News 24 Television
मन्त्री बनेको ८ महिना पुगे पनि सोचेजस्तो काम गर्न सकिनँ : मन्त्री गुरुङ

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री भइसकेपछि सोचेअनुसारको काम गर्न नसकेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त लाचारी व्यक्त गरेका हुन् ।

मन्त्री बनेको ४-५ महिना भएको जस्तो आफूलाई लागे पनि ८ महिना पुगेको तर सोचेअनुसारका योजना अघि बढाउन नसकेको बताए । उनले आइटी, टेलिकम क्षेत्रलाई व्यवस्थित बनाएर जानुपर्ने आवश्यकता रहेको बताए । उनले शासकीय शैलीमा सुधार नगरी अघि बढ्न नसकिने बताए ।

पुरानो शासकीय शैलीबाट अब अघि बढ्न नसक्ने जिकिर गर्दै  उनले भने, ‘मन्त्री बनेको आज ८ महिना भइसकेछ । बितेकै थाहा छैन । ४-५ महिना भयो होला जस्तो लागेको थियो । अस्ति पो ८ महिना पुगिसक्यो । असारको ३१ गते मन्त्री भएको भन्छन् । यो ८ महिनामा सिन्कै भाँच्न सकेको छैन त म भन्दिनँ । तर खोजेको परियोजना भएन । म आफैँले आफैँलाई रिभ्यु गर्दा । टेलिकम इण्डस्ट्री राम्रोसँग अघि बढाउनु पर्नेछ । आइटी इण्डस्ट्री पनि व्यवस्थित र राम्रो बनाउनुपर्छ ।’

मन्त्री गुरुङले जनताको सूचनाको हक प्रवर्द्धन, जनताको अभिव्यक्ति स्वतन्त्रता अभिवृद्धि गर्ने कुरामा कुनै सम्झौता नहुने समेत बताए । सामाजिक सञ्जालबाट हुने अपराधपूर्ण कामहरुलाई नियन्त्रण गर्न सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको उनकाे दाबी छ ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update