News 24 Television
गणतन्त्रमा ज्ञानेन्द्रको स्पेस नागरिककै हो भन्दा राप्रपाले भन्यो, लुक्ने ठाउँ खोज्नू

काठमाडौं । पूर्वराजाको सक्रियताको सवालमा प्रतिनिधिसभामा समेत चर्को बहस शुरु भएको छ । राजावादी दलमाथिको क्रोधदेखि पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक विधिबाहिर नजान चुनौति दिन थालिएको छ । 

पूर्वराजा ज्ञानेन्द्र शाहले श्रीपेच मोह छताछुल्ल पारेपछि राजनीतिक दलहरु पनि सक्रिय बनेका छन् । संविधान र कानूनको शासन स्थापित गर्ने कुरालाई लिएर प्रतिनिधिसभामा देखिएको मथिंगल राजासम्म पुगेको देखिन्छ । यस्तोमा दलहरुले पूर्वराजा र राजावादीको सक्रियतालाई लिएर अनेक टिप्पणी गर्न थालेका छन् । यस्तोमा पूर्वराजाको सक्रियता र प्रदर्शनमाथि सत्तारुढ दल नेकपा एमालेले त्यो कामलाई दण्डनीय भनेको छ । 

एमालेले यस्तो दाबी गर्दै गर्दा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भने प्रतिकार मात्रै गरेको छैन्, राप्रपाले अहिलेको स्थिति किन आयो भन्ने समिक्षा गर्न चुनौति दिदै अब नेताहरुलाई लुक्ने ठाउँ खोज्न चुनौति नै दिएको छ । 

राप्रपाले यस्तो जिकिर गर्दै गर्दा प्रतिनिधिसभामा राजाको सक्रियताको विषयमा सवाल–जवाफ भने चर्किन थालेको छ । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले पनि पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतालाई देशी विदेशी चलखेलको रुपमा समेत लिएका छन् । 

प्रचण्डले पूर्वराजा र राजतन्त्रको विषयमा राखेका विषयमा कांग्रेसले पनि समर्थन गर्ने भनेको छ । कांग्रेस महामन्त्री गगन थापाले लोकतन्त्रको विरुद्धमा हुने सबैखाले षडयन्त्रलाई परास्त पार्ने काममा लाग्नेमा कुनै शंका नरहने चेतावनी दिए ।

कांग्रेस लोकतन्त्रको आवरणमा नरम बन्न खोजेको कुरा गगन थापाको भनाईबाट लुकेको भने देखिन्न तर, माओवादी केन्द्र र एमाले भने राजावादी शक्तिको प्रदर्शन र सक्रियतामा आक्रामक नै देखिन्छन् । 

राजाको माग गरिरहेको राप्रपाले प्रमुख प्रतिपक्षी दल र पूर्वप्रधानमन्त्री प्रचण्डमाथि कडा आक्रोश र टिप्पणी गरेको छ । 

उसोतः राप्रपाले पुर्वराजालाई गरेको स्वागतले राप्रपा खुशी भएको दाबी गरेको छ । आन्दोलनको क्रममा राप्रपा रहेको र अब राजा आएरै छाड्ने राप्रपाको जिकिर छ । यस्तोमा अब स्वागतको कार्यक्रमलाई भद्र देखेको भन्दै आन्दोलनको रुप शुरु नै नगरेको राप्रपाको चेतावनी छ ।

उसोतः राजतन्त्र र राजसंस्थाको पक्षमा कुनैपनि हालतमा उभिन नसक्ने भन्दै दलहरुले प्रतिनिधिसभामा चर्को रुपमा विरोध गरेका छन् । गणतन्त्रको रक्षाका लागि डटेर लड्नेमा दल र नेताहरुले प्रतिबद्धता भने देखाएका छन् । 

पूर्वराजाको श्रीपेच मोहले तरङ्गित बनेको राजनीतिले अब कस्तो बाटो समात्ला ? यो विषय थप चासोमा छ । गणतन्त्रवादी दलहरुले राजाको कुनै सम्भावना नरहेको मात्रै भनिरहेका छैनन्, उनीहरुले संविधानविपरितका कामलाई नियन्त्रण गर्नुपर्ने समेत भनेका छन् । 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update