
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ को प्रजातन्त्र दिवसको सन्दर्भ पारेर दिएको राजनीतिक अभिब्यक्तिले राजनीतिक बहस चुलिएको छ । झण्डै एक महिना पोखरा बसेर फागुन २५ मा काठमाडौं फर्किदा शक्ति प्रदर्शनसहितको राजावादीहरुले गरेको स्वागतले गणतन्त्रवादीहरुलाई झस्काइदिएको छ । माओवादी केन्द्रसहित ४ दल सम्मिलित समाजवादी मोर्चा पनि प्रतिरोध संघर्षको तयारीमा जुटेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह फागुन २५ गते पोखराबाट काठमाडौं फर्किँदै थिए । निर्वासनमा रहेर संघीय राजधानी फर्किएको जस्तै गरी उनको भब्य स्वागत गर्न राजावादी दलहरु एक साथ प्रदर्शनमा उत्रिए । फागुन ७ मा शाहले पोखराबाट भिडियो सन्देश जारी गर्दै देशको अवस्था भयावह भएकोले आफूलाई साथ दिन नागरिकलाई आह्वान गरेका थिए ।
शाहको उक्त अभिब्यक्तिपछि राजावादी शक्तिहरु निकै उत्साहित हुँदै आएका थिए । शाह पोखराबाट काठमाडौं फर्किँदै गर्दा भब्य स्वागत गर्न भन्दै राप्रपाले पूर्व निर्धारित कार्यक्रम नै स्थगित गरी त्रिभुवन विमानस्थलमा नेता कार्यकर्तालाई बोलाएको थियो ।
राप्रपाको यस्तो आह्वानपछि राप्रपाबाटै अलग भएका कमल थापा नेतृत्वको राप्रपा नेपाल, विवादित मेडिकल ब्यवसायी दुर्गा प्रसाईँ, जगमान गुरुङ लगायत हिन्दुवादी समूह पनि शाहको स्वागतमा आएको थियो । शाहलाई पुनःस्थापित गराउने चेतावनी दिँदै आएका राजवादीहरुको दशौं हजारको प्रदर्शनले गणतन्त्रवादीहरुलाई झस्काएको हो ।
आम नागरिकमा राजनीतिक दलहरुप्रति असन्तुष्टि बढिरहेकोबेला पूर्वराजा शाहको सक्रियताले गणतन्त्रवादी दलहरुलाई तरंगित बनाएको हो । उक्त प्रदर्शनपछि कांग्रेस, एमाले, माओवादी केन्द्र लगायत नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लगायत साना दलहरुले पनि ज्ञानेन्द्रको सक्रियता रोक्नुपर्ने बताएका छन् ।
यहि बीचमा माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले गणतन्त्रवादीहरुको वृहत्त प्रदर्शन गर्ने निर्णय नै गरेको छ । मंगलबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले चैत्र १५ गते काठमाडौंमा वृहत्त प्रदर्शनसहित विरोधसभा गर्ने निर्णय गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
आइतबार राजावादीको प्रदर्शन लगत्तै मोर्चा छलफलमा जुटे पनि मोर्चा घटक नेता विप्लवको अनुपस्थितिले कुनै निश्कर्ष निकाल्न सकेका थिएनन् । मंगलबार पुनः विप्लवसहित बसेको मोर्चाको बैठकले गणतन्त्रलाई उल्ट्याउन राजावादीहरूले ठुलो प्रतिगामी षड्यन्त्र गरेको निष्कर्ष निकाल्दै विरोधसभा गर्ने निर्णय गरेको हो ।
गणतन्त्रवादीको शक्ति कम नभएको देखाउन मोर्चाले गणतन्त्रवादी शक्तिहरु सबैलाई प्रदर्शनमा सहभागी गराउने पहल गर्ने भएको छ । राजावादी दल राप्रपाले भने देशब्यापी विरोध प्रदर्शन जारी राखेको छ । राजावादी र गणतन्त्रवादीहरुले आ–आफ्नो शक्ति प्रदर्शनको होडबाजी चल्दै गर्दा काठमाडौं जिल्ला प्रशाशनले भने सम्भावित घटनालाई मध्यनजर गर्दै विभिन्न ठाउँमा निषेधित क्षेत्र तोकिसकेको छ ।