News 24 Television
प्रधानमन्त्री ओली, कुर्सीमा विचौलिया भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई के भने प्रचण्डले ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्दै राजावादी शक्ति र पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतन्त्रभित्रै विकल्प खोज्न चेतावनी दिएका छन् । प्रचण्डले सरकारको काम र कर्मका कारण नागरिक निराशा बढेको भन्दै सकारलाई सच्चिन समेत अपिल गरेका छन् ।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले सम्बोधन गर्दै राजावादी शक्ति र पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक विधिबाहेकका कुरामा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । लोकतन्त्र र राजतन्त्रको तुलना हुनै नसक्ने भन्दै प्रचण्डले इतिहासका चक्का पछि फर्कन नसक्ने समेत दाबी गरे ।

प्रचण्डले नागरिकमा निराशा बढेको भन्दै सरकार विचौलियाको चंगुलमा परेको आरोप समेत लगाएका छन् । सत्ता सञ्चालनमा प्रश्न गर्दै प्रचण्डले सत्ताको ड्राइभिङ सिटमै विचौलिया रहेको आरोप समेत लगाए । 

प्रचण्डले राजावादीको चहलपहलमा देशभित्रको शक्तिमात्रै नभई विदेशी चलखेल समेत बढेको आशंका गरे । 

प्रचण्डले प्रतिनिधिसभामा आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री केपी ओलीको अनुपस्थितिलाई समेत अहंकारको रुपमा अथ्र्याएका छन् ।

उसोतः प्रचण्डले लामो र लम्बेतान भाषण भने गरेनन् । प्रतिनिधिसभामा उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई र आफूलाई लोकतान्त्रिक हक बराबर हुने जिकिर गरे । यस्तै, सरकारमाथि प्रहार गर्ने क्रममा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारले अनावश्यक दुख दिएको समेत भनेका छन् । 

प्रचण्डले अहिले सरकारकै कारण देशमा विभिन्न समस्या र आन्दोलनहरु सक्रिय बन्न थालेको भनेका छन्  । यस्तै, प्रचण्डले सबै लोकतान्त्रिक दल र नेताहरु मिलेर देशको रक्षा गर्नुपर्नेमा समेत जोड दिए ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update