
पर्सा । हर्ष, उल्लास र उत्साहका साथ वीरगञ्जसहित तराई मधेशमा रंगहरुको पर्व होली मनाइएको छ । पहाडी भेगमा बिहिवार मनाइएको होली पर्व शुक्रवार तराई मधेशमा मनाइएको हो । वीरगञ्जको आदर्शनगरमा न्यूज २४ टेलिभिजनले आयोजना गरेको ‘होली हंगामा’ कार्यक्रममा सयौँ नागरिक खुलेरै झुमेका थिए ।
सद्भाव, सौन्दर्य र रङ्गको रङ्गीन पर्व मानिएको होली तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइएको छ । भौगोलिक संरचना र मान्यताअनुरूप हिमाली र पहाडी भेगमा पूर्णिमाका दिन ‘फागु’ को रुपमा मनाइने यो पर्व मधेशमा पूर्णिमाको भोलिपल्ट मनाइन्छ । तराइ मधेशमा होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।
विगत १४ वर्षदेखि न्यूज २४ टेलिभिजनले वीरगञ्जमा आयोजना गर्दै आएको ‘होली हंगामा’ सांगीतिक कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको टेलिभिजनका केन्द्रिय ब्यूरो प्रमुख राजु श्रेष्ठले बताए । उनले यो कार्यक्रमले विविध संस्कृति र फरकफरक धर्म सम्प्रदायका व्यक्तिहरुलाई एकताको सुत्रमा बाँध्नका लागि सघाउ पु¥याउने बताए ।
वीरगञ्ज महानगरपालिकासँगै नेपालमै बनेको नेपाली उत्पादन झङ्कार चप्पलले प्रायोजन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कानुन न्याय र संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले होली एकता र मेलमिलापको पर्व भएको बताए । यस्ता चाडपर्वहरुले समाजमा शान्ति र सद्भाव कायम गर्ने मन्त्री चौरसियाको विश्वास छ ।
सामाजिक सद्भाव कायम राख्ने कार्यक्रमले भाइचारा र भातृत्वको विकास गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले रंगहरुको पर्वलाई रंगीन बनाउन न्यूज २४ टेलिभिजनले गर्दै आएको कार्यक्रम सह्रानीय भएको बताए ।
ईस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान चलिरहेकै समयमा राष्ट्रिय मुक्ती पार्टी नेपालका नेता नेजामोद्दिन समानी कार्यक्रममा उपस्थित भएका थिए । हरेक वर्ष होलीको कार्यक्रममा सरिक हुने उनले रंग नलगाएपनि मन भने रंगमय भएको भाव उनको मुहारमै झल्किएको थियो ।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको व्यवस्थापनमा भएको कार्यक्रममा भोजपुरी गायक सुनिल पण्डितको ‘ब्लड प्रेसर’, ‘मिनरल वाटर’ लगायतका गीतमा दर्शकहरु खुलेरै रमाएका थिए । गायक सञ्जु अमात्य, विश्व नेपाली, कर्णराज गिरी र चन्दन प्रजापतीको प्रस्तुतीले कार्यक्रमको रौनक बढाएको थियो ।
कार्यक्रममा कलियुड कला केन्द्रले नृत्य प्रस्तुति गरेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डा. सुवोध कुमार गुप्ता, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि प्रसाद गौतम लगायतले होली पर्वको महत्व र तराई मधेशमा होली पर्वको उत्साहका बारेमा चर्चा परिचर्चा गरे ।