News 24 Television
मतिभ्रष्ट नेताहरूले जन्माएका राजावादी ‘प्रेतहरू’

काठमाडौँ । नेपालले राजतन्त्रको निरंकुश शासनलाई अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १५ वर्ष पूरा भइसकेको छ। यो छोटो अवधिमा पनि नेपालले राजनीतिक स्थायित्व, कानुनी शासन, समावेशिता, संघीयता, नागरिक अधिकार, मौलिक हक, आर्थिक पूर्वाधार तथा विकासका क्षेत्रमा महत्वपूर्ण फड्को मारेको छ। तर, अझै पनि कतिपय प्रतिक्रियावादी शक्तिहरू गणतन्त्रलाई असफल देखाउन प्रयत्नरत छन्। उनीहरू इतिहासलाई तोडमोड गरी राजतन्त्रलाई ‘सुनौलो युग’ को रूपमा चित्रित गर्न खोज्छन्, जबकि सत्य के हो भने राजतन्त्रकै समयमा नेपाल सर्वाधिक गरिबी, अशिक्षा, विभेद, दमन, र अवसरहीनताको दलदलमा फसेको थियो।

गणतन्त्रको स्थापनासँगै अब सम्पुर्ण नेपाली जनताको दायित्व केवल यस व्यवस्थाको रक्षा गर्ने मात्र होइन, यसलाई थप उन्नत बनाउँदै नेपाललाई आर्थिक, सामाजिक, र राजनीतिक रूपमा अघि बढाउने पनि हो। हाम्रा समस्याहरूको समाधान फेरि निरंकुश राजतन्त्रतर्फ फर्किनु होइन, बरु गणतन्त्रलाई थप परिष्कृत गर्दै यसको कमजोरीहरू सुधारेर अझ प्रभावकारी बनाउनु हो। यस सन्दर्भमा, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, आर्थिक क्रान्ति, सुशासन, सामाजिक न्याय र जनसहभागिताको सशक्तीकरण आवश्यक देखिन्छ।

नेपालको गणतान्त्रिक यात्राले धेरै उपलब्धि र पर सम्मको मार्ग  हासिल गरिसकेको छ। संविधानसभाबाट निर्मित नेपालको संविधान २०७२ नेपाली जनताका लागि ऐतिहासिक उपलव्धि हो। यो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै शासनसत्ता जनताको हातमा पुऱ्यायो। अब कोही पनि ‘राजाको दैवी अधिकार’ को नाममा मुलुकको सम्पूर्ण शक्ति आफ्नो हातमा राख्न सक्दैन। देशका तीन तहका सरकारहरूले स्थानीय स्तरसम्म विकासका पूर्वाधार पुऱ्याउन थालेका छन्। पहिले सधैँ काठमाडौं केन्द्रित सरकारहरूको नीति आज गाउँ(गाउँसम्म पुगेको छ।

तर, लोकतन्त्रलाई अझ प्रभावकारी बनाउन सुधारको खाँचो छ। अहिलेको संसदीय प्रणालीमा राजनीतिक अस्थिरता रहिरहने देखिएको छ। प्रधानमन्त्री पटकपटक परिवर्तन हुँदा सरकारका दीर्घकालीन योजनाहरू कार्यान्वयनमा समस्या देखिएको छ। त्यसैले, अब नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था अपनाउनु आवश्यक छ, जसले स्थायित्वका साथ शासन गर्न सकून्। जब कार्यकारी प्रमुखलाई जनताले प्रत्यक्ष निर्वाचित गर्छन्, तब सरकार केवल सांसदहरूको आन्तरिक सौदाबाजीको भरमा रहने छैन, बरु जनताको प्रत्यक्ष अनुमोदनको बलमा अघि बढ्नेछ।

गणतन्त्रलाई बलियो बनाउन सुशासनलाई प्राथमिकता दिनुपर्छ। भ्रष्टाचार अहिलेको सबैभन्दा ठूलो समस्या बनेको छ। हिजो दरबारका नाममा भएको लुट आज राजनीतिक रूपमा दोहोरिनु हुँदैन। भ्रष्टाचारमुक्त प्रशासन, पारदर्शी नीति निर्माण, कानुनी शासन, र प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता हो। यदि सरकार स्वयं पारदर्शी र जवाफदेही बनेन भने, प्रतिक्रियावादी शक्तिहरूलाई झनै बल पुग्नेछ। त्यसैले, ठूला भ्रष्टाचारीहरूलाई कडा कारबाही गर्नुपर्छ, कानुनी शासनलाई मजबुत बनाउनुपर्छ, र लोकतान्त्रिक प्रणालीभित्र कुनै पनि व्यक्ति वा संस्थाले अनियमितता गर्ने ठाउँ दिनु हुँदैन।

