेपछि स्थिति साम्य पार्न सकस नै परेको थियो ।
रंगशालाको यो विवादको विषय संसदमा समेत पुग्यो । तर सरकारले आफ्ना कमजोरी सुधार्न र जनताप्रतिको उत्तरदायित्वबोध गर्न अझै आवश्यक ठानेको छैन ।
होलीमा पनि ओलीको विरोध !
बिहीबार बसन्तपुरमा आयोजित होलीको कार्यक्रममा पनि जनस्तरबाटै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खुलमखुल्ला नारा लागेको थियो । मुलुकमा राजावादी गतिविधि तीव्र रुपमा बढिरहेको छ । सरकार यो गतिविधीलाई खास मतलव राख्न चाहिरहेको छैन । यस्तो अवस्थामै बसन्तपुरमा चलेको होलीको कार्यक्रममा पनि ओली विरुद्ध नारा लागेको हो ।
पछिल्लो समय युवा जमात वर्तमान नेतृत्तप्रति विरोधमा मात्रै छैनन् । उनीहरु खुल्ला रुपमै राजतन्त्र र राजाको ‘डिमाण्ड’ गर्नसमेत तल्लीन देखिन्छन् ।
वर्तमान व्यवस्था र नेतृत्वमाथिको यो जनआक्रोश जनताका रहरले पैदा भइरहेका होइनन् । अहिलेको अवस्थामा नागरिकले उठाइरहेका राजाको माग पनि जनताका खास चाहना होइनन् । यो त नेताहरुको कार्यशैली, चरित्र र कदमबाट सिर्जित बाध्यत्मकमक विस्फोटनको पूर्वसंकेत मात्रै हो । यसप्रति नेतृत्वले अझै बेवास्ता गरिरहे केपी र देउवाविरुद्ध नारा मात्रै होइन, उनीहरुलाई जनताले नेताबाट रैतीमा झार्ने स्थिति पनि नआउला भन्ने अवस्था छैन ।