
काठमाडौं । माओवादी केन्द्र राजावादीको सक्रियतामा सशंकित बन्न पुगेको छ । जनता सडकमा आएको स्वीकारेका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध निर्मम पेश हुन थालेका छन् । प्रचण्ड किन यसरी आक्रामक बन्न पुगे त ?
माओवादी केन्द्र सम्मिलित समाजवादी मोर्चा अनेक आन्दोलनको तयारीमा छ । उनीहरुले राजावादी शक्तिको सक्रियतालाई शंकाको रुपमा हेरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतामाथि उनीहरुले निर्मम टिप्पणी गरिरहेका छन् । यस्तोमा समाजवादी मोर्चाले अन्तरक्रियादेखि अनेक छलफल गर्ने भनिरहेको छ ।
समाजवादी मोर्चाले सशक्त रुपमा राजावादीविरुद्ध प्रतिरोध गर्ने दाबी गरिरहेको छ । यस्तोमा माओवादी केन्द्र पनि पूर्वराजाको सक्रियतामा आक्रामक पेश भइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै आफू पाँचै वर्ष प्रधानमन्त्री बन्न पाएको भए जेल हालेरै छाड्ने थिए भनेका छन् ।
प्रचण्डले यतिमात्रै भनेका छैनन् । राजतन्त्रको पक्षमा ओर्लिएको जनमतलाई हत्याराको समर्थनको आरोप नै लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई उनले भाइमारा मात्रै भनेका छैनन्, मुर्ति तस्कर समेत भनेका छन् ।
प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रमाथि कडा रुपमा आक्रोश पोखेका छन् । देशभर शुरु भएका जागरण अभियान र कार्यक्रमले माओवादीलाई फेरि जनतामा फर्काएको दाबी समेत गरे । उसोतः प्रचण्डले प्रतिनिधिसभाको सम्बोधनको क्रममा सडकमा जनता आएको भन्दै आत्मसमिक्षाको आवश्यकता देखिएको दाबी गरेका थिए ।
प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध चर्को आरोप र आक्रोश पोखेका छन् । उनले चैत्र १५ गतेको काठमाडौं केन्द्रित प्रदर्शनमा विशाल सहभागिताको अपेक्षा समेत गरेका छन् । तर, पूर्वराजाको सक्रियतामाथि गणतन्त्रवादी दलहरुको सक्रिय विरोध र प्रतिरोधले अबको राजनीति कता जाला भन्ने चिन्ता भने देखिन थालेको छ ।
नागरिक समाज पनि सक्रिय
पूर्वराजाको सक्रियतामा नागरिक समाज पनि विरोधमा उत्रिएको छ । पूर्वराजा ज्ञानेन्द्रको सक्रियतालाई केन्द्रमा राख्दै लोकतन्त्रवादीहरु एकमत हुनुपर्ने आवाज उठाइएको छ ।
वृहत् नागरिक आन्दोलनले पनि जनआन्दोलन र जननिर्वाचित संविधानसभामार्फत् बिदा गरिएको राजतन्त्र पुनस्र्थापित गर्न पुरातनवादी शक्तिहरूको गतिविधिप्रति गहिरो ध्याणाकर्षण भएको भनेको छ । यसरी राजावादी शक्ति र समूहको सक्रियतामा उठेका प्रश्नले अबको राजनीतिक स्थिति कस्तो बन्ला ? चासो र शंकामा यो विषय देखिन्छ । तर, राजावादी शक्तिको प्रदर्शन र उनीहरुको व्यवहार कस्तो हुन्छ भन्नेमा समेत धेरै कुरा निर्धारण हुनेछ ।