News 24 Television
राप्रपालाई प्रधानमन्त्रीको जवाफ : जुलुसमा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा छैनौँ

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लक्षित गर्दै जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा आफूहरु नरहेको टिप्पणी गरेका छन् । सोमवार गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राप्रपालाई उक्त जवाफ दिएका हुन् । 

आइतबार भएको राजावादी र राप्रपाको प्रदर्शनका क्रममा भारतीय जनता पार्टीका नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रयोग भएकोप्रति आलोचना भइरहेको छ । राप्रपाका नेताहरुले भने उक्त तस्बिर प्रधानमन्त्री ओलीकै निर्देशनमा राख्न लगाएको आरोप लगाएपछि ओलीले जवाफ फर्काएका हुन् । 

ओलीले असंवैधानिक, प्रजातन्त्र विरोधी, पद्धति विरोधी र प्रणाली विरोधी कुरामा लाग्न आफूहरुलाई फुर्सद नभएको समेत बताए । दरबार हत्यकाण्ड अझै सम्झिरहेको भन्दै उनले विभत्सतामा आएका संस्थाका सर्मथकहरुका क्रियाकलाप यस्तै हुने जवाफ दिएका छन् ।

प्रधानमन्त्री ओलीले भने,‘हामी एउटा जुलुस निकाल्नुप¥यो भने विदेशीको फोटो राखेर जुलुस निकाल्नुपर्ने दयनीय हालतमा छैनौं । हामी आफैंसँग विचार छ, आफैंसँग नेता छन् । हामी यसको दृष्टान्त दिनसक्छौं । हामी आफैंले गरेका छौं । त्यसमा केही भयो भने केपी ओलीले मान्छे घुसायो भन्नुहुन्छ, त्यो जुलुस नै मैले गराइदेको हो, भयो । हामी आफ्नै कुरामा छौं । यस्ता फाल्तु, असंवैधानिक, प्रजातन्त्र विरोधी, पद्धती विरोधी, प्रणाली विरोधी कुरामा हामी लाग्नु हुँदैन । दरबार हत्याकाण्ड हामीले सम्झेका छौं । यो विभत्सतामा आएका संस्थाहरुका सर्मथकका क्रियाकलापहरु यस्तै हुन्छन् । यसमा धेरै नजाउँ, छोडिदिउँ ।’ 

आफूहरु देश बनाउने आफ्नै अभियानमा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update