
मकवानपुर । कुनै समय रिफर अस्पतालको नामले परिचित मकवानपुरको हेटौंडा अस्पतालमा बिरामीका लागि पर्याप्त औषधि समेत पाइँदैनथ्यो । सामान्य बिरामीका लागि पनि हेटौंडा अस्पतालमा सेवा नपाउँदा चितवन वा काठमाडौँ जानुपर्ने बाध्यता थियो । तर पछिल्लो समय यस अस्पतालको सेवा सुविधाले फड्को मारेको छ । सबै सेवा दिदैँ आएको हेटौंडा अस्पतालमा अब मुटुरोगीले समेत उपचार पाउने भएका छन् ।
बागमती प्रदेशमा रहेका १३ वटा प्रादेशिक अस्पतालहरुमध्ये पहिलो पटक हेटौंडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तारको सुरुवात भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित हेटौंडा अस्पतालमा मंगलबारबाट मुटुरोग सम्बन्धी सेवाको सुरुवात भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले उद्घाटन गरी सेवा आरम्भ गरिएको छ ।
थोरै स्वास्थ्यकर्मीबाट सेवा सुरुवात गरेको हेटौंडा अस्पतालको स्तरोन्नतीले बिरामीहरुको स्वास्थ्य उपचारमा सहजता प्रदान गरेको अस्पताल प्रशासनको भनाई छ । पछिल्लो समय यो अस्पताल भरपर्दो र विश्वासिलो स्वास्थ्य संस्था बन्न पुगेको छ ।
त्यसोत, रोटरी क्लब अफ मकवानपुरले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा १ करोड रुपैयाँ मूल्य बराबरको मुटु परीक्षण उपकरण डेढ बर्ष अघि नै अस्पताललाई उपलब्ध गराएको थियो । तर उपकरण प्राप्त भएपनि मुटु रोग सम्बन्धी विशेषज्ञ डाक्टर नहुँदा उपकरण अस्पतालमा त्यसै थन्किएको थियो ।
पछिल्लो समय टिचिङ अस्पतालबाट मुटु रोग विशेषज्ञ डा. विकेश श्रेष्ठ अस्पतालमा हाजिर भएका छन् । मुटु रोग सम्बन्धि चेक जाँचको लागि उपकरण उपलब्ध भएपनि मुटुको अपरेसन, हर्ट अट्याक भएका बिरामीलई उपचार गर्ने, पेस मेकर राख्ने, लगायतको सेवाका लागि आवश्यक उपकरणको अभाव रहेको डा. श्रेष्ठ बताउँछन् ।
यता, सबैभन्दा धेरै बिरामीले सेवा लिने यस अस्पतालको गुणस्तर बृद्धि गर्न आफूहरुले सधैं साथ दिने तथा प्रदेशका अन्य अस्पतालहरुमा समेत मुटु रोग सम्बन्धि उपचार सेवाको छिट्टै सुरुवात गर्ने प्रदेशको स्वास्थ्य मन्त्रीले प्रतिवद्धता जनाएका छन् ।
हेटौंडा अस्पतालमा मुटुरोग सेवाका लागि आवश्यक उपकरण खरिदका लागि बजेट बिनियोजन गरिने पनि मन्त्री थापाले बताएका छन् । यो उपकरणपछि मुटुको अपरेशनको सेवा समेत यसै अस्पतालमा उपलब्ध हुने उनको भनाइ छ ।
हेटौंडा अस्पतालमा अब मुटुको इको, ईसीजी, टीएमटी जस्ता परीक्षण गर्न सकिने छ । तत्काल मुटु रोग सम्बन्धी ओपिडी सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ । दुई चिकित्सकबाट हाल उपचार तथा परीक्षण गर्ने र क्रमशः व्यवस्थापन गर्दै आगामी वर्षमा थप विशेषज्ञ सेवासहित सर्जरी लगायतका सेवा विस्तार गर्ने योजनामा रहेको यो अस्पतालमा हाल ३ सय बेड उपलब्ध छन् ।