
कैलाली । सुदूरपश्चिम प्रदेशलाई स्थलमार्गबाट मुलुकका अन्य भागमा जोड्ने मुख्य संरचना हो, कर्णाली पुल । कैलालीको लम्कीचुहा नगरपालिका–३ मा रहेको यो कर्णाली पुल निर्माण सम्पन्नको तीन दशक पुरा भइसकेको छ । तर, भूमार्ग जोड्ने अर्को मुख्य विकल्प नभएको यस्तो महत्वपूर्ण संरचनामा पनि कुनै मर्मत सम्भार गरिएको छैन ।
दृष्यमा देखिएको यो कर्णाली पुल सामान्य पुल होइन । यो पुल भएन भने नेपालको संघीय राजधानी काठमाडौंसँग सुदूरपश्चिमवासीको स्थलगत नाता करिब टुट्छ । अर्थात, सुदूरपश्चिमबाट पूर्वतर्फ पर्ने अधिंकाश जिल्लाहरुमा प्रवेश गर्न कैलालीको लम्कीचुहा नगरपालिका ३ मा रहेको कर्णाली पुलको साहरा लिनुपर्छ ।
होइन भने भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ । स्थलमार्गमार्फत सुदूरपश्चिमलाई पूर्वीभागसँग जोड्ने यस्तो महत्वपूर्ण पुल २०४४ सालमा निर्माण कार्य सुरु भई २०५० सालमा सञ्चालनमा आएको थियो ।
तीन दशक पहिले तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराले उद्घाटन गरेको कर्णाली पुल हालसम्म एक पटक पनि मर्मत नहुँदा जिर्ण अवस्थामा छ । तीस वर्षभन्दा बढी भइसक्दापनि अहिलेसम्म यस पुलको मर्मतसम्भार भएको छैन ।
यस पुलको मर्मतसम्भारको दायित्व संघीय सरकारको । तर, हामि जनप्रतिनिधि हौं भन्दै राजनीतिक डम्फु बजाउनेहरुको पनि जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा दायित्व हुनुपर्ने हो । उनीहरुले आफ्ना क्षेत्रका समस्या समाधानमा संघीय सरकारलाई चेपुवामा पार्नु पर्ने हो ।
त्यसमाथि अहिले सुदूरपश्चिमका मुख्यमन्त्री रहेका कमल बहादुर शाह यही पुल भएको क्षेत्रका जनप्रतिनिधि हुन् । अनि कर्णाली पुल अवस्थित क्षेत्र लम्कीचुहा नगरपालिकाको नेतृत्वकर्ता अर्थात मेयर सुशिला शाही पनि अहिले सरकारमा रहेकै पार्टी नेपाली कांग्रेसकी हुन् । स्थानीय समस्या समाधानका लागि सक्रिय छु भनि भाषणबाजी गर्दै हिड्ने सुशिला शाहीले अहिलेसम्म के हेरेर बसेकी छन् ?
आफु जहाजमा हुइकिएर सिधै काठमाडौं यात्रा गर्ने, कर्णाली पुल प्रयोग खास नगर्ने भएकाले हो कि मेयर सुशिलाले कर्णाली पुलको अवस्थातिर ध्यान नदिएको । पुलको अवस्था जिर्णहुँदा पनि संघीय सरकारले मर्मतमा ध्यान दिएन भन्दै स्थानीय सरकारले गुनासो गरेझै गर्ने मात्र हो वा आफ्ना विकासका एजेण्डा कार्यान्वयनमा संघीय सरकारलाई बाध्य बनाउनेगरि सक्रियता जनाउने हो ?
अघिपछि म त बाघ झै शक्तिशाली हो भन्ने आशयले कुर्लिने स्थनीय जनप्रतिनिधिले कर्णाली पुलको मर्मतको विषयमा संघीय सरकारप्रति झिजेको विरालो झै देखिने कहिलेसम्म हो ? अहिले पनि लम्कीचुहा नगरपालिकाले पुल मर्मतको एजेण्डालाई केवल संघीय सरकारप्रति गुनासोको विषयमात्रै बनाइरहेको छ । पुलको मर्मतको प्रश्न ग¥यो कि लम्कीचुहा नगरकी मेयर र यस नगरका प्रवक्ताको सधैं रेडिमेट जवाफ हुन्छ संघीय सरकारले ध्यान दिएन ।
स्थानीय सरकारको काम संघीय सरकारसँग आफ्ना मागमा कटिबद्ध रहेर राख्ने र जनताका पक्षमा काम गर्ने हो कि सधैं यस्तै गुनासो गरेर आफ्नो दायित्वबाट पन्छिने हो ? स्थानीय सरकारको ध्यान यसतर्फ जानै पर्छ । पुलको अवस्था कतिसम्म दयनीय छ भने निर्माणको ३१ वर्ष भइ सक्यो हालसम्म नटबोल्ड कस्ने काम भएको छैन भने कुनै पनि रङरोगोन भएको छैन ।
पुलले जनयुद्धका समय बम बारुददेखि थुप्रै समस्याहरु भोगि सक्यो,अन्य पार्टीहरु देखि जनयुद्ध लड्नेहरु सरकारमा जादा समेत पुलको मर्मतका लागी चासो देखाएको छैनन् ।
जापानको कावासाकी हेभी इन्डिसट्रिजले निर्माण गरेको कर्णाली पुल एउटै जगमा दुईवटा खम्बामा बनाइएको पाँच सय मिटर लामो केवल स्टेट ब्रिज हो । पुलको दुवैतिर ३०÷३० वटा फलामे लठ्ठाको सहायताले पुलको सन्तुलन मिलाइएको छ । पुलको नियमित रूपमा बेलाबेला मर्मत सम्भार गर्नुपर्ने भएता पनि हालसम्म एक पटक पनि सम्भार नभएको प्रति सर्वसाधारण चिन्तित र आक्रोशित छन् ।
पुलको मर्मत सम्भारको जिम्मासडक डिभिजन कार्यालय नेपालगञ्जको हो, तर उ बेखबर छ । प्राविधिकहरू बेलाबेलामा आएर खम्बाभित्रबाट माथि गएर भार सन्तुलन हेर्ने, पुलमा प्रयोग भएका फलाममा खिया लागेको अवस्था अवलोकन गर्ने काम मात्र गर्ने गर्छन् । यो नाजुक अवस्थालाई यहाँका जनप्रतिनिधिले गम्भिरताका साथ लिएर जनसरोकारमा कडा रुपमा संघीय सरकारसामु प्रस्तुत हुनु पर्ने हो, तर उनीहरु चुइक्क बोल्दैनन् ।
पुल यति कमजोर बनिसकेको छ कि, फलाममा खिया लागिसकेको छ भने रङरोगन पनि सबै उडिसकेको छ । २०६१ सालमा तत्कालीन नेकपा माओवादी र सरकारी सुरक्षा फौजबीच भीडन्त भई गोली हानाहान हुँदा पुलमा १४२ ठाउँमा गोली लागेको छ । सुदूरपश्चिम प्रदेश प्रवेशको मुख्य प्रवेशद्धारको अवस्था नै यस्तो नाजुक हुँदा समेत सुदूरपश्चिमका जनप्रतिनिधिले यसलाई मुल एजेण्डाका रुपमा एकस्वरले सरकारलाई झक्झक्याउने गरेकै देखिदैन ।