
काठमाडौं । नेपालमा हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने होली पर्व रंग, उमंग र एकताको प्रतीक मानिन्छ । यो पर्व विशेषगरी हिन्दु धर्मावलम्बीहरूले धुमधामसँग मनाउने गर्छन्, तर यसको प्रभाव सबै समुदायमा देखिन्छ । धार्मिक, सांस्कृतिक र सामाजिक पक्षहरूले भरिएको होलीले नेपाली समाजमा विशेष स्थान राख्छ ।
धार्मिक रूपमा होली अर्थात फागुको उत्पत्ति भगवान् विष्णुको नरसिंह अवतार र होलिका दहनसँग जोडिएको छ ।
पौराणिक कथाअनुसार, हिरण्यकश्यपुले आफ्ना पुत्र प्रह्लादलाई मार्न होलिकामार्फत् आगोमा हालेका थिए, तर भक्त प्रह्लादलाई आगोले केही पनि भएन, बरु होलिका भने जलिन् । यो पं्रसंगलाई धार्मिकरुपमा असत्य र दुष्टतामाथि सत्य र धर्मको विजयको रुपमा लिइन्छ । नेपालमा यो पर्वको पहिलो दिन होलिका दहन गरी रातमा आगो बालेर उत्सव सुरु गरिन्छ भने दोस्रो दिन रंग खेलेर खुसी साटिन्छ ।
सांस्कृतिक दृष्टिकोणले होलीले नेपाली लोकसंस्कृतिलाई जीवन्त बनाएको छ । विभिन्न समुदायले आ–आफ्नै शैलीमा गीत, नृत्य र परम्परागत खानपानसहित यो पर्व मनाउँछन् । पहाडमा फागु गीत गाइन्छ भने तराईमा मिथिला संस्कृतिअनुसार रंग अबिर खेल्ने चलन छ । यो पर्वले ग्रामीण र शहरी दुवै क्षेत्रमा उस्तै उत्साह भर्छ र सांस्कृतिक विविधतालाई जोड्छ । हिमाल पहाडमा होली मनाएको एक दिनपछि तराई मधेशमा होली मनाउने प्रचलन छ ।
सामाजिक रंग र अबिर छ्याप्दै एकअर्कालाई शुभकामना दिने होलीको यो परम्पराले सामाजिक सद्भाव र भाइचारा बढाउँछ । यो समयमा पुराना मनमुटाव बिर्सेर नयाँ सम्बन्धको सुरुवात गर्ने अवसर पनि मानिन्छ । बालबालिका, युवा र वृद्ध सबैले हाँसखेल गरी मनाउने यो पर्वले सामूहिक खुसीको अनुभूति दिलाउँछ ।
नेपालमा होलीको रौनक काठमाडौंदेखि तराईसम्म उत्तिकै छ । काठमाडौँमा फागु पूर्णिमाको सात दिनअघि हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक अगाडि तीन छत्रे चीर ठड्याएपछि औपचारिक रूपमा होली पर्व शुरू भएको मानिन्छ ।
चीर गाडेर होली खेल्ने काठमाडाँैको प्राचीन परम्परा हो । तर, पछिल्लो समय रंगको प्रयोगमा रासायनिक पदार्थको बढ्दो प्रयोग र मादक पदार्थको दुरुपयोगले पर्वको पवित्रतामाथि प्रश्न उठ्न थालेको छ । तैपनि, होलीले नेपाली समाजमा एकता, प्रेम र उल्लासको सन्देश फैलाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।