News 24 Television
होलीको रौनकमा पनि सरकारविरुद्ध आक्रोश

काठमाडौं । सरकारप्रति असन्तोषको लहर तीव्र बन्दै गएको छ । बेरोजगारी, भ्रष्टाचार, महँगी, सेवा प्रवाहमा कमजोरी जस्ता कारणले जनता निराश बनेका छन् । राजनीतिक दलका नेताहरुको आक्रोश सामाजिक सञ्जालमा मात्र होइन, सडकमा समेत पोखिने गरेका छन् । राजनीतिक विशेष कार्यक्रममा मात्र नभई सांस्कृतिक पर्व विशेष कार्यक्रममा समेत सरकारविरोधी आक्रोश छताछुल्ल हुन थालेका छन् । 

नेपालमा अहिले सरकारप्रति जनताको असन्तोष उर्लंदैछ । बेरोजगारी, भ्रष्टाचार, सेवा प्रवाहमा देखिएको कमजोरी र मुलुकभर व्याप्त अनियमितताले जनता निराश बनेका हुन् । 

निराशा चुलिँदै जाँदा जनआक्रोश जताततै पोखिन थालेका छन् । यही असन्तोषको लहरलाई पछिल्लो समय सडकमा देखिन थालेको राजसंस्थाको समर्थनले गणतन्त्रवादीहरुलाई झस्काएको छ । 

गत आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको जनसागरले पनि राजनीतिक दलहरूलाई सच्चिन संकेत दिएको छ । राजनीतिक दलको कार्यक्रममा मात्र होइन, पछिल्लो समय पर्व विशेष कार्यक्रममा समेत सरकारविरोधी नारा लाग्न थालेको छ । 

विहीबार काठमाडौंको बसन्तपुरमा होलीको रंगमा राजनीतिक रंग मिसिन पुग्यो । होलीको रंगसँगै नाचगान र रमाइलो गरेका युवाहरुले सरकारविरोधी नारासमेत लगाए । 

किन आक्रोशित छन् जनता ?

नेपालमा ६२÷६३ को जनआन्दोलनपछि लोकतान्त्रिक गणतन्त्रको स्थापना गरियो । २४० वर्षको राजतन्त्रकै अन्त्य भयो । मुलुकले कोल्टे फेर्ने नागरिकको अपेक्षा थियो । गणतन्त्रका नायक भन्नेहरु नै खलनायक जस्ता भएका छन् । मुलुकमा बेरोजगार ब्याप्त छन् । युवाहरु विदेश पलायन हुन बाध्य छन् । 

राजनीतिक अस्थिरता, बेरोजगारी, चर्को महँगी, भ्रष्टाचार र शासन व्यवस्थामा सुधार नआउँदा नागरिक निराश छन् । नेताहरू सत्ताको खेलमा मात्र केन्द्रित देखिँदा आमजनतामा आक्रोश बढेको हो । सरकारले जनताको समस्या सम्बोधन गर्न नसकेको र सार्वजनिक सेवामा सुधार नहुँदा निराशा झन् गहिरिएको छ । 

दैनिक जीवनयापन कष्टकर हुँदै जाँदा जनता विकल्प खोज्न थालेका छन् । तर नेताहरुमा सच्चिने छाँट देखिदैन । यहि ब्यवस्था र यिनै नेताहरुबाट भविष्य नदेखेपछि नयाँ नयाँ विकल्पको खोजीमा छन् ।  

राजनीतिका समस्या र जनअपेक्षा

नेपालको राजनीतिमा प्रमुख समस्या भनेकै अस्थिरता, अनियमितता, र भ्रष्टाचार नै हो । सरकारहरू बारम्बार परिवर्तन हुँदा दीर्घकालीन योजनाहरू कार्यान्वयन हुन सक्दैनन् । पार्टीहरूबीचको आन्तरिक कलह, कुशासन, र क्षणिक फाइदाका लागि गरिने निर्णयहरूले मुलुकको समृद्धिमा बाधा पु¥याइरहेको छ । 

जनताले अब स्थिर सरकार, भ्रष्टाचारमुक्त प्रशासन, रोजगारी सिर्जना, सुशासन, र आर्थिक समृद्धिको अपेक्षा गरेका छन् । तर, नेताहरूको ध्यान यी आवश्यकताभन्दा सत्ताको समीकरण मिलाउनमा मात्रै केन्द्रित देखिन्छ । परिणामस्वरुप जनता वैकल्पिक शासन प्रणालीबारे समेत सोच्न बाध्य भएका छन् । यदि जनअपेक्षालाई गम्भीर रूपमा नलिँने र नेताहरू पुरानै शैलीमा अडिग रहने हो भने यो असन्तोष कुनै समय विस्फोट नहोला भन्न सकिँदैन ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update