
काठमाडाैँ । आजको शिक्षालाई जीवन उपयोगी, रोजगारमूलक तथा सीप र प्रविधिसँग जोड्न आवश्यक रहेको शिक्षाकर्मी तथा शिक्षा क्षेत्रका सरोकारवालाहरुले बताएका छन् ।
बौद्ध रामहिटी रामनगरस्थित कैलाश बाेधी सेकेण्डरी स्कूलको ३२ औँ अभिाभावक दिवसको अवसरमा सहभागी शिक्षा क्षेत्रका विज्ञ तथा अभिभावक प्रतिनिधिहरुले विद्यार्थीलाई रोजगार र सीपसँग जोड्न आग्रह गरेका हुन् ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद छिरिङ ल्यामु लामाले शिक्षा क्षेत्रको नीतिगत ब्यवस्थामा सुधार गरी शिक्षामा समय सापेक्ष विकास आवश्यक भएको बताउनु भएको थियो । कैलाश बाेधी विद्यालयकी पूर्व विद्यार्थी समेत रहेकी सांसद लामाले विद्यालयले शैक्षिक क्षेत्रमा गरेको प्रगतिको चर्चा गरेकी थिइन् ।
सो विद्यालयकी संस्थापक प्रिन्सिपल कर्मा छिरिङ छेजोङले विद्यालयले स्थापना कालदेखि नै गुणस्तरिय, ब्यवहारिक शिक्षामा जोड दिएको बताउँदै स्थानीय क्षेत्रमा बिद्यायले निर्वाह गरेको भूमिकाको चर्चा गरकी थिइन् । विद्यालयले विद्यार्थी, शिक्षक र अभिभावकको सहकार्यमा विभिन्न रचनात्मक कार्य गरेको प्रिन्सिपल लामाको भनाई थियो ।
काठमाडौं महानगरपालिका वडा नं ६ की सदस्य लिला विशंखेले विद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा निर्वाह गरेको योगदानको चर्चा गरिन् ।
अभिभावकको प्रतिनिधिको रुपमा ब्राइट स्टार सोसाइटीका अध्यक्ष वासुदेव अधिकारीले कैलाश बाेधी स्कूलले अभिभावक र विद्यार्थीको विश्वास आर्जन गर्न सफल भएको बताउँदै विद्यालयले शिक्षामा फड्को मार्ने विश्वास गरे ।
कार्यक्रममा न्यूज २४ टेलिभिजनका कार्यक्रम संयोजक तथा शिक्षा पत्रकार समूहका उपाध्यक्ष पत्रकार नवराज चालिसेले शिक्षालाई जीवन उपयोगी रोजगारमूलक र प्रविधि जोड्नुपर्ने बताउँदै शिक्षाको विकासमा तीनै तहको सरकार गम्भीर हुनु पर्ने बताए ।
कार्यक्रममा विद्यालयमा लामो समय सेवारत शिक्षक, उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
विद्यालयका भाइस प्रिन्सिपल विमल अधिकारीले विद्यालयले शैक्षिक क्षेत्रमा हासिल गरेको उपलब्धिदेखि विभिन्न क्षेत्रमा निर्वाह गरेको भूमिकाबारे प्रकाश पार्दै अभिभावक, समाज तथा शिक्षकको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा प्रसिद्ध कलाकार सुर्यमणि आचार्य, सो विद्यालयका विद्यार्थीहरूकै विभिन्न समूह तथा खेलाडीहरुले साँस्कृतिक तथा सांगतिक प्रस्तुतिहरु प्रर्दशन गरेका थिए ।
कार्यक्रम संञ्चालन गर्दै शिक्षक प्रेम राईले विद्यालयले स्थापनाकालदेखि गुणस्तरिय शिक्षा र व्यक्तित्व विकासमा निर्वाह गरेको भूमिकाको चर्चा गरेका थिए ।