
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गणतान्त्रिक व्यवस्थाकै उपजका रुपमा जन्मिएको पार्टी हो । लोकतन्त्रमा राजनीतिक दल खोल्न पाउने अधिकार र निर्वाचन लड्न पाउने अधिकार नागरिकमा हुन्छ । यही आधारलाई नै टेकेर रास्वपा स्थापित भएको दल हो । तर पछिल्लो सयम नेपालमा पनि राजतन्त्रात्मक गतिविधि बढ्दो छ भने गणतन्त्रमाथि आक्रोश तीव्र रुपमै बढीरहेको छ । यो अवस्थामा लोकतन्त्रवादी र राजतन्त्रवादी दलहरु दुई कित्तामा विभक्त भएका छन् ।
मुख्यतः नेपाली काँग्रेस र नेकपा एमालेको सरकारले कुशासन, अपारदर्शीता र दण्डहीनता बढाएकै कारण मुलुकमा गणतन्त्रवादीहरुले आड पाएको ब्याख्या हुँदै आएको छ । तर सँगै गणतन्त्रको विकल्प राजतन्त्र नै हो ? भन्ने प्रश्न पेचिलो बनिरहेको छ । यो अवस्थामा नयाँ दल रास्वपाको स्ट्याण्ड के हो ? भन्ने प्रश्न पनि आम रुपमा उठिरहेकै देखिन्छन ।
के छ रास्वपा नेताहरुको धारणा ?
केहीदिन अधि काठमाडौंमा राजतन्त्रको पक्षमा मानव सागर नै उर्लियो । जसले गणतन्त्रात्मक व्यवस्थामाथि नै हलचल मच्चाएको छ । यसप्रति रास्वपा सभापति रवि लामिछाने सत्ता पक्षको कार्यशैली र कदमहरुकै कारण राजावादीहरु सडकमा उत्रिएको दावी गर्छन् ।
राजावादीको गतिविधि बढ्नु र गणतन्त्र संकटमा पर्नुको कारण सत्ता पक्षको कार्यशैली नै भएको दावी रविले गरेपनि उनले रास्वपा गणतन्त्रको पक्षमा की राजतन्त्रको पक्षमा ? भन्ने प्रश्नको जवाफ भने दिएका छैनन् ।
यस कारण पनि रास्वपाले यो विषयमा आफ्नो धारणा निर्माण गर्न सकेको छैन । हुनत रास्वपाभित्रै गणतन्त्र कि राजतन्त्र भन्ने एजेन्डा यकिन भइनसकेको दावी पनि गरिन्छ । रास्वपामा कतिपय नेताहरु गाणतन्त्रको पक्षमा छन् भने कतिपय राजतन्त्रकै पक्षमा रहेको समेत टिप्पणी भइरहेका छन् ।
यो अवस्थामा राजावादीहरुले सडक र सदन नै तताइरहँदा रास्वपा मौन रहनु भने रहस्यको विषय बनेको छ । उसले अझै पनि पक्ष र विपक्षमा बहस गर्न खासै चासो दिइरहेको छैन ।
यी केही आधारले पनि रास्वपा राजतन्त्रको पक्षपाती हो की ? गणतन्त्रवादी हो ? भन्ने प्रश्नमा अन्योलता र दोधार कायमै देखिन्छ । र, यो मामलामा रास्वपाको स्पष्ट धारणा अझै देखिँदैन ।
पूर्वमहामन्त्रीको यस्तो खुलासा
रास्वपा पूर्वमहामन्त्री मुकुल ढकालले भने रास्वपा सभापति रवि लामिछानेबारे नयाँ तथ्यको खुलासा गरेका छन् । उनले रास्वपा दर्ता गर्नुअघि पार्टीको एजेन्डा राजावादी तय गर्ने की गणतन्त्रवादी तय गर्ने भन्ने विषयमा घनिभूत छलफल भएको खुलाएका छन्् ।
रवि राजतन्त्रलाई नै समेटेर जाने लाइनमा हुँदाहुँदै पनि पूर्वराजाले नै सकारात्मक प्रतिकृया नदिँदा उनी गणतन्त्रकै लाइनमा आएर पार्टी खोल्न बाध्य भएको ढकालको भनाइ छ ।
पूर्वमहामन्त्री ढकालले रवि लामिछानेले पटक–पटक पूर्वराजाका नजिकका सँग छलफल तथा भेटघाटसमेत गरेको दावी गरेका छन् । तर यी दावीहरुबारे रास्वपाले भने तत्काल कुनै प्रतिकृया दिन मानिरहेको छैन । यी आधारले पनि रास्वपा गणतन्त्रको पक्षमा छ वा विपक्षमा भन्ने विषय अन्योलमै देखिन्छ ।