News 24 Television
दरबार छोडेपछि पहिलोपटक पूर्वराजा प्रफुल्लित 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा देखिएको दृश्यले राजावादीमात्रै नभई ज्ञानेन्द्र शाह पनि मख्ख देखिन्छन् । दरबार छाडेपछिको पहिलो भव्य स्वागतले प्रफुल्ल देखिएका छन् । तर, राजसंस्था र राजाको मुद्दामा देखिएको एउटा दृश्यले भने राजसंस्थामाथिको प्रसंग नै विवादमा आएको छ । 

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा भव्य बिदाई गरियो । उनी काठमाडौं फर्किने विषयमा ज्योतिषहरुले ताण्डप नै देखाए । ग्रह, साइत लगायतका चर्चादेखि दही खुवाएर मात्रै काठमाडौं फर्काउने भनियो । 

अन्ततः पोखराबाट ज्ञानेन्द्र शाह काठमाडौं भित्रिए। काठमाडौंमा पनि उनलाई स्वागत गर्न विमानस्थलबाहिर भीड जम्मा भएको थियो । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपाका अध्यक्ष कमल थापा, दुर्गा प्रसाईं लगायतका व्यक्तिहरु समेत पुगेका थिए । 

सडक दिनभरजस्तो अस्तव्यस्त बन्न पुग्यो । तर, विमानस्थल बाहिरको एउटा ब्यानरले भने राजा, राजसंस्था र यसका अनेक अवयवमा प्रश्न खडा गरिदिएको छ । 

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथको फोटोमा राजसंस्था पुस्र्थापना गरौं भन्ने नारासहित राखियो । जुन ब्यानरमा अनेक टिप्पणी चल्न थालेका छन् । आखिर किन योगि आदित्यनाथको यस्तो ब्यानर प्रयोग गरियो ? के भारतीय पक्षले राजसंस्थाको पुर्नस्थापनाको काम गरिदिने हो ? प्रश्न र सवालहरु अनेक उठेका छन् । 

ज्ञानेन्द्र र योगिको कनेक्सन !

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालगञ्जको लामो बसाईपछि सडकमार्ग हुँदै भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथलाई भेटे । योगि आदित्यनाथसँग भेटिरहने ज्ञानेन्द्रले राजसंस्थाको विषयमा कुराकानी गर्ने गरेको आरोप लाग्ने गरेको छ । 

भारतीय पक्षले नेपालमा हिन्दु धर्मको पक्षमा माहोल सिर्जना गर्ने काम गर्ने गरेको आरोप संविधान निर्माणको बेलादेखि नै लाग्ने गरेको छ । आदित्यनाथसँगक सामिप्यतालाई लिएर चल्ने अनेक चर्चाकाबीच ज्ञानेन्द्रले पटक–पटक गर्ने भेटलाई समेत अर्थपूर्ण मानिएको देखिन्छ । 

आदित्यनाथ कट्टर हिन्दुवादी नेता हुन भने भारतीय जनता पार्टीमा मोदीपछिको प्रधानमन्त्रीको रुपमा समेत चर्चा हुने गर्छ । तर, आदित्यनाथसँग ज्ञानेन्द्रको सामिप्यताका साथै भारतीय पक्षले गर्ने व्यवहारका विषयमा समेत शंका भने गर्न थालिएको छ ।

राप्रपा र राजावादीमाथि प्रश्न !

राजा नेपाललाई चाहिने हो वा भारतीय पक्षले ल्याइदिने हो ? योगि आदित्यनाथको ठूलो फोटो र ज्ञानेन्द्रको फोटो जोडेर गर्न खोजिएको प्रचारको अर्थ के हो ? के नेपाल जहिले पनि अर्को मुलुकको इशारामा परिवर्तनका एजेण्डा बोक्ने स्थितिमै हो ? यस्ता प्रतिक्रिया आउनेक्रम शुरु भएको छ । योगी आदित्यनाथको फोटो र ब्यानरको प्रयोगले राजावादी र राप्रपामाथिको प्रश्न थप पेचिलो बनेको छ । 

फोटो राख्ने प्रदिप बिक्रम राणा र राप्रपा

फोटो राख्ने व्यक्ति प्रदिप बिक्रम राणा रहेको त्यहि ब्यानरमा उल्लेख छ । राजेन्द्र लिङ्देन र कमल थापा नेतृत्वको राप्रपाले राणालाई आफ्नो पार्टीमा नरहेको भनेपनि असंगठित रुपमा चलेको यस्तो प्रदर्शनले व्यवस्थाविरुद्धको कर्म गर्न सक्छ ? अनेक प्रश्नहरु देखिन्छन् । उसोतः राणा पहिले राप्रपामै सक्रिय रहेका व्यक्ति हुन् । 

राणा २०७३ सालको महाधिवेशनमा कमल थापासँग अध्यक्ष पदमा उम्मेदवार बनेर पराजित बनेको देखिन्छ । यस्तो स्थितिले पनि प्रदर्शनमा देखिएको यो ब्यानरको सन्देश र अर्थ खोज्न थालिएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update