
भक्तपुर । भक्तपुरमा होली मनाउने बेग्लै परम्परा रहेको छ । प्रेम, यौन, रोमान्स र सृष्टि प्रक्रियाको प्रतीकका रुपमा विभिन्न प्रतीकात्मक गीत र चिह्नसहित यहाँ होली मनाउने गरिन्छ ।
भक्तपुर नगरपालिकाको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भिमसेन मन्दिर छ । त्यहाँ भीमसेनको लिङ्गलाई प्रतीकात्मक रुपमा राखिएको देखिन्छ । भीमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि पूर्णिमासम्म भिमसेन गुठीका गायजुले विभिन्न अश्लिल अर्थ बोक्ने र प्रेमका प्रतीक रोमान्टिक गीतहरु गाउने प्रचलन छ । यस्ता गीत गाएर होलीको आगमन तथा बिदाइ गर्ने प्रचलन रहेकोमा यो चलन लोप हुँदै आएको छ ।
‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियौ कि, भाग्नु पर्ने गरी हेर्न आको हो कि’ भन्ने गीत पाटीमा होली खेल्दै गुञ्जने गर्थे । तर अहिले यस्ता गीत सुनिन छाडेका छन् ।
फागुन शुक्ल अष्टमीका दिन मन्दिरमा राखिएको ३ हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई ब्रम्हायणी खोलामा लगेर स्नान गराई काँधमा बोकेर ब्रम्हायणी, च्यामासिंह, जेँला, इनाचो, बाचुटोल हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलमा घुमाउने प्रचलन भने अहिले पनि यथावत छ । यसरी घुमाउँदा भक्तजनले स्पर्श गर्दै ढोग्ने, दान–दक्षिणा दिने र साँझ मन्दिरको पाटीमा झुण्ड्याउने परम्परा छ । तर पछिल्लो समय उक्त लिङ्गलाई टोलटोलमा घुमाउने प्रचलन हराउँदै गएको छ ।
यसरी लिङ्गलाई टोलटोल घुमाएपछि नै भक्तपुरमा फागु अर्थात् होली पर्व सुरु हुने परम्परा छ। यस क्रममा प्रेमिल गीत भट्याउने गरिन्छ– ‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः माः, व ल्यासे मदयकं जा हे मनया ।’ अर्थात् झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्नँ ।
यहाँ होलीको दिन आफूलाई मन परेकी युवतीलाई गीत–भजनबाटै प्रेम प्रस्ताव राख्ने प्रचलन पनि थियो । हाल त्यो पनि लोप भइसकेको यहाँका बुढापाका बताउँछन् । उनीहरुका अनुसार होलीका अवसरमा ‘अबिरया होली तंचाया ला ल्यासे, अबिरं छगुं ख्वाः हिसि दयेका बी’ (अबिरको होली, रिसायौ कि तरुनी, अबिरले तिम्रो मुहार हिस्सी बनाइदिऊँ कि ?) भन्ने गीतबाट प्रेम प्रस्ताव राख्ने गरिन्थ्यो ।
यसरी भीमसेन गुठीले होलीलाई प्रेम, रोमान्स र यौनसँग दाँजेर होली पर्व मनाउँदै आएको पाइन्छ। गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागु पूर्णिमासम्म भिमसेन मन्दिरमा भिमसेनको लिङ्ग र द्रौपदीको योनिको प्रतीकलाई झूण्ड्याएर यौन समागम तथा सृष्टिको प्रतीकका रुपमा होली मनाउने गर्छ । होलीका यी सात दिनसम्म उक्त लिङ्ग र योनीको पूजा एवं दर्शन गरेर स्थानीयले होलीको उल्लास मनाउने गर्छन् ।