
काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल बैंकिङको प्रयोग तीव्र रूपमा बढ्दै गए पनि यसको साक्षरता र पहुँच अझै सीमित छ । सूचना प्रविधिको विकास र स्मार्टफोनको विस्तारले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र डिजिटल वालेटजस्ता सेवाहरू लोकप्रिय बन्दै गएका छन् । तर, वित्तीय साक्षरता र डिजिटल प्रविधिको ज्ञानको अभावले धेरै नेपालीलाई यस्ता सेवाबाट वञ्चित बनाइरहेको छ ।
विज्ञहरूका अनुसार नेपालमा डिजिटल बैंकिङ साक्षरता शहरी क्षेत्रमा तुलनात्मक रूपमा राम्रो भए पनि ग्रामीण भेगमा भने यो निकै कमजोर छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार हाल करिब ८३ लाखभन्दा बढीले मोबाइल बैंकिङ प्रयोग गर्छन् भने १ करोड १० लाख डेबिट कार्ड जारी भएका छन् । तर, कुल खाता संख्याको तुलनामा डिजिटल बैंकिङ प्रयोगकर्ताको अनुपात हेर्दा मोबाइल बैंकिङ ३२ प्रतिशत, एटिएम प्रयोगकर्ता २० प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता जम्मा ४ प्रतिशत मात्र छन्।
यो तथ्याङ्कले करिब ३० देखि ३५ प्रतिशत नेपाली डिजिटल बैंकिङमा अभ्यस्त रहेको अनुमान गर्न सकिन्छ । यद्यपि, यो संख्या शहरी क्षेत्रमा केन्द्रित छ । ग्रामीण भेगमा इन्टरनेटको पहुँच, डिजिटल उपकरणको उपलब्धता र आधारभूत प्राविधिक ज्ञानको कमीले डिजिटल बैंकिङको प्रयोग न्यून छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको साक्षरता दर ७६.२ प्रतिशत छ, तर डिजिटल साक्षरता भने त्योभन्दा निकै कम छ, त्यो पनि विशेषगरी गाउँमा ।
ग्रामीण भेगमा डिजिटल बैंकिङको स्थिति चुनौतीपूर्ण छ । ग्रामिण भेगमा इन्टरनेटको गुणस्तर कमजोर छ भने स्मार्टफोन र कम्प्युटरजस्ता उपकरण किन्ने आर्थिक क्षमता पनि सीमित छ । आर्थिक सर्वेक्षण २०७९÷८० अनुसार १५.१ प्रतिशत जनता गरिबीको रेखामुनि छन्, जसका लागि डिजिटल उपकरण र इन्टरनेटको नियमित प्रयोगलाई महँगो छ ।
परम्परागत नगद कारोबारमा अभ्यस्त ग्रामीण बासिन्दालाई डिजिटल प्रणालीमा अभ्यस्त गराउन जागरूकता र तालिमको अभाव छ । उदाहरणका लागि, मधेस प्रदेशजस्ता भौगोलिक रूपमा सहज क्षेत्रमा समेत मिटरब्याजीजस्ता कारोबारीको अगाडि बैंकिङ प्रणाली ओझेलमा पर्दै आएको छ ।
- शतप्रतिशत डिजिटल बैंकिङका चूनौति
- इन्टरनेट र विद्युतको पूर्वाधार ग्रामीण क्षेत्रमा अझै अपर्याप्त
- डिजिटल साक्षरता अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमको कमी
- साइबर सुरक्षाको जोखिम बढ्दो छ
- लैङ्गिक र आर्थिक असमानताले महिलालाई डिजिटल बैंकिङमा सहभागी हुन कठिन
तसर्थः परम्परागत बैंकिङ शैलीबाट डिजिटल प्रणालीमा रूपान्तरण गर्न जनचेतना र प्राविधिक सहयोग अपरिहार्य छ । यी चुनौती समाधान गर्न सरकार, बैंक र प्रविधि कम्पनीहरूले संयुक्त रूपमा डिजिटल साक्षरता कार्यक्रम, पूर्वाधार विकास र सुरक्षित प्रणालीमा लगानी गर्नुपर्ने देखिन्छ ।