News 24 Television
बाबुराम भन्छन्- 'पहिचान र स्वायत्त शासनसहितको संघीयता चाहिन्छ'

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले पहिचान सहितको संघीयता आवश्यक भएको बताएका छन्  । सोमवार काठमाडौंमा आयोजित पार्टीको वागमतीस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

भाषा, संस्कृति र भुगोल मिलेको ठाउँमा स्वायत्त साशनको व्यवस्था गर्नुपर्ने बताउँदै उनले भाषा र संस्कार सहितको संघीय साशन व्यवस्थाले  सम्बन्धित समुदायको आत्मबल बढ्ने तर्क गरे । सबै समुदायले समानताको आधारमा आफ्नो पहिचान स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

भट्टराईले भने, ‘जति बेलासम्म हाम्रो भाषा संस्कृति र पहिचान रहन्छ सबैले एकआपसको पहिचान स्वीकार गर्ने । पहिचानले हामी फरक छौँ तर हामी असमान होइनौँ । यही भन्नका निम्ति सबैको पहिचान स्वीकार गर्ने भन्या हो । होलो हेचो नगरी सबै बराबर हो भनेर मान्ने र सँगसँगै जसको भाषा, संस्कृति भूगोल मिलेको ठाउँ छ त्यो ठाउँमा उनीहरुकै स्वायत्त शासन चलाउन दियो भने उनीहरुको पनि आत्मवल  बढ्छ, सम्मान बढ्छ र उनीहरु आफ्नै भाषामा लेखपढ गर्दाखेरी मस्तिष्कको विकास हुन्छ । त्यसैले पहिचानसहितको संघीयता भनेको चाहीँ उनीहरुकै भाषामा पढाइ लेखाइ गर्नु, मातृभाषा स्कुलमा पनि पढ्न पायो भने उस्ले छिटो सिक्छ पनि उस्को मस्तिष्कको विकास पनि हुन्छ । त्यसैले ति ठाउँहरुमा स्वायत्त साशन दिनुपर्छ र उनीहरुलाई निश्चित अधिकार दिनुपर्छ ।’

अध्यक्ष भट्टराईले विदेशमा रहेका नेपालीलाई सोही स्थानबाट चुनावमा मतदान गर्ने व्यवस्था गर्न पार्टीले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले बाध्यतावश विदेशमा गएका पचासौँ लाख नेपाली मतदानको अधिकारबाट वञ्चित रहेको भन्दै उनीहरू मतदानमा सहभागी हुन पाउने अधिकारलाई पार्टीले मुख्य अधिकारका रुपमा अघि सारेकाे बताए ।

उनले भने, ‘विदेशमा रहेका नेपालीलाई सम्बन्धित देशबाट मतदानको व्यवस्था गर्ने । यो हामीले शुरुदेखि भनेका छौँ । पचासौँ लाख नेपाली विदेशमा छन् । उनीहरुले चुनावमा मत हाल्न पाउँदैनन् । त्यसले गर्दा नेगेटिभ भोट जस्तो मात्रै भाछ । हाम्रा युवाहरु जो बाध्यताबस विदेशमा जानुभएको छ, जहाँ हुनुहुन्छ त्यही देशबाट मतदान गर्ने अधिकार दिनुपर्छ यो महत्वपूर्ण अधिकार हो, अधिकार अरु पनि छन् तर मुख्य अधिकार यो हो । यसबारेमा हामीले शुरुदेखि प्रतिवद्धता गरेका छौँ ।’

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update