News 24 Television
गणतन्त्रमाथि कालो बादल मडारिँदा माओवादी दोहोरो त्रासमा

काठमाडौँ । मुलुकमा एक दशक लामो सशस्त्र संघर्ष गरेर मूलधारको राजनीतिमा उदाएको माओवादी पछिल्लो समय झन चेपुवामा पर्दै आएको छ । शान्ति प्रक्रियासँगै सत्तामा पुगेको माओवादी विभिन्न आन्तरिक कारण र कलहको सिकार हुँदै टुटफुटबाट गुज्रियो । प्रचण्ड नेतृत्वमा कहिले एमालेसँग मर्ज भएर त कहिले काँग्रेस र एमालेसँगै गठबन्धन गरेर पटकपटक सत्तामा गइसकेको पार्टी हो । पहिलो संविधानसभा निर्वाचन २०६४ मा सर्वाधिक ठूलो बनेको माओवादी यी विविध कारण, अदूरदर्शिता, अकर्मण्यता र काँग्रेस–एमालेजस्ता पुराना दलहरूको चेपुवामा समेत पर्दै आएर तेस्रो शक्तिमा सीमित छ । तर पनि गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक सहभागिता र समावेशीकरणजस्ता परिवर्तनको संवाह माओवादी आन्दोलन र नेतृत्व नै थियो भन्नु अत्युक्ति हुँदैन । 

व्यवस्था फेरिए पनि त्रिदलीय स्वार्थको चपेटामा परेर मुलुक अस्थिर र कमजोर हुँदै गएको, जनताको अवस्था फेरिन नसकेको तीतो सत्यको जगमा अहिले राजावादी शक्तिहरुको सक्रियता ह्वात्तै बढेको छ । यसले आफूलाई परिवर्तनको नेतृत्वकर्ता र प्रमुख हिमायती मान्दै आएको माओवादी केन्द्र अहिले आत्तिएको छ, झस्किएको छ । काँग्रेस–एमालेहरु विगतमा जबरजस्त रुपमा माओवादीका एजेन्डामा हिँड्न बाध्य भएका थिए, अहिले आएर उनीहरु पनि परिवर्तनका उपलब्धि उल्टाउनतर्फ लाग्न सक्ने माओवादीको ठूलो आशंका छ । यही कारण अहिले माओवादी दोहोरो त्रासमा देखिन्छ, एकातिर काँग्रेस–एमाले मिलेर संविधान संशोधनका एजेन्डा तय गर्नु र अर्कातिर राजावादी शक्तिहरुको बढ्दो सक्रियता । दलतन्त्रबाट वाक्क जनताको झुकाव समेत राजातर्फ बढ्दै जाँदा गणतन्त्रको आकाशमा कालो बादल मडारिएको छ । 

तराई–मधेश हुलाकी राजमार्ग केन्द्रित मेची–महाकाली जागरण अभियानमा रहेका माओवादी प्रमुख नेताहरु राजावादी गतिविधि बढेपछि अभियान स्थगित गरेर काठमाडौँ फर्किए । उनीहरु आन्तरिक र बाह्य छलफलमा जुटेका छन्, गणतन्त्र विरोधी शक्तिसँगै समानान्तर रुपमा प्रदर्शनमा उत्रने तयारी थालेका छन् । संघीयता र गणतन्त्र मन नपराउनेहरुले अहिले सरकारको कुशासनको फाइदा उठाएर व्यवस्था विरोधी अभियान चलाएको निष्कर्ष माओवादी केन्द्रको पदाधिकारी बैठकले निकालेको छ । वर्तमान व्यवस्थाप्रति असन्तोष बढ्नुमा काँग्रेस–एमाले गठबन्धनको सरकार र कुशासन प्रमुख कारक रहेको उसको ठहर छ । सरकारविरुद्ध विभिन्न खबरदारी गर्दै आएको माओवादीले पछिल्ला राजावादी गतिविधिलाई देखाएर झन् सरकारकै विरोध गर्ने अवसर समेत पाएको छ ।

