News 24 Television
नेपाल राजनीतिक परिवर्तनको संघारमा छ : लिङदेन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा पुगेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो राजसंस्था र लोकतन्त्र एक अर्काको विरोधी नभएको बताए ।

वर्तमान राजनीतिमा जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरुले भ्रम सिर्जना गरेको आरोप लगाए । उनले राजसंस्था र प्रजातन्त्र एक-आपसमा परिपूरक भएको भन्दै सञ्चारमाध्यमहरुले उचित सुझाव दिएर आफ्नो कर्तव्य  पूरा गर्नुपर्ने बताए ।

लिङदेनले भने, ‘हामी सबैभन्दा माथि देश छ, देशभन्दा माथि केही छैन । देश परिवर्तनको संघारमा पुगेको छ । अब यो एक दुई जना कसैले रोकेर रोकिने अवस्थामा छैन । त्यसकारण आफ्नो आस्थालाई केन्द्रमा राखेर अहिले आउनु खोजी राखेका परिवर्तनलाई जनताको भावनालाई अदेखा गर्ने र दुर्घटनातर्फ लैजाने काम हामी कसैले गर्नु हुँदैन । यो परिवर्तन रोकिनेवाला छैन । त्यसकारण हामीले त्यसका बारेमा गलत प्रचार गर्ने, समाजमा भ्रम सिर्जना गर्ने र द्वन्द्व सिर्जना गर्ने काम गर्नेभन्दा पनि समाधानका सुझावहरु दिनुपर्छ । अहिले कतिपय सञ्चारमाध्यममा राजसंस्था र प्रजातन्त्र एकअर्काका विरोधी हो भन्ने, एकअर्काका विकल्प हो भन्न जुन प्रचार भइराखेको छ, जनता र समाजलाई विभाजन गराउने कोशिस गरिएको छ, राजा रोज्ने कि लोकतन्त्र रोज्ने भनेर प्रश्न उठाउने गरिएको छ यस्तो गर्नु हुँदैन । नेपालमा राजासहितको प्रजातन्त्र चाहिन्छ भन्ने पार्टीको अध्यक्ष भएको नाताले मिडियालाई म के आग्रह गर्न चाहन्छु भने राजसंस्था एकअर्काको विकल्प र विरोधी होइनन् । राजसंस्था र प्रजातन्त्रसँगै जानसक्छ, राजा र  प्रजातन्त्रसँगै जानसक्छ ।’

अध्यक्ष लिङदेनले प्रजातन्त्रको जननी बेलायतमा पनि सयौँ वर्षदेखि राजसंस्था कायम रहेको भन्दै नेपालमा संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम हुने जिकिर गरे । 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update