नेपाल आर्थिक रूपमा अझै पनि आत्मनिर्भर बन्न सकेको छैन। हाम्रो परनिर्भर अर्थतन्त्र, युवा जनशक्तिको विदेश पलायन, कमजोर औद्योगिक विकास, र कृषि आधुनिकीकरणमा देखिएको ढिलाइ गणतन्त्रका लागि ठुला चुनौती बनेका छन्। आर्थिक क्रान्तिबाट मात्र नेपाललाई समृद्ध बनाउन सकिन्छ। आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सरकारले कृषिमा आधुनिकीकरण, साना तथा मझौला उद्योगहरूलाई प्रवर्द्धन, जलविद्युत् तथा प्राकृतिक स्रोतहरूको भरपुर उपयोग, पर्यटन विकास, र डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्नुपर्ने हुन्छ। नेपालले अहिले जलविद्युत् निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न थालेको छ, अब यो प्रवृत्तिलाई अझ सशक्त बनाउनुपर्छ।

राजनीतिक चेतना र सामाजिक सशक्तीकरण गणतन्त्रको अर्को महत्वपूर्ण आधार हो। लोकतन्त्र केवल चुनाव र सरकारको संरचना मात्र होइन, यो एउटा विचार हो, जसले हरेक नागरिकलाई समान अवसर, समान अधिकार, र समान न्यायको प्रत्याभूति दिन्छ। त्यसैले, नागरिक स्तरमै लोकतान्त्रिक मूल्यहरूको प्रवर्द्धन गर्न जरुरी छ। जनताले आफ्नो अधिकार, कर्तव्य, र राष्ट्र निर्माणमा आफ्नो भूमिकाबारे स्पष्ट बुझ्नुपर्छ। लोकतन्त्रलाई संस्थागत गर्न शिक्षा प्रणालीलाई समेत परिमार्जन गर्दै लोकतान्त्रिक चेतनालाई विद्यालयस्तरमै सिकाउनुपर्छ।

गणतन्त्रलाई कमजोर पार्ने, अस्थिरता मच्चाउने, र जनतामा भ्रम छर्ने प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्रलाई असफल बनाउन सरकार, नागरिक समाज, राजनीतिक दल र युवाहरू सबै एकजुट हुनुपर्छ। कोही-कोही गणतन्त्रलाई असफल देखाएर पुनः राजतन्त्र फर्काउन सकिन्छ भन्ने दिवास्वप्न देखिरहेका छन् । तर, जनताले फेरि कहिल्यै निरंकुशताको शासन सहने छैनन् । नेपाललाई फेरि पचासौँ वर्ष पछाडि धकेल्ने, विकासलाई रोक्ने र व्यक्तिकेन्द्रित शासन ब्युँताउने प्रयासहरूलाई लोकतान्त्रिक चेतनाको बलमा परास्त गर्नुपर्छ ।

नेपालले अब आर्थिक क्रान्ति, सुशासन, सामाजिक न्याय, र शिक्षा प्रणालीमा सुधार गर्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्छ। नेपाल प्रजा परिषद देखी स्वतन्त्र सम्मका राजनीतिक दलहरूले समय सापेक्ष र आवश्यकता अनुसार भरपुर  संघर्ष गरेर स्थापना गरेको गणतन्त्रलाई अझ सशक्त पार्दै समृद्ध नेपाल बनाउनु हाम्रो कर्तव्य हो। त्यसैले, गणतन्त्रको रक्षा मात्रै होइन, यसलाई परिष्कृत गर्दै नेपालको उज्ज्वल भविष्य सुनिश्चित गरौं १ सामन्ती राजाका प्रेतआत्माहरुले हजारौ पठाओ श्रमिक र मोटरसाइकलहरु भाडामा लिएर गणतन्त्रको फुलबारीमा उदण्डता देखाउने कुकार्यको जमेर प्रतिशोध गरौ ।  लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद१ समृद्ध नेपाल जिन्दाबाद१ को मन्त्र लिएर देशलाई समृद्धि र सुशासनको पथमा अगाडी बढाउँ ।

(लेखक यूथ कांग्रेस नेपालका केन्द्रीय सदस्य हुन् )

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update