सोमवार पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको मओवादी पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा आईतवार जम्मा भएको भीडको समीक्षा गरेको छ । वर्तमान सरकारका नराम्रा कामहरुको फाइदा उठाएर व्यवस्थाविरोधीहरुले अभियान सञ्चालन गरेको आरोप माओवादीको छ । बैठकका निर्णय सुनाउँदै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा तराई÷मधेस अभियानको प्रारम्भिक समीक्षा, वर्तमान राष्ट्रिय राजनीति परिस्थिति र स्ववियु निर्वाचनको बारेमा छलफल भएको बताए । उनले अभियानले झापादेखि रौतहटसम्म आइपुग्दा जनतामा नयाँ खालको जागरण पैदा गरेको दाबी गर्दै माओवादी नै परिवर्तनको संवाहक भएको दाबी गरे । केही समय जनताप्रति बेवास्ता भएको कुरा स्वीकार गरेपछि पार्टीप्रति जनता धेरै आकर्षित र आशावादी रहेको उनको भनाइ छ । 

माओवादीदेखि सत्तारुढ काँग्रेस–एमालेका नेताहरु र प्रधानमन्त्री केपी ओलीसम्मले पूर्वराजा शाहलाई राजनीतिक दल खोलेर आउन चुनौती दिइरहेका छन् । वर्तमान संविधान स्वीकार्दै निर्वाचन लडेर सत्तामा आउने भए स्वागत छ, तर राजतन्त्र फर्काउन सम्भव छैन भन्ने अभिव्यक्ति उनीहरुको छ । र, राजावादी समूहहरुका गतिविधिलाई हल्काफुल्का रुपमा लिइरहका छन् । तर यिनै नेता र दलहरुका कारण जनतामा तीव्र निराशा पैदा भएको र त्यो निराशा एवं आक्रोशले कुनै न कुनै शक्तिको रुपमा निकास खोजिरहेको उनीहरु नजरअन्दाज गर्दै छन् । अन्ततः त्यो निकास राजतन्त्रको मागमा गएर या संघीयता खारेजी या अन्य नयाँ विकल्पमा गएर मात्र साम्य हुन सक्छ । 

दलहरुले पूर्वराजालाई चुनाव लड्न चुनौती दिएपछि राजतन्त्रको ठेक्का बोकेर हिँडेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन राजा भोटको राजनीतिभन्दा माथि रहेको बताउँछन् । राजाले चुनाव नलड्ने र अहिलेका प्रमुख नेता तथा दलहरुसँग चुनाव लड्न आफू नै पर्याप्त रहेको उनको भनाइ छ । आफूले कुनै राजनीतिक दलविशेषको राजा नभई सिंगो देशको राजालाई स्थापित गर्न खोजेको भन्दै उनले नवराजा बन्न खोजिरहेका प्रमुख नेताहरुप्रति व्यंग्य समेत गरेका छन् । लिङदेनले अहिलेका राजनीतिक दलहरुले देश बर्बाद बनाएको र अब राजसंस्था आवश्यक भएको सन्देश पूर्वराजाबाट आएपछि जनतामा उत्साह पलाएको बताए । 

बहुदल आएदेखि नै शासनको केन्द्रमा काँग्रेस–एमाले र गणतन्त्रपछि माओवादी समेत पालैपालो घुमिरहेका छन् । तर विगत ३५ वर्षको इतिहासमा राजनीतिक दल र नेताहरुले देशको महत्त्वपूर्ण समय बर्बाद मात्र पारेको लिङदेनको ठहर छ । आम जनतामा समेत दलहरुले आसेपासे पोस्ने र सत्ताको फोहोरी खेल खेल्नेबाहेक देश र जनताको हितमा कुनै काम गर्न नसकेको महसुुस भएर वितृष्णा बढ्दो छ । यसले राजावादीहरु हौसिएका छन् भने परिवर्तनको हिमायती भनिने माओवादी लगायत दलहरु भित्रभित्रै आत्तिएका छन् । तर चारित्रिक सुधारका लागि उनीहरु अझै तयार भएको भने देखिँदैन । 
 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update