
काठमाडौं । सरकार र प्रतिपक्षी दलबीचको राजनीतिक तानातान लम्बेतान बन्न पुगेको छ । प्रतिनिधिसभामा राजावादी शक्ति र समूहको सक्रियताको सवालमा चलेका बहस छलफल सरकार भर्सेस प्रतिपक्षीको स्थितिमा पुगेको छ । यस्तोमा माओवादी केन्द्र र एमालेबीचको घोचपेच तीब्र बनेको छ भने कांग्रेस पनि प्रचण्डमाथि प्रश्न गरिरहेको छ । तर, किन यस्तो स्थिति बन्न पुग्यो त ? यसको समिक्षा भने हुन थालेको छ ।
सदन प्रतिपक्षीको हो भनिन्छ । तर प्रतिपक्षले गरेका प्रश्नमा सत्ता पक्षले जिम्मेवार जवाफ दिने गरेको देखिन्न । प्राय जुन दल सत्तामा पुगेपनि सरकारको आलोचना सुन्न नचाहने र प्रतिपक्षीको हुर्मत लिनैपर्ने राजनीतिक संस्कारको विकास भएको देखिन्छ । यहि श्रृङ्खला प्रतिनिधिसभामा समेत बढेको देखिन्छ । यस्तोमा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले सरकारमाथि लगाएको आरोपबाट प्रतिनिधिसभामा चर्काचर्कीको श्रङ्खला नै शुरु भएको देखिन्छ ।
प्रचण्डले सरकारमाथि लगाएको यस्तो आरोपपछि कांग्रेस महामन्त्री गगन थापाले प्रचण्डलाई सोधे, कांग्रेस एमाले मिल्नुस भनेको होइन ? सहयोग गर्छाैं भनेको होइन ?
कांग्रेसपछि सत्तारुढ दल नेकपा एमालेले प्रतिनिधिसभामा अघिकांश समय सरकार र प्रधानमन्त्री केपी ओलीको बचाउमा उत्रिदै प्रचण्ड र प्रतिपक्षीमाथि अनेक प्रश्न गर्नेमै समय व्यतित भयो । राजनीतिक प्रणाली, सेवा प्रवाह भन्दा पनि प्रश्नोत्तर जसरी समय व्यतित भयो ।
एमालेपछि माओवादी केन्द्रले पनि संसदमा चर्को आक्रोश पोख्यो । प्रचण्ड नेतृत्वको सरकारले चालेका सुशासनका कदममा अवरोध सिर्जना गरेको आरोप लगायो । माओवादीले सरकार र प्रधानमन्त्री केपी ओलीमाथि आरोपित गर्नेमै समय खर्चियो ।
यता, नेकपा एकीकृत समाजवादी पनि सरकारप्रतिको आक्रोशलाई रोकेको छैन् । सरकारको अकर्मण्यताकै कारण अहिलेको स्थिति आएको र थप क्षति हुन नदिन लाग्नुपर्नेमा जोड दिएको छ ।
राजनीतिक आरोप–प्रत्यारोप चर्किकै कारण जनतामा निराशा छाएकोमा दुई मत देखिन्न तर, नेताहरुले यस्तो स्थिति सिर्जना हुनुमा आफूबाहेक अर्को दोषी रहेको जिकिर गर्ने गरेका छन्। तर, सरकार र प्रतिपक्षीका चर्का मतभेदका कारण पनि शासन प्रणालीमाथिका प्रश्नहरु पेचिला बनेका छन् ।