
काठमाडौं । देशभर त्रिभुवन विश्वविद्यालयको आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा चैत ५ गते निर्वाचन हुँदैछ । मंगलबार विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् । विहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र चुनाव प्रचारप्रसार पनि गर्न पाउनेछन् । तर देशका विभिन्न क्याम्पसहरुमा विद्यार्थी संगठनहरुबाटै आगजनी र तालाबन्दी गर्दा निर्वाचन कार्यक्रम नै प्रभावित भएका छन् ।
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन कार्यतालिकाअनुसार चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
देशभर त्रिविको ६२ वटा आंगीक क्याम्पस र १ हजार ४० सम्बन्धन प्राप्त अधिकांश क्याम्पसहरुमा निर्वाचन गर्न लागिएको हो । त्यसका लागि उम्मेदवार मनोनयन दर्ता समय सकिसकेको छ ।
विहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ । देशैभर शान्तिपूर्ण रुपमा उम्मेदवार मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको निर्वाचन समितिले बताए पनि दर्जनौं क्याम्पसहरुमा निर्वाचन कार्यक्रम नै प्रभावित भएका छन् । विद्यार्थी संगठनहरुबाटै निर्वाचन कार्यालयमा कतै आगजनी त कतै तालाबन्दी गरेका कारण निर्वाचन कार्यक्रम नै प्रभावित भएका छन् ।
काठमाडौं उपत्यकाकै ८ आंगिक क्याप्पसमा निर्वाचन प्रभावित
विद्यार्थी संगठनहरुबीचको विवादका कारण काठमाडौं उपत्यकाभित्रैका ८ वटा आंगिक क्याम्पसको निर्वाचन प्रभावित भएको छ । मतदाता नामावलीमा विवाद, निर्वाचन कार्यालयमा तालाबन्दी जस्ता कारणले निर्वाचन प्रभावित भएका हुन् ।
सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले गरेको किचलो निर्वाचन प्रक्रिया प्रभावित भएको निर्वाचन समितिले जनाएको छ । कतिपय क्याम्मपसमा सत्तारुढ दल नेपाली कांग्रेस निकट संगठन नेपाल विद्यार्थी संघमा पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालसमूहबीच नै विवाद छ ।
विद्यार्थी संगठनहरुको विवादले गर्दा विवादका कारण थापाथली इन्जियिरिङ, सरस्वती, पब्लिक युथ, केन्द्रीय क्याम्पस कीर्तिपुर, शंकरदेव, पद्मकन्या, नेपाल ल र विश्वभाषा क्याम्पसमा निर्वाचन कार्यक्रम अघि बढ्न सकेका छैनन् ।
महेन्द्र मोरङमा नेबिसंघबाट आगजनी र तोडफोड
विराटनगरस्थित पुरानो महेन्द्र मोरङ क्याम्पसमा सत्तारुढ कांग्रेसका शेखर कोइराला पक्षका विद्यार्थीहरुले आगजनी र तालाबन्दी गरिदिएका छन् । नेविसंघको आधिकारिक उम्मेदवारको विवाद हुँदा शेखर पक्षका नेविसंघ आगजानी र तोडफोडमा उत्रिएको हो । उनीहरुले स्ववियू निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।
प्रज्ज्वल विष्टको समूहलाई नेबिसंघको आधिकारिकता तथा शेखर पक्षका योगराज दाहाल समूहलाई स्वतन्त्र उम्मेदवार दर्ता गरिएपछि विवाद झिकेका हुन् । आक्रोशित दाहाल समूहले निर्वाचन अधिकृत सुशील अधिकारीमाथि दुब्र्यवहार समेत गरेका थिए ।
नवलपुरमा सबै क्याम्पसमा निर्वाचन स्थगित
विद्यार्थी संगठहरुबीचको विवादका कारण नवलपरासी पूर्वी जिल्लाका सबै क्याम्पसमा चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन स्थगित भएको छ । जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण चुनाव गराउन नसकिएकाले स्थगित गरिएको नेपाल पब्लिक क्याम्पस संघ, नवलपुरले जनाएको छ ।
संघले पत्रकार सम्मेलन नै गरेर निर्वाचन स्थगितको घोषणा गरेको हो । संघले कुमारवर्ती बहुमुखी क्याम्पसको प्राङगणमा पत्रकार सम्मेलन हुँदै गर्दा नेविसंघ र अखिल क्रान्तिकारीले नारावाजी गरेका थिए । उनीहरुले एमाले निकट अनेरास्ववियुको प्रभावमा निर्वाचन स्थगित गरेको आरोप लगाएका छन् । जिल्लाका अधिकांश क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ ।
विद्यार्थी संगठनहरुबीच अनौठो तालमेल
सत्तामा नेकपा एमाले र नेपाली कांग्रेसबीच तालमेल भइरहँदा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भने अनौठो तालमेल देखिएको छ ।
स्ववियु चुनावमा कतै एमाले सम्बद्ध अनेरास्ववियुले कतिपय क्याम्पसहरुमा प्रमुख प्रतिपक्षी दल माओवादी सम्बद्ध अखिल क्रान्तिकारी त कतिपय ठाउँमा नेकपा एकीकृत समाजवादी सम्बद्ध अनेरास्वियुसँग तालमेल गरी प्यानल खडा गरेको छ ।
आरआर क्याम्पसमा एकीकृत समाजवादीलाई कोषाध्यक्ष पद दिएर एमाले अनेरास्ववियुले चुनावी तालमेल गरेको छ ।
रोल्पामा एमाले निक अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बीच तालमेलको सहमति गरेका छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनहरूले संयुक्त ढंगले चुनाव लड्ने सहमति गरेका हुन् । दुबै संगठनले रोल्पा जिल्लाका विभिन्न क्याम्पसहरूमा तालमेल गरि बामपन्थी विचारधारामा आधारित उम्मेदवारहरूको प्यानल बनाउने निर्णय गरेका छन् ।
८२ वटा क्याम्पसमा निर्विरोध
त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन हुने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा ८२ वटा क्याम्पसमा सर्वसम्मत अध्यक्ष चुनिएका छन् ।
३२ वटा क्याम्पसमा अनेरास्ववियुका अध्यक्ष निर्वाचित भएका छन् भने नेविसंघबाट २८ क्याम्पसमा र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीबाट २१ जना स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । एउटा क्याम्पसमा भने एकीकृत समाजवादी निकट अनेरास्ववियूको अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।
त्रिविबाट आंगिक ६२ र सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा चैत ५ गते मतदान हुने गरी कल्याणकारी परिषद्ले निर्वाचन तालिका सार्वजनिक गरे पनि सम्बन्धन प्राप्त कतिपय क्याम्पसमा स्ववियु निर्वाचन हुने गरेको छैन । तोकिएको मितिमा निर्वाचन हुन नसकेमा स्ववियुको कार्यकाल ६ महिनासम्म थप गर्न सकिने ब्यवस्था रहेको छ । सोही ब्यवस्थाका कारण २०७९ मा निर्वाचन भएका क्याम्पसहरुमा वर्तमान स्ववियु पदाधिारीले नै निर्वाचन प्रक्रियामा अवरोध गरेको देखिएको छ ।